मिक्वाखोला ४ का महिलाहरूलाई तीन दिने उद्घोषण सम्बन्धी तालिम प्रदान

रेडियो ताप्लेजुङ
असार १८ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ साँवामा ‘महिला उद्घोषण तालिम’ सम्पन्न भएको छ ।
मिक्वाखोला गाउँपालिकाको आर्थिक सहयोग तथा दोखु मिडिया सेन्टर ताप्लेजुङको आयोजनामा सञ्चालित तालिममा ४ नम्बर वडाका ३४ जना महिलाको सहभागिता थियो ।
असार १६ गतेदेखि सञ्चालित तालिमको बिहीबार समापन गरिएको हो । समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले उद्घोषण कलाले महिला सशक्तीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिकाले पनि महिलाहरूको नेतृत्व विकासलाई प्राथमिकतामा राखेर योजना सञ्चालन गरिरहेको उहाँको भनाइ थियो ।
महिलाहरूले विभिन्न बैठक, गोष्ठी तथा कार्यक्रममा सशक्त रूपमा आफ्नो आवाज बुलन्द गर्नुपर्नेमा अध्यक्ष कार्कीले जोड दिनुभयो । उद्घोषण कलाले कुनै औपचारिक कार्यक्रम मात्र सञ्चालन गर्ने नभई गाउँ ठाउँमा भएका विभिन्न विकास निर्माणका कुराहरूमा समेत आवाज उठाउन सकिने उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाले पालिकाका विभिन्न वडाहरूमा उद्घोषण सम्बन्धी तालिम भएको जानकारी गराउँदै अवसरहरूमा कहिले पनि पछि नपर्न आग्रह गर्नुभयो । तालिमपश्चात् महिलाहरूमा नेतृत्व विकास तथा बोल्ने कलामा विकास हुने विश्वास व्यक्त गर्दै उपाध्यक्ष लामाले आफूले सिकेका सीप कुनै पनि स्थानमा आवाज उठाउन काम लाग्ने भन्दै बारम्बार अभ्यास पनि गरिरहन आग्रह गर्नुभएको छ ।
४ नम्बर वडाका कार्यवाहक अध्यक्ष सलिना बराइलीले अभ्यासलाई निरन्तरता दिँदै अगाडि बढ्न तालिममा सहभागीहरूलाई आग्रह गर्नुभयो । महिलाहरूको वाक कलालाई प्रस्फुटन गर्न आफू सधैँ लागिपर्ने विश्वास दिलाउनुभयो ।
तालिममा सहभागी महिलाहरूले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै तीन दिनको अवधिमा आफूहरूमा असाधारण क्षमता विकास भएको महसुस गरेको बताएका थिए । सहभागी मञ्जु राईले आफूलाई यो तालिम फलदायी भएको बताउनुभयो । ‘कुनै पनि कार्यक्रममा अगाडी गएर बोल्न मलाई धेरै डर लाग्ने गरेको थियो । माइक समात्ने बित्तिकै हात काम्थ्यो,’ उहाँले भन्नुभयो, ‘यहाँ तीन दिनको तालिम लिएपछि उक्त डर हटेको छ । मञ्चमा गएर आत्मविश्वासका साथ बोल्न सक्ने भएकी छु ।’
आयोजक दोखु मिडिया सेन्टरका अध्यक्ष माला पालुङ्वाले मध्य असारको समयको बाबजुद तालिमको महत्वलाई बुझेर सहभागी हुने सम्पूर्ण सहभागी महिलाहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। कुनै पनि कार्य गर्नका लागि बोल्ने कला नै सबैभन्दा महत्त्वपूर्ण हुने भएकाले आफूमाथिको हीनताबोधलाई त्याग्नुपर्ने उहाँको भनाइ थियो।
महिलाहरूले चुलोचौकामा मात्र सीमित नभएर ‘म सक्छु र म गर्छु।’ भन्ने आत्मविश्वासका साथ यस्ता अवसरहरूमा सहभागी बन्न उहाँले सुझाव दिनुभयो । भोली यो गाउँपालिकाको नेतृत्वमा पुग्ने तपाईंहरू नै हो । त्यसैले म जान्दिन म सक्दिन भन्ने भावना त्याग्नुहोस्,’ उहाँले भन्नुभयो ।
गाउँपालिकाको केन्द्र थलङस्थित ब्याडमिन्टनहलमा सम्पन्न तालिममा प्रशिक्षकको रूपमा पत्रकार सीताराम गुरागाईं तथा रेडियो ताप्लेजुङका समाचार प्रमुख किरण गदाइली रहनुभएको थियो ।

सुरु भयो ताप्लेजुङमै पहिलोपटक फुट्सल प्रतियोगिता
किरण गदाइली ताप्लेजुङ ,श्रावण ९ गते ।ताप्लेजुङको एकमात्र 'कुलकर्ण फुट्सल'मा जिल्लामै पहिलोपटक फुट्सल प्रतियोगिता सुरु भएको छ। कुलकर्ण फुट्सल

फुङ्लिङमा मेची राजमार्गको चौडाइ १२ मिटर रहने गरि पहल गर्छौं: नगरप्रमुख मादेन
रेडियो ताप्लेजुङ श्रावण ८ गते । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका क्षेत्रभित्रको सडकको चौडाइ १२

फुनपाले मेची राजमार्ग अन्तर्गत सडक सीमा भित्र रहेका संरचनाका विषयमा छलफल गर्ने
रेडियो ताप्लेजुङ , साउन ४ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्ग अन्तर्गत सडक सीमा भित्र रहेका संरचनाका विषयमा छलफल गर्ने भएको छ ।





प्रतिकृया दिनुहोस