ताजा खबर

खेवाङ खेलकुद महोत्सवको तयारी पूरा

SITENAME

रेडियो ताप्लेजुङ


ताप्लेजुङ, कार्तिक १५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेवाङमा सोमबारदेखि सञ्चालन हुने खेवाङ खेलकुद महोत्सव २०८३ को तयारी पूरा भएको छ।

आयोजक खेवाङ स्पोर्टिङ क्लबका अध्यक्ष विनम माबोका अनुसार प्रतियोगिताको उद्घाटनकै दिन चारवटा भलिबल खेल सञ्चालन हुनेछन्। दुईवटा भलिबल खेल सम्पन्न भएपछि दिउँसो ३ बजे महोत्सवको उद्घाटन हुनेछ। प्रतिनिधिसभा सदस्य क्षितिज थेबेले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष माबोले रेडियो ताप्लेजुङलाई जानकारी दिनुभयो।

उद्घाटनपछि पनि दुईवटा भलिबल खेल सञ्चालन हुने उहाँले बताउनुभयो। फुटबल प्रतियोगिता भने मङ्गलबारदेखि सुरु हुनेछ। प्रतियोगिताको पहिलो खेलमा आङखोप र नैना कम्पनी प्रालि खेवाङ आमनेसामने हुनेछन्।

अध्यक्ष माबोका अनुसार प्रतियोगितामा सहभागी अन्य टिममा जिल्लाबाहिरका खेलाडीको बाहुल्य छ। तर आयोजक खेवाङ स्पोर्टिङ क्लबले भने खेवाङकै स्थानीय खेलाडीलाई मात्र समावेश गरेर टिम तयार पारेको छ।

“खेवाङका स्थानीय खेलाडीको हौसला र प्रेरणाका लागि यस वर्ष खेवाङकै खेलाडीलाई मात्र समावेश गरेका छौँ। स्थानीय मैदानमा आफ्नो कौशल देखाउने सुन्दर अवसर खेलाडीले पाउनेछन्। आयोजकले नै जित्नुपर्छ भन्ने छैन। हाम्रा खेलाडीले राम्रो प्रस्तुति देखाऊन् भन्ने चाहना हो। त्यसैले बाहिरका खेलाडी समावेश गरेका छैनौँ,” माबोले भन्नुभयो।

खेलकुद महोत्सवमा फुटबलका अलावा महिला तथा पुरुष भलिबल प्रतियोगिता र हाफ म्याराथनलगायतका खेल समावेश छन्। हाफ म्याराथन भने साविक खेवाङ गाविसका आठवटा वडा परिक्रमा गर्ने गरी कार्तिक २१ गते आयोजना गरिनेछ।

प्रतियोगिताअन्तर्गत फुटबलतर्फ विजेता टिमले एक लाख ५५ हजार ५८३ रुपैयाँ र उपविजेताले एक लाख पाँच हजार ५८३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

त्यस्तै, पुरुष भलिबलतर्फ विजेता टिमले ६० हजार र उपविजेताले ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। महिला भलिबलतर्फ विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।

हाफ म्याराथनतर्फ प्रथमदेखि दशौँ स्थानसम्मका धावकले पुरस्कार प्राप्त गर्नेछन्। प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३३ हजार ५८३, २२ हजार ५८३ र १३ हजार ५८३ रुपैयाँ प्राप्त गर्नेछन्। चौथो हुनेले सात हजार ५८३ रुपैयाँ तथा पाँचौँदेखि आठौँ स्थानसम्मका धावकले पाँच हजार ५८३ रुपैयाँ पाउनेछन्। नवौँ र दशौँ हुनेले तीन हजार ५८३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

विगतमा खेवाङ गोल्डकपका रूपमा फुटबल प्रतियोगिता मात्र सञ्चालन गर्दै आएको आयोजकले यस वर्षदेखि बृहत् खेलकुद महोत्सवका रूपमा विभिन्न प्रतियोगिता आयोजना गरेको हो। महोत्सव सफल बनाउन स्थानीयवासीबाट व्यापक समर्थन र सहयोग प्राप्त भएको भन्दै अध्यक्ष माबोले सबैप्रति आभार व्यक्त गर्नुभएको छ।

सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ ।

 

                                                            ©  रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

ताप्लेजुङका नागरिकले भक्तपुर प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि पाउने

रेडियो ताप्लेजुङ कार्तिक १४गते । नागरिकताको प्रतिलिपि बनाउन स्थायी ठेगाना भएको जिल्लामा जानु नपर्ने भएको छ । संघीय राजधानी काठमाडौंउपत्यकामा

SITENAME

अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरेका ८ हजार मिटरमाथिका ६ हिमालमध्ये ४ ताप्लेजुङका

आनन्द गौतम ताप्लेजुङ कार्तिक १३ - नेपालले ८ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई छुट्टै हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन यूआईएको

SITENAME

श्रम संस्कृति पार्टीले स्थापना दिवसमा ताप्लेजुङमा बृहत् पार्टी प्रवेश कार्यक्रम गर्दै

किरण गदाइली ताप्लेजुङ, कार्तिक १२ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले स्थापना दिवसको अवसरमा बृहत् पार्टी प्रवेश कार्यक्रम गर्ने भएको