ताजा खबर

प्रधानमन्त्रीको मर्जी

RadioTaplajung

प्रधानमन्त्रीको मर्जी
कार्तिक ३० गते । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकी अर्धांगिनी मेलानिया ट्रम्पले राष्ट्रिय सुरक्षा मामिलाकी उपसल्लाहकार मिरा रिकार्डेललाई बर्खास्त गर्नुपर्ने जिकिर गर्दै राष्ट्रपतिमाथि दबाब सिर्जना गरेकी छन् । स्रोतहरूको भनाइ अनुसार ट्रम्पले मेलानियाको दबाब थेग्न मुस्किल छ । रिकार्डेलको पद कुनै पनि बेला गुम्न सक्छ ।
जबकि उनी ट्रम्पकी विश्वास पात्र त हुन् नै, राष्ट्रपति निर्वाचनमा दिलोज्यानले उनलाई जिताउनसमेत लागिपरेकी थिइन् । यदि ट्रम्पले आफ्नी पत्नी र रिकार्डेलबीच सम्बन्ध सहज बनाउन सकेनन् भने उनले आफ्नो टिमकी एक विश्वासपात्र सहयोगी गुमाउनु पर्नेछ ।

राज्य सञ्चालनमा प्राविधिकसँगै भावनात्मक विषय प्रशस्तै जोडिएका हुन्छन् । यसमा पारस्परिक सम्बन्धको अहम् र संवेदनशील भूमिका हुन्छ । यसैले शासनको गुणवत्ताको प्रदर्शन गर्छ । अन्तरविरोधहरू व्यवस्थित हुनसकेनन् भने सहयोगीहरू नै बाधक बन्छन् । आफ्नो घरपरिवार, सल्लाहकार, मन्त्री, सहयोगीहरूबीच कसरी समन्वय गरिन्छ, व्यवस्थापकीय सीप के कस्तो छ, धेरै हदसम्म यसैमा कार्य प्रदर्शन निर्भर हुन्छ । अमेरिकामा राष्ट्रपति नै कार्यकारी प्रमुख भएकाले आफ्नो टिमको समन्वय र व्यवस्थापन उनले जसरी गर्छन्, त्यो टिम त्यसरी नै चल्छ । यदि जथाभवी गर्नथाले भने टिमले काम गर्न सक्दैन ।

कार्यकारी प्रमुख प्रधानमन्त्री भएका मुलुकमा प्रधानमन्त्रीनै प्रमुख कर्ताधर्ता हुन्छन् । मन्त्रिपरिषदका अध्यक्ष उनै हुन्छन् । यशरअपयश उनकै हुन्छ । उनको प्राविधिक र भावनात्मक व्यवस्थापकीय क्षमता के कस्तो छ, त्यसै अनुसार टिम सञ्चालित हुन्छ र त्यही टिमको सहयोगमा उनले राज्य सञ्चालन गर्ने हुन् । तर नेपालमा भने अभ्यास ज्यादै विचित्र छ । यहाँ सुयोग्य र सक्षमको चयन, समन्वय र व्यवस्थापनमा आधारित टिमवर्क होइन, सबै कामकुरा प्रधानमन्त्रीको मर्जी र कुनै प्रभावशालीको दबाब बमोजिम हुन्छ । दबाब दिलाउने र मर्जी प्राप्त गर्ने अचुक मन्त्रचाहिँ प्रशंसा हो ।

प्रधानमन्त्री जो हुन्, जस्ता हुन्, उनको प्रशंसा गर्नुपर्छ । यहाँ प्रधानमन्त्री भनिएकोलाई नेता, पार्टी सभापति, अध्यक्ष, मन्त्री लगायत हरेक निर्णायक पदाधिकारी भनेर जहाँ जे प्रयुक्त हुन्छ, व्यक्ति, व्यक्तित्व र सन्दर्भ अनुसार त्यसरी नै बुझ्नसमेत अनुरोध छ । हरेक निर्णयकर्ता अर्थात् अख्तियारी पाएको पात्र प्रशंसा नै चाहन्छ । प्रशंसा गरे मर्जी हुन्छ, नगरे के हुन्छ, यो समाज आफैं भुक्तभोगी छ । दलहरूमा तिनको पंक्ति र सरकारको हकमा समस्त देशवासी वर्षौंवर्षदेखि मर्जी बमोजिमको शासन भोगिरहेका छन् ।

प्रधानमन्त्रीले हेरेको राम्रो, नहेरेको पनि राम्रो । उनी बसेको राम्रो । उठेको राम्रो । उनी सुतेको राम्रो । सुत्दा उनले देखेका सपना सबै राम्रा । उनी राम्रामात्रै सपना देख्छन् । नराम्रा सपनालाई उनको स्वप्न संसारमा प्रवेश निषेध छ । ‘आज त प्रधानमन्त्रीज्यूको भाषणले सबै चकित’ भन्नुपर्छ । चाहे भाषण झुर नै किन नहोस्, हरेक दिन यस्तै भन्नुपर्छ । यही दोहोर्‍याउनुपर्छ । प्रशंसा गर्नुपर्छ । प्रशंसा गरेपछि प्रधानमन्त्री खुसी हुन्छन् । खुसी भएपछि मर्जी हुन्छ । मर्जी भएपछि उनले पुरस्कृत गर्छन् ।

उनले जोकसैलाई मन्त्री बनाइदिन सक्छन् । सल्लाहकार नियुक्त गरिदिन्छन् । राजदूत दिन सक्छन् । अरू पनि अनेक सम्भावना छन् । कसैलाई कुनै एक संस्थानको महाप्रबन्धक बनाइदिन र कसैलाई राष्ट्रपतिबाट मानपदवी, सम्मान दिने सिफारिस गरिदिन्छन् । तर कार्य प्रदर्शन, सम्पादन कस्तो भइरहेको छ, यसको अनुगमन प्रधानमन्त्री बिरलै गर्छन् ।

योग्यता, क्षमता, पात्रता प्रशंसाको प्रकारले निर्धारण गर्छ । कस्तो प्रशंसा, कुन मुद्रामा गरिएको प्रशंसा हो, त्यसै अनुसार पुरस्कार निर्धारण हुन्छ । प्रशंसक हुन कृतसंकल्पित व्यक्तिले चाहे जेसुकै होस्, प्रशंसामा निरन्तरता राख्नुपर्छ । क्रमभंग हुनुहुँदैन । क्रमभंग भयो भने सबै आर्जित अंक गयल हुने प्रबल सम्भावना रहन्छ । फेरि सुरुदेखि नै थाल्नुपर्ने हुन्छ । यदाकदा आलोचना हुन गइहाल्यो भने पूर्वआर्जित अंकहरू खातामा जोडिँदैनन्, तिनको महत्त्व ह्वात्तै शून्यमा झर्छ । आलोचना कुनै पनि हालतमा हुन नजाओस् भनेर विशेष रूपमा सतर्क रहनुपर्छ । किनभने अलिकति तलमाथि पर्‍यो कि व्यक्तिको निष्ठा शंकास्पद हुनजान्छ ।

प्रधानमन्त्री आफैंले कसैको त्रुटि त्यति ख्याल नगरेका हुनसक्छन्, तर उनका वरिपरि व्याप्त चण्डाल–चौकडीले कुनै न कुनै छिद्र खोजिरहेको हुन्छ । चण्डाल–चौकडी भनेको प्रशंसक समुदायभित्रकै एउटा विशेष प्रकार हो, जो नकारात्मक विषयका परिकार तयार गर्न माहिर हुन्छ । यसले नुन–खुर्सानी, मरमसलासहित एउटा विशेष परिकार तयार गर्छ र प्रधानमन्त्रीलाई पस्कन्छ । त्यही परिकारको स्वादमा भुलेर प्रधानमन्त्री आफ्नो धारणा बनाउँछन् ।

प्रधानमन्त्री यदि अलि विवेकशील रहेछन् भने चण्डाल–चौकडी ‘म्याडम प्राइममिनिस्टरको ब्रेनवास’ गर्ने अभियानमा जुट्छ । स्मरण रहोस्, प्रधानमन्त्रीका सालासाली पनि निकै प्रभावशाली हुन्छन् । जब म्याडम र उनका भाइबैनामार्फत प्रधानमन्त्रीमाथि दबाब पर्छ, उनले त्यो दबाब थेग्न सक्दैनन् । त्यसैले पारंगत प्रशंसकहरू सिंहदरबारभन्दा पनि बालुवाटारमा डेरा हाल्न बढी रुचाउँछन् ।

प्रशंसकहरूको एउटा विशेषता हुन्छ, एक प्रशंसक अर्को प्रशंसकको मित्र हुँदैन । चोर–चोर मित्र हुनसक्छन्, डाँकाहरू पनि एरिया बाँडेर डकैती गर्छन् । सरकारी अड्डाहरूको कार्यक्षेत्र छुट्याइएको हुन्छ । व्यापार व्यवसायमा विविध कार्यगत विभाजन हुन्छन् । प्रशंसकहरूको भने एउटै केन्द्र, एउटै क्षेत्र हुन्छ, त्यो हो, प्रधानमन्त्री ।

त्यसैले उनीहरूबीच को पहिला भन्ने तीव्र प्रतिस्पर्धा चल्छ । प्रतिस्पर्धा हरेक क्षेत्रमा हुन्छ, तर कार्यकारी पदका वरिपरि हुने प्रतिस्पर्धाजस्तो अमर्यादित र घिनलाग्दो प्रतिस्पर्धा अरू क्षेत्रमा बिरलै हुन्छ । एक प्रशंसकका मनमा अर्काले उछिन्छ कि भन्ने त्रास हमेशा रहिरहेको हुन्छ र ऊ जस्तोसुकै निम्न स्तरमा समेत प्रस्तुत हुनसक्छ ।

तथापि सबै प्रशंसक एकै किसिमका भने हुँदैनन् । केही दिँदा नलिने, आसै नगर्ने शुद्ध प्रशंसक पनि हुन्छन् । तिनलाई यहाँ प्रशंसक भन्नु उचित हुँदैन । शुभचिन्तक भन्नु उचित हुन्छ । शुभचिन्तकले प्रशंसामात्र गर्दैन, गल्ती–त्रुटि पनि देखाइदिन्छ । त्यस्ता शुभचिन्तकहरूबाट प्रधानमन्त्री विमुख हुन्छन्, फलस्वरूप उनी एकपछि अर्को गल्ती गर्दै जान्छन्, तर सच्याइदिने कोही हुँदैन ।

प्रधानमन्त्रीहरू अथवा कुनै अख्तियारी प्राप्त पदधारी अलोकप्रिय भएर पदबाट विदा हुनाको एउटा प्रमुख कारण यही हो । तर प्रधानमन्त्री पदमा आसिन रहेका अथवा अख्तियार सुसम्पन्न व्यक्ति आफू पदच्युत हुन जन्मेकै होइन भन्ठान्छन्, त्यसैले उनीहरू सकेसम्म शुभचिन्तकहरूबाट टाढै बस्न रुचाउँछन् ।

हुन त प्रशंसकहरू धेरै प्रकारका हुन्छन् । तर तिनका चार प्रकार विशेष उल्लेख्य मानिन्छन् । तिनलाई चिनिराख्नु उचित हुन्छ । कुरा प्रधानमन्त्रीमै केन्द्रित भएर गरौं । पहिलो प्रकार हो, जो प्रधानमन्त्री हुन्छन्, उनैका प्रशंसक । यिनीहरूको सबै सूत्रहरूसँग सम्बन्ध हुन्छ । यस्ता प्रवृत्ति भएका प्रधानमन्त्री फेरिनासाथै तत्काल बालुवाटार पुग्छन् । यिनीहरूले त्यति कुर्नु पर्दैन । भेट्नासाथ जन्मजन्मान्तरको सम्बन्ध भएजसरी प्रस्तुत हुन्छन् ।

बहालवाला प्रधानमन्त्री बराबरको व्यक्तित्व देशमै नभएको र उनी नै निर्विकल्प पात्र हुन् भन्ने कुराआफ्नो अभिव्यक्तिमार्फत ‘सिद्ध’ गरिदिन्छन् । यसमा यिनीहरू अभ्यस्त हुन्छन्, त्यसैले यिनलाई गाह्रो हुँदैन, सजिलै सिद्ध गरिदिन्छन् । दोस्रो प्रकार हो, व्यक्ति विशेषका सदावहार प्रशंसक । यिनीहरू व्यक्ति विशेष प्रधानमन्त्री नहुँदा अथवा हुँदा दुबै अवस्थामा साथै हुन्छन् । यस्तालाई प्रधानमन्त्रीले अधिक विश्वास गर्छन् । यिनीहरू व्यक्ति विशेषमा गुणैगुण देख्नेमात्र होइन, दुर्गुणलाई समेत गुणका रूपमा व्याखानमाला तयार गर्ने कलामा माहिर हुन्छन् ।

तेस्रो प्रकार हो, दल आबद्ध प्रशंसक । यस प्रकारका प्रशंसकहरू आफ्नो दल सरकारमा भएका बेला सक्दोसँग मौकाको फाइदा उठाउने प्रकृतिका हुन्छन् । निश्चय नै पहिलो र दोस्रो प्रकारका तुलनामा यिनीहरू अलि भलाद्मी हुन्छन् । यिनीहरू आफ्नो दलका विभिन्न नेताको सिफारिस लिएर अथवा नलिएर समेत पुग्छन् ।

प्रधानमन्त्रीका सामु प्रशंसै–प्रशंसा गरे पनि उनका सहयोगीहरूले यिनलाई त्यति रुचाउँदैनन् । चौथो प्रकार, शुभचिन्तक प्रकृतिको, गुणदोष हेरेर प्रशंसा गर्ने खालको हुन्छ । एक त यस प्रकारका अर्थात् शुभचिन्तक प्रकृतिका नबोलाई सिंहदरबार अथवा बालुवाटार जाँदैनन् । बोलाइहाले पनि चण्डाल–चौकडीले प्रतीक्षालयमापर्खाएर राख्छन् । चण्डाल–चौकडीले सकेसम्म प्रधानमन्त्रीसँग भेट नै नहोस्, भइहाले मुखामुख मात्र होस् भन्ने हिसाबले समय निर्धारण गरेका हुन्छन् ।

प्रधानमन्त्रीको निश्चय नै कार्यकौशल प्रदर्शन गर्न सक्नेगरी शासन सञ्चालन गर्ने इच्छा हुनसक्छ । तर विशेष गरेर पहिलो र दोस्रो प्रकारका प्रशंसकहरूको घेराबन्दीमा परेपछि उनी हल्ल न चल्ल हुनपुग्छन् । कतिपय अवस्थामा पहिलो अनुच्छेदमा उल्लेख गरिएको अमेरिकी राष्ट्रपति ट्रम्पको समस्याजस्तै पारिवारिक दबाबमा परेर निरीह बन्ने सम्भावना त्यतिकै रहन्छ ।

ट्रम्पले कसरी हल गर्छन्, त्यो आफ्नो ठाउँमा छ । तर नेपालमा भने प्रशंसाको भोक र पारिवारिक दबाब नै प्रधानमन्त्रीको कार्यक्षमता प्रदर्शनमा प्रभावकारी रोकावटका रूपमा रहँदै आएको छ । देशमा यी दुईको समुचित व्यवस्थापन गर्दै कार्यप्रधान सक्षम टिम निर्माण गर्नसक्ने प्रधानमन्त्री अहिलेसम्म सुलभ हुन नसकेका हुँदा कार्यप्रदर्शन थानका थान भाषणका ठेलीमा सीमित हुनपुगेको हो । लेखक श्रीकृष्ण अनिरुद्ध गौतम,ई कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

राजनीतिमा जे देखियो

प्रिशा वस्नेत ,ताप्लेजुङ, बैसाख १५ गते    मुलुकलाई बलियो बनाउन मूलतः राजनीति बलियो हुनुपर्छ । राजनीतिलाई बलियो बनाउन राजनीति पार्टीहरू बलियो

RadioTaplajung

जस्ता नेता, उस्तै पत्रकार

चैत्र १७ गते ।  आफ्नै आङ कन्याएर छारो उडाउने रहर कसलाई पो हुन्छ र ? तर, आज हामी नेपाली पत्रकार जुन अवस्थामा छौं, यहाँनेर छारो उडाएर मात्रै पुग्दैन ।

RadioTaplajung

छाउ गोठ कि छाउ सोच भत्काउने ?

तिलकप्रसाद सापकोटा,माघ ११ गते । अछामलगायत पश्चिम नेपालका अधिकांश जिल्लाका स्थानीय तहमा पुस ९ देखि छाउ गोठ भत्काउ अभियान चलिरहेको छ। अहिलेसम्म दुई