ताजा खबर

हुम्लामा खाद्यान्न ढुवानी गर्न हेलिकप्टर सञ्चालकले मानेनन्

RadioTaplajung

हुम्लामा खाद्यान्न ढुवानी गर्न हेलिकप्टर सञ्चालकले मानेनन्
मंसिर १६ गते । सडकले नछोएको हुम्लामा खाद्यान्न ढुवानी गर्न हेलिकप्टर सञ्चालकले मानेका छैनन् । खाद्य संस्थानले ढुवानीका लागि आहवान गरेको टेन्डरमा कुनै पनि कम्पनीले भाग लिएनन् । हुम्लाको सिमकोट सदरमुकामसम्म खाद्यान्न ढुवानी गर्न खाद्य संस्थानले तीन पटक टेन्डरका लागि सूचना प्रकाशित गरे पनि उनीहरूले इच्छा नदेखाएका हुन् ।


संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार पहिलो टेन्डरको क्रममा दुई कम्पनीले आवेदन दिएका थिए । ती कम्पनीहरूले ढुवानी खर्च अस्वाभाविक राखेका थिए । अस्वाभाविक मूल्यकै कारण आवेदन रद्द भएको थियो । ‘त्यसपश्चात् पुनस् दुई पटक सूचना प्रकाशित गरियो,’ प्रवक्ता सापकोटाले भने, ‘कम्पनीहरूले इच्छा देखाएनन् । ढुवानीका लागि आवेदन नै दर्ता गराएनन् ।’

सापकोटाका अनुसार संस्थानले गत वर्षकै ढुवानी दर सुर्खेतबाट हुम्लासम्म प्रतिकिलो १ सय ५ रुपैयाँ र नेपालगन्जबाट १ सय १४ रुपैयाँ राखेर पहिलो सूचना असार २६ गते प्रकाशित गरेको थियो । ३० दिनको अवधि तोकिएको उक्त सूचनामा तारा र समिट एयरले आवेदन दिएका थिए । ती एयरलाइन्सहरूले सुर्खेतबाट हुम्लासम्म १ सय १३ रुपैयाँ र नेपालगन्जबाट १ सय २३ रुपैयाँ प्रस्ताव गरेका थिए । ढुवानी खर्च अस्वाभाविक भएको जनाउँदै संस्थानले पुनस् १५ दिनको अवधि दिएर भदौ १८ गते टेन्डर आहवान गरेको थियो । दोस्रोमा कुनै पनि एयरलाइन्सले आवेदन दिएनन् । त्यसपश्चात् संस्थानले पुनस् कात्तिक ९ गते ७ दिनको अवधि दिएर तेस्रो पटक सूचना प्रकाशित गरेको थियो । कम्पनीहरूले तेस्रो पटक सूचना प्रकाशित गर्दा पनि ढुवानी गर्न इच्छा देखाएनन् ।

वायु सेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले ढुवानी खर्च थोरै भएर आवेदन नदिएको बताए । संस्थानले पुनस् टेन्डर आहवान गर्ने प्रक्रियामा रहेकाले त्यसपश्चात् आवेदन दिने बताए । संस्थानले घाटा नहुने गरी ढुवानी गर्ने वातावरण बनाए एयरलाइन्सहरू तयार रहेको उनले बताए । ‘एयरलाइन्सको कमर्सियल बिजनेस हो । बिजनेसमा खर्च उठ्ने गरी टेन्डर हाल्नुपर्‍यो । व्यावसायिक उडान गर्दा व्यवसायी नै मर्ने देखियो । खर्च नै नउठ्ने गरी समाज सेवा गर्न सकिँदैन,’ गीता एयरलाइन्सका महाप्रबन्धकसमेत रहेका आर्चायले भने, ‘छलफलका क्रममा संस्थानले खर्च उठ्ने गरी टेन्डर आहवान गर्ने कुरा भएको छ । अब एयरलाइन्सहरू समावेश हुन्छन् ।’

संस्थानका अनुसार टेन्डर प्रक्रियामा जाँदा टेन्डरका लागि सुरुमै धितो धरौटी राख्नुपर्छ । टेन्डर स्वीकृत भएपछि धरौटीको रकम दोब्बर राख्नुपर्छ । समयमै काम नगरे धेरैटी रकम जफत हुन्छ । त्यसैले टेन्डरमा इच्छा नदेखाएको हुन सक्ने संस्थानका अधिकारीहरू बताउँछन् । नेपालगन्जदेखि हुम्लासम्म ढुवानीका लागि धरौटी रकम ९ लाख ७४ हजार रुपैयाँ छ । सुर्खेतदेखि हुम्लासम्म २१ लाख ७५ हजार रुपैयाँ धरौटी छ । आवेदन स्वीकृत भएको अवस्थामा कम्पनीहरूले दोब्बर राख्नुपर्छ ।

अहिले आन्तरिक पर्यटकको चाप रहेकाले पनि एयरलाइन्सहरू त्यतातर्फ आकर्षित भएका हुन् । चैत–वैशाखमा पर्यटकको सिजन । ‘सम्झैता र धरौटी हुँदा जिम्मेवार हुन्छन्,’ संस्थानका महाप्रबन्धक योगेन्द्र गौचनले भने, ‘मनलाग्दी गरिरहेका छन् । काम नगर्दा पनि कारबाही गर्न पाएका छैनौं ।’

दसैं–तिहार संकटको अवस्थामा सरकारबाट कडा निर्देशनपश्चात् एक हजार क्विन्टल ढुवानी गरेका थिए । सरकारको इन्धनमा कटौती गर्ने चेतावनीपश्चात् ढुवानी गरेका थिए । अहिले पुनस् आलटाल गर्दै आएका संस्थानको दाबी छ । संस्थानका अनुसार असार मसान्तसम्म १४ हजार क्विन्टल ढुवानी गर्नुपर्छ । हाल सिमिकोटमा १ हजार ९ सय क्विन्टल ढुवानी भएको छ । ‘चौथो पटकका लागि पुनस् टेन्डर गर्ने वा नगर्नेमा संस्थान अन्योलमा छ,’ प्रवक्ता सापकोटाले भने, ‘सञ्चालक समितिमा राख्छौं । समितिले जुन निकास दिन्छ, त्यहीअनुसार प्रक्रिया अगाडि बढाउँछौं ।’ हुम्लाबाहेक अन्य क्षेत्रका लागि स्थलमार्गबाट ढुवानी भइरहेको छ । सबैभन्दा बढी समस्या हुम्लामा हो । सम्झौता नहुँदा फाटफुट मात्रै ढुवानी भएको छ । ‘जति चाहिने हो, त्यो भएको छैन,’ महाप्रबन्धक गौचनले भने, ‘हिमपात भएपछि झन् समस्या हुन्छ ।’

मूल्य परिमार्जनको तयारी
एयरलाइन्सले ढुवानी गर्न इच्छा नदेखाएपछि संस्थानले ढुवानी भाडा परिमार्जन गर्ने तयारी गरेको छ । ‘ढुवानी भाडादर परिमार्जन गर्नुपर्छ भन्ने माग हो,’ महाप्रबन्धक गौचनले भने, ‘अत्यावश्यक वस्तु भएकाले ढुवानी अनिवार्य गर्नुपर्छ । त्यसैले पुनस् ढुवानी दर माग गरेका छौं ।’ उनका अनुसार खरिद ऐनअनुसार मूल्य पुनरावलोकन गर्न सकिन्छ ।

संस्थानका अनुसार समिट एयरले सुर्खेतबाट हुम्लासम्म ढुवानी गर्न प्रतिकिलो १ सय १६ रुपैयाँ, नेपालगन्जबाट हुम्लासम्म १ सय २५ रुपैयाँ चाहिने माग गरेको छ । ताराले सुर्खेतबाट १ सय १५ र नेपालगन्जबाट १ सय २६ रुपैयाँ माग गरेको छ । सीताले सुर्खेतबाट १ सय २० र नेपालगन्जबाट १ सय ३० रुपैयाँ माग गरेको जनाएको छ । मकालु कार्गोले सुर्खेतबाट हुम्लासम्म १ सय २५ देखि १ सय ३० रुपैयाँ चाहिने विवरण पेस गरेका छन् । ई-कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा

माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ ।  मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन

RadioTaplajung

अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु

रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ ।   कम्पनीले पाँचथर

RadioTaplajung

शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,