ताजा खबर

दसैंमा गाउँभरि खेलकुद

RadioTaplajung

दसैंमा गाउँभरि खेलकुद
असोज १९ गते । सिरिजंगा गाउँपालिका ५ खेवाङले असोज २७ देखि खुला पुरुष फुटबल प्रतियोगिता आयोजना गरेको छ । ताप्लेजुङदेखि काठमाडौंसम्मका सहयोगीको साथ खोज्दै प्रतियोगिता आयोजना गरेको उसले उपाधि विजेताका लागि एक लाख र उपविजेताका लागि ५० हजार रुपैयाँ पुरस्कार राखेको छ ।

साथमा कप, मेडल पनि पाउनेछन् । प्रतियोगिताको उद्घाटन र समापनमा सांसददेखिका निर्वाचित जनप्रतिनिधिलाई निम्त्याइएको छ ।


आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङपाङले पनि असोज २७ देखि नै पुरुष तथा महिला फुटबल प्रतियोगिता आयोजना गरेको छ । क्लबस्तरीय प्रतियोगिताका पुरुष विजेताले ७५ हजार र उपविजेताले ४५ हजार रुपैयाँ पाउनेछन् । महिलातर्फ २० र १२ हजार तथा कप, मेडल, प्रमाणपत्रको व्यवस्था गरिएको छ । आयोजकका अनुसार खेवाङले ३१ र हाङपाङले २ गते प्रतियोगिताको फाइनल गर्नेछन् ।

यसै वर्षमात्रै मैदान बनाएको फुङलिङ नगरपालिका ३ ले वडा स्तरीय भलिबल प्रतियोगिता आयोजनाको तयारी गरेको छ । वडाध्यक्ष युवराज बरालका अनुसार दसैंको अवसरमा भलिबल आयोजनासँगै खेल मैदानको उद्घाटन हुनेछ । सिरिजंगा, आठराई, त्रिवेणी र फुङलिङ मात्रै नभएर दसैं र तिहारको अवसरमा जिल्लाभरि फुटबल तथा भलिबल प्रतियोगिता आयोजना गरिएका छन् । जिल्ला खेलकुद विकास समितिका अधिकृत यज्ञनिधि पौडेलका अनुसार हरेकजसो गाउँपालिकामा प्रतियोगिता हुँदैछ । जिल्लामा एउटा नगरपालिका र आठवटा गाउँपालिका छन् । वर्षभरिमा प्रत्येक वडामा एउटा न एउटा विधाको खेलकुद प्रतियोगिता हुने दाबी पौडेलको छ ।
 


विशेषगरी चाडबाडले खेलाडीहरूको विकास गर्ने र युवाहरूलाई कुलतमा लाग्नबाट जोगाउने पौडेल बताउँछन् । ‘दसैंमा बाहिरबाट आएकाहरू हुन्छन्, गाउँघरमा सहभागी बन्छन्, यसले आत्मीयता बढाउँछ,’ पौडेलले थपे, ‘चाडबाडमा मादक पदार्थ सेवन गर्ने र कुलतमा लाग्नेहरूलाई धेरै हदसम्म नियन्त्रण गरेको छ ।’ खाएर खेल्न नपाइने र जित्नका लागि मादक पदार्थ नखाने भएकाले युवाहरूलाई सत्मार्गमा लगाएको उनले बताए ।


खेलकुद विकास समितिमा दर्ता भएका क्लबले वर्षमा एउटा प्रतियोगिता अनिवार्य गर्नुपर्ने भएकाले पनि धेरै खेल हुने गरेको हो । फुर्सदिलो, बाहिर भएका आफन्त आउने र खर्च व्यवस्थापन गर्न सहज हुने भएकाले धेरैले चाडबाडलाई मौका मिलाएर प्रतियोगिता आयोजना गरेको खेवाङका गजेन्द्र तुम्याहाङ बताउँछन् ।


खेलकुदमा दर्ता भएका क्लब जिल्लामा १ सय ३९ वटा रहेका छन् । तीमध्ये १५ वटाजति निष्क्रिय र बाँकी सबै सक्रिय रहेको पौडेलले बताए । एउटा क्लबले एउटा मात्रै खेल गराउँदा १ सय ३९ वटा प्रतियोगिता हुन्छन् । ‘धेरैले दसैंलाई नै लक्षित गरेका हुन्छन, तर जिल्लाभरिका खेलाडीले खेल्ने र हेर्ने मौका पाऊन् भनेर हामीले समय मिलाएर गर्न प्रेरित गर्ने गरेका छौं,’ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष टीपी सुब्बाले भने, ‘दसैं र तिहारको बेलामा त धेरै प्रतियोगिता हुने र कहीं केही समस्या होला कि भनेर आयोजकको नियमित सम्पर्कमा रहेर बस्ने गरेको छु ।’


खेलाडी घाइते वा बिरामी भए उपचारको व्यवस्था, विवाद भए समाधानका लागि क्रियाशील रहनुपर्ने बाध्यता खेलकुद विकास समितिलाई रहेको छ । क्लबहरूले प्रतियोगिताको जानकारी गराएर मात्रै खेलाउने गरेका छन् । गाउँमा समेत ठूलो पुरस्कार राशिसहितको प्रतियोगिता हुँदा युवाहरूमा उत्साह हुने गरेको छ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा