ताजा खबर

ताप्लेजुङमा गाईलाई सुत्केरी भत्ता !

RadioTaplajung

जेष्ठ २५, २०७५आनन्द गौतम/सिदिङवा (ताप्लेजुङ) — जिल्लाको पूर्वी सिदिङवा गाउँपालिकाले गाईलाई सुत्केरी भत्ता दिन थालेको छ । गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले प्रत्येक गाई सुत्केरी हुँदा गाईपाल्ने किसानलाई २० हजार रुपैयाँ दिन थालिएको हो । यो पैसा गाईको स्याहार सुसारमा खर्च गर्नु पर्छ ।

यो यसै वर्षदेखि सुरु भइसकेको गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले बताए। कडरियाका अनुसार यो गाउँपालिका विगतमा अधिक पशुपालन भएको क्षेत्र हो। तर, पछिल्ला वर्ष किसानहरु यसबाट बिमुख भएपछि पुन पुरानै अवस्थामा फर्काउन यस्तो नीति ल्याइएको हो।

भत्ता लिने किसानले दिनमा कम्तीमा ७ लिटर दूध भने दुहुनुपर्ने सर्त राखिएको छ। सर्तअनुसार सुत्केरी भएको छ महिनासम्म ९लैनुमा० दुई र छ महिनापछि ९बकेर्नु० तीन थुन मात्रै दुहुन पाउने छन्।

धेरै दूध देखाउन बाच्छाबाच्छी दूध खानबाट बञ्चित नहुन् भनेर यो सर्त राखिएको गाउँपालिकाले जनाएको छ। गाई स्याहारमा दिएको पैसा किसानले अपचलन नगरुन् र अरु क्षेत्रमा नलगाउन भनेर सर्तसहित भत्ताको व्यवस्था गरिएको उपाध्यक्ष जीवन ताम्लिङले बताए। किसानले सर्त पालना गरेरनगरेको अनुगमन वडाका जनप्रतिनिधि र कर्मचारीले समेत गर्ने योजना बनाइएको छ।

यहाँका गाई बिहान र बेलुका दुईसाँझ दुहिन्छ। सुत्केरीमा राम्रो स्याहार गरे स्थानीय जातका गाईले पनि सात लिटर दूध दिने पशु प्राविधिकहरु बताउँछन्। ‘अहिलेसम्म यो गाउँपालिकाका किसानले बिहान खोलेदिने र दिउँसो चरनमा छोडिदिने गरेका छन्, त्यो बाहेकका स्याहार कमैले मात्रै गर्छन्,’ सिदिङ‍्वा गाउँपालिकाका पशु प्राविधिक रामचन्द्र कट्टेलले भने, ‘अनुदानको व्यवस्था गरेपछि घाँसलाई कुटो बनाएर खुवाउने, भिटामिन खुवाउने जस्ता विषयमा जानकारी गराएका छौं।’ यो गाउँपालिकामा खोलेमा कुटो खुवाउने तर घाँस भने त्यसै लगाइदिने प्रचलन छ।
पहिलो वर्ष गाई सुत्केरी भत्ताबापत तीन लाख ५० हजार छुट्याएको गाउँपालिकाले आगामी आर्थिक वर्षमा यसलाई तेब्बर बनाउने योजना बनाएको छ। पहिलो वर्ष प्रचारमा कम खर्च भए पनि यस्मा किसानको आकर्षण बढेकाले बजेट बढाउने कडरियाले बताए। ‘छुट्याएको बजेटले नपुगे अरु शीर्षकबाट तानेर पनि दिन्छौं,’ कडरियाले भने, ‘पशुपालनको राम्रो सम्भावना भएकाले यहाँका किसानलाई आकर्सित गरेर दूध बाहिर बिक्री गर्ने योजनामा छौं।’

आगामी आर्थिक वर्षदेखि गोठ सुधार गर्ने, उन्नत जातका गाई ल्याउने, दूध संकलन केन्द्र स्थापना गर्नेजस्ता योजना सञ्चालन गर्ने गाउँपालिकाले बताएको छ। अहिले भने गाउँपालिकाको केन्द्र साब्लाखु भञ्ज्याङमा दूध हालेको चिया पिउन पनि अघिल्लै दिन भन्नुपर्छ।
भारतसँग सिमाना जोडिएको यो गाउँपालिकामा साविकका कालीखोला, सादेवा, सुरुमखिम, मेहेले, आङखोप, लिम्वुदिन र साब्लाखु गाविस मिलाइएको छ। प्रत्येक गाविसलाई वडा बनाइएको छ। पशुपालनका हिसाबले यी सबै वडा हावापानी अनुकूल भएको कट्टेल बताउँछन्। सबै वडा सडक सञ्जालले जोडिन लागेकाले यहाँको दूध पाँचथरको थर्पु पुर्‍याएर डेरीमा बिक्री गर्न सकिने उनले बताए। सवारी साधनमा आधा घण्टामा थर्पु पुगिन्छ। कालीखोला, सादेवा र सुरुमखिममा अहिले पनि गाइगोठ छन्। स्रोत: ई–कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक