ताजा खबर

ज्यानमारा बिजुली तार, प्रदेश २ मा ६ महिनायता करेन्ट लागेर ४५ जनाको मृत्यु

RadioTaplajung

माघ १४ गते । धनुषाको सबैलामा शनिबार जन्ती बोकेर फर्कंदै गरेको बसले बिजुलीको नाङ्गो तार छुँदा ६ जनाको मृत्यु भयो । जनकपुरको कुवारामपुरमा माघ ५ गते सडकमा लत्रिएको तारमा मोटरसाइकलले छुँदा दुई जनाको ज्यान गयो ।

दुवै ठाउँमा लत्रिएको तार व्यवस्थित गर्न स्थानीयले महिनौंअगाडि नेपाल विद्युत् प्राधिकरणमा निवेदन दिएका थिए। कुवारामपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएपछि प्राधिकरणका कर्मचारीले तार व्यवस्थित गरेका छन् भने सबैलामा अझै व्यवस्थापन गरिएको छैन। ‘हामीले लत्रिएको तार व्यवस्थित गर्न निवेदन दिएका थियौं,’ कुवारामपुरका दिलीप मण्डले कान्तिपुरसँग भने, ‘दुई जनाको ज्यान गएपछि मात्रै प्राधिकरणका कर्मचारीले तार सुरक्षित बनाए।’

प्राधिकरणले आवश्यक बजेट नभएकाले तार व्यवस्थित गर्न नसकेको जनाएको छ। विद्युत् प्राधिकरण पोखरियाका प्रमुख सुधीर रायले स्थानीयले रकम जम्मा गरेपछि मात्र तार व्यवस्थित हुने बताए। ‘पोल सार्नका लागि प्राधिकरणसँग बजेट छैन,’ उनले भने।

नेपाल विद्युत् प्राधिकरण जनकपुरका प्रमुख सूर्यनारायण मण्डलले धनुषामा विद्युतका तीन जना प्रमुख रहेको भन्दै दुर्घटनाको विषयमा बोल्न चाहेनन्। ‘जिल्लामा तीन जना प्रमुख हुनुहुन्छ, व्यवस्थित गर्ने काम भइरहेको छ,’ उनले भने।

प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार ६ महिनायता प्रदेश २ को ८ जिल्लामा करेन्ट लागेर ४५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई जना बालक पनि रहेको डीएसपी दानबहादुर थापाले बताए।

आइतबार आफ्नो निर्वाचन क्षेत्र आइपुगेका उद्योगमन्त्री मातृका यादवले जिल्लामा प्रायस् ठाउँमा विद्युत् पोल र तार व्यवस्थित नरहेको बताए। ‘धेरै ठाउँमा तार लत्रिएको छ, यो अनुसन्धानको विषय हो,’ उनले भने, ‘फिल्डमा म आफैं जाँदा धेरै ठाउँमा तार र पोलको अवस्था ठीक छैन।’ उनले प्राधिकरणका प्रमुख, प्रजिअ र एसपीलाई पोल र तार व्यवस्थित गर्न निर्देशन दिएको बताए।
धनुषाका प्रजिअ प्रदीप कँडेलले विद्युत् तारको अवस्था र प्राविधिक पक्ष अध्ययन गर्न प्राधिकरणका तीन जना इन्जिनियरलाई खटाइएको बताए। उनले सोमबार इन्जिनियरले रिपोर्ट बुझाएपछि बदमासी देखिने निकायलाई कारबाही गरिने बताए। ‘तार जताततै लत्रिएको छ, त्यसैले दुर्घटना बढाएको छ,’ उनले भने, ‘तार व्यवस्थित गर्न र ढल्केका तथा खिया लागेका पोल फेर्न प्राधिकरणलाई भनिएको छ।’

प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले विद्युत् प्राधिकरणको लापरबाहीले मानिसको ज्यान गुम्नु दुस्खद भएको बताए। ‘प्राधिकरण संघीय सरकार मातहत छ तैपनि तार र पोल व्यवस्थित गर्न हामीले दबाब दिइरहेका छौं,’ उनले भने।

पोल जीर्ण
सर्लाहीमा जताततै विद्युत् तार लत्रिएको छ। पोल जीर्ण छन्। हावा चल्नासाथ तार सर्ट हुने गरेको स्थानीय बताउँछन्। विद्युतको हाइभोल्टेज तार चुँडिएर घरमा वितरण हुने तारलाई छुँदा गत साउन ७ गते हरिपुर्वा नगरपालिका–९, वसन्तपुरमा दुई जनाको मृत्यु भएको थियो। घरको स्विच अन गर्ने क्रममा हाइभोल्टेज करेन्ट लागेर नरेन्द्र चौधरी र सुनिता मण्डलको मृत्यु भएको हो। ६ महिनायता करेन्ट लागेर सर्लाहीमा ६ जनाले ज्यान गुमाइसकेको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ।

कविलासी नगरपालिका–१ र २ को पिपरिया–हरिवन–कौडेना क्षेत्रीय सडक विस्तार भए पनि बिजुलीको तार व्यवस्थापन भएको छैन। सडकमै बिजुलीको पोल छ। तार पनि लत्रिएको छ। पटक–पटक ट्रक र बसमा लत्रिएको तार छोएर र पोल भाँच्चिएर दुर्घटना भएको छ। कतैकतै त स्थानीयले बिजुलीको लत्रिएको तार उठाउन बीचसडकमा बाँसको पोल गाडेका छन्।

लत्रिएका तार र ढल्किएका पोल व्यवस्थापन गर्न पटक–पटक जानकारी गराउँदा पनि प्रधिकरणले चासो नदिएको जनप्रतिनिधिको गुनासो छ। ‘दुई दशकअघि तानिएका बिजुलीका तार लत्रिएका छन्, पोल जीर्ण भइसकेका छन्,’ कविलासी नगरपालिका–१ का वडाध्यक्ष दीपलाल रायले भने, ‘पटक–पटक प्राधिकरणमा जानकारी गराउँदा पनि सुनुवाइ भएको छैन। कुन बेला कहाँ दुर्घटना हुन्छ भन्न सकिन्न।’

सडकको बीचमा पोल
पर्साको बहोदरामाई नगरपालिका–२, पिपराको मुख्य सडक बीचमा रहेको पोलमा ठोक्किएर दुई वर्षअगाडि स्थानीय राजन पटेल गम्भीर घाइते भए। एक साता उपचारपछि घर फर्किए। त्यसयता उक्त सडक खण्डका पोलमा ठोक्किएर दर्जनभन्दा बढी घाइते भएका छन्। प्राधिकरणले अझै सडकको बीचमा रहेका पोल सारेको छैन। विन्ध्यवासिनी चोकदेखि डोकैला बहुअरी जाने सडक खण्डमा आधा दर्जन पोल बीचसडकमै छन्। तीन वर्षअगाडि सडक डिभिजन कार्यालयले सडक पक्की गरेको थियो। समन्वय नगरी पिच गरिएकाले पोल हटाउन ढिलाइ भएको प्राधिकरणले जनाएको छ।

सडकको बीच भागमा रहेका पोलका कारण चारचक्के सवारी मात्र नभई मोटरसाइकल चलाउनेसमेत दुर्घटनामा पर्ने गरेका छन्। नगरदाहाका मनोज साहका अनुसार आधा दर्जन पोल व्यवस्थापनका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए पनि कुनै चासो लिएका छैनन्। वडाध्यक्ष जितेन्द्र पटेलले शुक्रबार मात्र विद्युत् प्राधिकरण पोखरियाका प्राविधिक आएर सर्भे गरेको बताए। उनका अनुसार पोल व्यवस्थापनका लागि नगरपालिकाले समेत बजेट छुट्याइसकेको छ।
नगरपालिकाको अन्य वडामा पनि सडक विस्तार भइरहेकाले ४० पोल सार्नुपर्ने देखिएको पटेलले जनाए। ‘पोल सार्नका लागि प्राधिकरणसँग बजेट छैन,’ विद्युत् प्राधिकरण पोखरियाका प्रमुख सुधीर रायले भने, ‘सार्न चाहनेले पैसा जम्मा गरेपछि पोल सारिएका छन्।’ बहोदरामाई–२ का पोल सार्न स्टमेट भइसके पनि नगरपालिकाले पैसा नबुझाएको उनले दाबी गरे। वडाध्यक्ष जितेन्द्र पटेलले विगतमा प्राविधिकले स्टमेट बढी गरिदिएकाले समस्या परेको बताए। पर्सामा यो वर्ष मात्रै करेन्ट लागेर ८ जनाको मृत्यु भइसकेको छ।

हुकिङ गरी चोरी पनि खतरा
बारामा चुँडिएको तार कमजोर ढंगले टालटुल गरिएको, जीर्ण तारलाई बाँसको भट्टाको अडेस लगाएर जोडिएको, पोल ढलेको, तार तन्किएर घरसम्म छोएको दृश्य जताततै देखिन्छ। कतिपय ठाउँमा पोलको तारले घर–आँगन र रूख–बिरुवामै छोएको छ।

ग्रामीण बस्तीमा हुकिङ गरेर विद्युत् चोरी गरेको प्रशस्तै भेटिन्छ। अव्यवस्थित विद्युतीकरणसँगै हुकिङ गर्दा पटक–पटक ट्रान्सफर्मरमा आगलागी हुने गरेको छ।

जीर्ण तार, पोल र चोरीले जोखिम बढाए पनि प्राधिकरणले अनुगमन र व्यवस्थापन गरेको छैन। ‘अव्यवस्थित बिजुलीले बर्सेनि जीउधन नोक्सानी भइरहेको छ,’ नागरिक अगुवा उमेशलाल दास भन्छन्, ‘तर प्राधिकरणले यसमा चासो दिएको छैन।’ प्राधिकरणले महसुल असुलीमा मात्रै ध्यान दिएको उनको आरोप छ।

सिम्रौनगढ नगरपालिका–८ का शिक्षक प्रदीपप्रसाद यादवले बिजुलीले दुर्घटना हुँदा ‘बिजुली अफिस’ को फोन नउठ्ने र सधैं व्यस्त रहने बताए। ‘प्राधिकरणको मनपरी छ,’ उनले भने, ‘दिनानुदिन जनसंख्या बढेको बढयै छ, विद्युत् विस्तार उत्तिकै छ। खपत बढ्ने, व्यवस्थापन नगर्ने समस्याले स्थानीयको जीउधन जोखिममा छ।’ उनका अनुसार धेरै ठाउँमा एक पोलदेखि अर्को पोलसम्म आधा दर्जन ठाउँमा बाँसको स–सानो भट्टा ९स्टिक० लगाई मर्मत गरिएको छ।

जीर्ण तार–पोलले जोखिम बढाएको प्राधिकारणका प्राविधिक स्विकार्छन्। कलैया विद्युत् वितरण केन्द्रका एक इन्जिनियर भन्छन्, ‘कतिपय ठाउँमा स्थानीय उपभोक्ताले प्राधिकरणको सल्लाह र सहयोगबिनै तारपोल जडान (गर्नै नमिल्ने) गर्छन्, जसले समस्या हुने गरेको छ।’

प्राधिकरणका इन्जिनियर तुसार मण्डलले जोखिम बढेको गुनासो आउँदा तत्काल समस्या हेर्ने गरिएको दाबी गरे। ‘थुप्रै ठाउँमा सडक विस्तारसँगै निर्माण भइरहेकाले पोल र तार अव्यवस्थित भएको छ, त्यसलाई सुधार्ने काम भइरहेको छ’, उनले भने।

– अजित तिवारी (जनकपुर), ओमप्रकाश ठाकुर (सर्लाही), भूषण यादव (वीरगन्ज), लक्ष्मी साह (बारा)
ई-कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा

RadioTaplajung

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

  फागुन ४ गते । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले

RadioTaplajung

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय   फागुन ४ गते ।बालुुवाटारको बहुुचर्चित ललिता निवास प्रकरणमा नेताहरुले सफाइ पाएका छन्