भारतको बजेटः नेपालको १० अर्बको निर्यात प्रभावित हुने

माघ । भारतीय अर्थमन्त्री अरुण जेट्लीले बिहीबार प्रस्तुत गरेको बजेटले भारतसँगको नेपालको लगभग १० अर्बको व्यापारलाई प्रभाव पर्ने देखिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालबाट भारततर्फ कुल ४१ अर्ब ४४ करोड रुपैयाँको सामान पठाएको छ । यसमध्ये एक अर्ब २३ करोड रुपैयाँको जुत्ताचप्पल, पाँच अर्बको जुस र तीन अर्ब २४ करोडबराबरको फेब्रिकसहितको टेक्सटाइल निर्यात गरेको थियो । यी तीन सामानबाट मात्रै नेपालले नौ अर्ब ५३ करोड रुपैयाँ भित्र्याएको थियो । अघिल्लो वर्ष भने नेपालले यी सामान निर्यातबाट १२ अर्ब भित्र्याएको थियो । तर, सन् २०१८/१९ का लागि प्रस्तुत भारतको बजेटले सिल्क र फेब्रिकको आयातमा भन्सार १० प्रतिशतबाट बढाएर २० पु¥याएको छ । यस्तै, जुत्ताचप्पलको भन्सार दर १० बाट बढाएर २०, जुसको १० देखि ३० रहेकामा बढाएर ३५ देखि ५० प्रतिशत पुर्याएको छ । हाल भारतसँग नेपालको व्यापार घाटा पाँच अर्ब ९२ करोड रुपैयाँ छ । नेपालमा सामान पठाएर भारतले भने ६ खर्ब ३३ अर्ब रुपैयाँ भित्र्याइरहेको छ । नेपालले सबै मुलुकसँगको कारोबारमा भने कुल नौ खर्ब १७ अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ ।


सामाजिक संजाल