ताप्लेजुङको कोसेली छुर्पी पाउनै गाह्रो

माघ २० –हिमाली जिल्ला ताप्लेजुङमा छुर्पी व्यवसाय सङकटमा पर्दै गएको छ । जिल्लाको पापुङ, ओलाङचुङगोला, लेलेपको घुन्सा, याम्फुदिन, कालिखोलालगायतका गाउँहरुमा चौँरी तथा गाई पालन व्यवसाय हराउँदै गएका कारण छुर्पीको उत्पादन घट्दै गएको हो । चाैँरीपालक कृषकहरु निराश हुँदै व्यवसाय छाडेपछि छुर्पीको उत्पादन घटेको व्यवसायीको भनाई रहेको छ । चौँरी गाईको दूधबाट बनेको असली छुर्पी भनेर चिनिने छुर्पीको उत्पादन घटेको मात्र र्होन लोप हुने अवस्थामा पुगेको व्यवसायीहरु बताउछन् । ताप्लेजुङबाट कोसेलीका रुपमा देशका विभिन्न भागमा तथा विदेशमा छुर्पी पुग्ने गरेको छ । ताप्लेजुङको छुर्पी कोसेलीको रुपमा जापान, अमेरिका, हङकङ, बेलायत, अष्ट्रेलिया साथै विश्वका धेरै देशमा समेत पुग्ने गरेको छुर्पी व्यापारी ग्याबु शेर्पाले बताउनुभयो । केही वर्ष अगाडि दैनिक १५ देखि २० वटा चौँरी दुहुने गरेकी चौँरी पालक कान्छी शेर्पाले चौँरीको संख्या घटेकैले छुर्पीको उत्पादन घटेको बताउनुभयो । छुर्पी व्यापारी पेम्बा शेर्पाले अहिले चौँरी तिब्बततर्फ लान थालेका कारण पनि ताप्लेजुङमा छुर्पी अभाव हुन थालकोे बताउनुभयो । चौँरी गाई लोप हुँदै गएका कारण अहिले ताप्लेजुङमा छुर्पीको मूल्य समेत आकासिएको छ । गएका वर्षहरुमा ताप्लेजुङमा छुर्पी प्रतिकेजी ८ सय रुपियाँमा किनबेच भए पनि अहिले भने एक हजार चार सय रुपैंया सम्ममा किनबेच हुने गरेको व्यापारी ग्याबु शेर्पाले शेर्पाले बताउनुभयो ।


सामाजिक संजाल