आफ्नो खेल्ने सपना टुट्यो, तर अरुका लागि मैदान दिँदै स्वर्ण विजेता खेलाडी

पुस ७ – सालको राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई फुटबलमा स्वर्ण पदक जिताउन कप्तान खेम रावतको ठूलो भूमिका थियो । फुटबलको स्वण पदक गलामा भिर्दै गर्दा रावतले आफ्नो उज्वल भविष्यको कल्पना गरेका थिए । तर उनको कल्पना कहिले पूरा भएन । कुनै पनि क्लब तथा टिममा अवसर नपाएपछि उनले खेल्न पाएनन् र खेल जीवन नै रोकियो । प्रतियोगिता नै नभएका कारण आफूहरुले अवसर नपाएको पीडा भुलाउन उनको टिमले ३ वर्षदेखि सुदूर पश्चिममा फुटबल प्रतियोतिगा आयोजना गरिरहेको छ । खेम रावत कप्तान रहेको सुदूरपश्चिमको टोलीमा गोलकिपर हरि बोहरा थिए । पोष्टमा पर्खाल बनेर उभिने बोहोरको खेल जीवनमा पनि पर्खाल नै लाग्यो । रावतले जस्तै अवसर नपाएपछि उनले पनि खेल जीवन अघि बढाउन सकेनन् । धनगढीमा अहिले चलिरहेको फारवेष्ट पशुपति फुटबल प्रतियोगिताको आयोजक संस्था फारवेष्ट पशुपति क्लबका महासचिव हुन् उनी । मैदानमा खेल चलिरहँदा बोहरा आयोजक भएर व्यवस्थापनमा जुटेका हुन्छन् । गोलपोष्ट नजिक बल पुग्दा मैदान बाहिर नै भए पनि बोहोरका हात खुट्टा चल्छन् । आफ्नो खेलमा पूर्ण विराम लगाएर खेलाडी उत्पादनमा लागेका बोहोराका पीडा शब्दमा बयान गर्न सकिँदैन । ६ वर्षअघि घुम्रो कपाल भएका डेबिट खड्कालाई दौडिन कसैले पनि जित्न सक्दैन थियो । त्यसैले छैटौं राष्ट्रिय खेलकुदमा आफ्नो टिमलाई स्वर्ण जिताउन खड्का कहिले मैदानको ओल्लो छेउ त कहिले पल्लो छेउ पुग्थे । अहिले फारवेष्ट पशुपति फुटबल प्रतियोगिता चलिहरँदा उनी त्यसै गरी दौडिन्छन् । तर दौडिने ठाउँ भने फेरिएको छ । उनी अहिले आयोजक संस्थाको कोषाध्यक्ष भएर अर्थ व्यवस्थापनमा जुटेका छन् । २०६८ सालमा भएको राष्ट्रिय प्रतियोगिताको फुटबल तर्फ स्वर्ण पदक जित्दा सुदूरपश्चिमको टिमबाट कम्तिमा पनि २–४ जना खेलाडीले राष्ट्रिय टिममा स्थान बनाउँलान् । अरु २–४ जनाले काठमाडौंका ए डिभजिन क्लबमा स्थान पाउलान्, त कसैले सेना, पुलिस जस्ता टिममा स्थान पाउलान् भन्ने आशा थियो । तर त्यो आशा पूरा भएन । टिम नै भए पनि देशका अरु कुना काप्चामा हुने फुटबल प्रतियोगितामा पनि उनीहरुलाई स्थान पाउन हम्मे हम्मे भयो । त्यसपछि स्वर्ण जित्ने खेलाडीको टिमले २०७२ सालमा फारवेष्ट पशुपति क्लब गठन गर्‍यो । त्यो क्लबले आयोजना गरेको फुटबल प्रतियोगिताको तेश्रो संंस्करण अहिले चलिरहेको छ । स्वर्णधारी फुटबल खेलाडी आफूले खेल्न नपाए पनि अहिले अरुले खेलेको हेरेर रमाइरहेका छन् ।


सामाजिक संजाल