समानुपातिकतर्फको अन्तिम मतपरिणाम र सिट आज सार्वजनिक गरिने

पुस ७ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको दलहरुले प्राप्त गर्ने सिट संख्या आज सार्वजनिक गर्ने भएको छ । आयोगका सचिव एवं समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत बेगेन्द्रराज शर्मा पौड्यालले राजनीतिक दलले प्राप्त गर्ने कुल सिट संख्या र समावेशी आधारमा प्राप्त गर्ने सिटको बाडँफाँड, दलले प्राप्त गर्नुपर्ने न्यूनतम मत सीमा (थ्रेसहोल्ड) निर्धारण गर्नेलगायतको काम पूरा भएकाले आज नतिजा सार्वजनिक गर्ने जानकारी दिए । प्रदेश नं १ देखि ७ सम्ममा राजनीतिक दलहरुले प्राप्त गर्ने सिट अलगरुपमा तयार गर्ने काम रातभरमा पूरा गरी शुक्रबार दिउँसो बस्ने आयोगको बैठकपछि नतिजा सार्वजनिक गर्ने जानकारी दिइएको छ । राजनीतिक दललाई पठाउने पत्र र आयोगको बैठकमा पेश गर्ने प्रस्ताव तयारीमा आयोग जुटिरहेको बताइएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर १० र २१ गते भएकामा प्रत्यक्षतर्फको निर्वाचनको नतिजा भने यसअघि नै सार्वजनिक भइसकेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० निर्वाचन क्षेत्रमा निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा ११० र प्रदेशसभामा २२० जना जनप्रतिनिधिको चयन हुने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा एक करोड पाँच लाखको हाराहारीमा मतदान भएकोमा प्रत्यक्षतर्फको तुलनामा समानुपातिकतर्फ बदर मतको संख्या निकै बढी रहेको बताइएको छ ।


सामाजिक संजाल