सत्ता स्वार्थको कम्युनिष्ट गठबन्धन : कांग्रेस

कात्तिक १५ – प्रमुख सत्तारुढ नेपाली कांग्रेसले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच भएको चुनावी गठबन्धन सत्ता स्वार्थको कम्युनिष्ट गठबन्धन भएको आरोप लगाएको छ । कांग्रेसले मंगलबार विशेष समारोहका बिच आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गर्दै कम्युनिष्ट पार्टीको वर्चस्वको सरकार बनाउने र देशमा साम्यवाद स्थापना गर्ने उद्देश्य रहेको गठबन्धनलाई सफल हुन नदिने दृढता व्यक्त गरिएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको यो घोषणा पत्रमा आगामी चुनावमा कम्युनिष्ट पार्टीहरु बिच चुनावी तालमेल गर्ने, अन्ततः एउटै कम्युनिष्ट पार्टी बनाउने, कम्युनिष्ट पार्टीको वर्चस्वको सरकार बनाउने र संविधानका आधारभूत लोकतान्त्रिक मूल्य–पद्धति र शासन प्रणालीलाई संशोधन गर्दै प्रत्यक्ष राष्ट्रपतीय प्रणालीका माध्यमबाट एकदलीय कम्युनिष्ट पार्टीद्वारा सत्ता नियन्त्रण गर्ने र नेपालमा साम्यवाद स्थापना गर्ने उद्देश्य राखेको उल्लेख छ । संसारभरि असफल सिद्ध भइसकेको कम्युनिष्ट शासनलाई नेपालमा स्थापना गर्न खोजिएको कम्युनिष्ट गठबन्धनको यस्तो प्रयोग देश र नागरिकका लागि किमार्थ स्वीकार नहुने भन्दै काँग्रेसले पार्टीका लाखौँ ऊर्जाशील युवा र समर्थकहरुको पंक्तिले लोकतन्त्र स्थापनाका लागि सबै किसिमका निरंकुश शासन र हिंसाका विरुद्ध पटक–पटक संघर्ष गर्दै आएको अवगत गराउँदै डटेर सामना गर्ने उल्लेख गरेको छ ।


सामाजिक संजाल