ताप्लेजुङमा तीन वर्षमा ७ सय ५० मुद्दा फर्छ्यौट

असोज ९ । जिल्ला अदालत ताप्लेजुङले करिव तीन वर्षको अवधिमा ७ सय ५० थान मुद्धा फर्छ्यौट गरेको छ । जिल्ला न्यायाधीश अशोक कुमार बस्नेतका अनुसार तीन आर्थिक वर्षमा ९ सय १२ वटा मुद्दा दर्ता भएकोमा ७ सय ५० वटाको फर्छ्यौट भएको हो । आर्थिक वर्ष ०७२/०७३ मा ४ सय १४, ०७३/०७४ मा ३ सय ११ र ०७४/०७५ को हालसम्म २५ वटा मुद्दा फर्छ्यौट भएका हुन् । ०७२/०७३ मा ५ सय ७२, ०७३/०७४ मा ३ सय २ र ०७४/०७५ मा ३८ वटा मुद्दा दर्ता भएका थिए । सो विवरणलाई आधार मान्ने हो भने ०७२/०७३ मा ७५.५५, ०७३/०७४ मा ८२.४२ र ०७४/०७५ मा ३३.३३ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् । यस्तै तीन वर्षको अवधिमा ५६ लाख ५४ हजार ५४ रुपैयाँ ८६ पैसा दण्ड जरिवाना असुलसमेत भएको न्यायाधीश बस्नेतले जानकारी दिए । सबैभन्दा बढी ०७३/०७४ मा २९ लाख ९ हजार ४ सय २६ रुपैयाँ ७४ पैसा जरिवाना असुल भएको छ भने त्यसपछि ०७२/०७३ मा २५ लाख ८३ हजार २ सय ६८ रुपैयाँ १३ पैसा र ०७४/०७५ मा १ लाख ६१ हजार ३ सय ६० रुपैयाँ जरिवाना असुल भएको जिल्ला अदालत ताप्लेजुङले जानकारी दिएको छ । जिल्ला अदालतमा आफ्नो कार्यकालमा भएका गतिविधि सार्वजनिक गर्दै जिल्ला न्यायाधीश बस्नेतले आईतबार सञ्चारकर्मी सामु सो विवरण सार्वजनिक गरेका हुन् । हाल उनको काठमाडौंमा सरुवा भएको छ । न्यायाधीश बस्नेतले आफ्नो २ वर्ष २ महिनाको अवधिमा मेलमिलापका लागि ८८ वटा मुद्दा मेलमिलाप केन्द्रमा पठाएकोमा १९ वटा मेलमिलाप भएको र ६४ वटा फिर्ता भएको बताए । ५ वटा मुद्दा भने अझै केन्द्रमा नै मेलमिलापको प्रयासमा रहेको उनले जनाए ।


सामाजिक संजाल