निकै व्यस्त तालिकासहित नेपाली फुटबल टिम जापानतर्फ

साउन २७ । एसियन कप फुटबल छनोटको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार जापान जाँदैछ । जापानमा रहँदा नेपाली टोलीले ५ वटा अभ्यास खेल खेल्ने तालिका छ । नेपालले यही साउन २९ देखि भदौ ३ सम्म ७ दिनको अन्तरालमा पाँच वटा खेल खेल्नेछ । अत्यन्तै व्यस्त खेल तालिकाको कारण नेपाली खेलाडीमा फिटनेसको समस्या आउन सक्नेछ । अन्तर्राष्ट्रिय प्रचलनअनुसार दुई वटा खेलको बीचमा खेलाडीलाई आराम गर्न कम्तिमा ४८ घण्टाको सयम चाहिन्छ । दुईबाट तीन खेल खेल्नुपर्ने अवस्थामा उक्त समय झनै बढ्दछ । तर नेपाली टोलीको जापान भ्रमण र अभ्यास खेल तालिका तय गर्दा यो कुरा ख्याल गरेको देखिएको छैन । यसका बाबजुद उच्च फुटबल हैसियत भएको मुलुक जापानमा अभ्यास गर्न पाउनुलाई भने निकै महत्वका साथ हेरिएको छ । जापान जाने टोलीलाई बिहीबार अखिल नेपाल फुटबल संघ एन्फाले काठमाडौंमा एक कार्यक्रम आयोजना गरि बिदाई गरेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट, नेपालका लागि जापानी राजदुत मासाशी ओगावा, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतका पदाधिकारीले टोलीको बिदाई गरेका हुन् ।


सामाजिक संजाल