आदिवासी जनजाती दिवस मनाइयो

सिताराम गुरागाई,

ताप्लेजुङ, साउन २५ गते । २३ औं विश्व आदिवासी दिवस ताप्लेजुङमा पनि विभिन्न १० वटा आदिवासी संगठनले संयुक्त कार्यक्रम गरि मनाएका छन् । ‘अधिकार, प्रतिनिधित्व र स्वशासनका लागि आदिवासीको अडान, पहिचान सहितको संघियताका लागि संविधान संशोधन हाम्रो साझा अभियान’ नारासहित आदिवासी जनजाती युवा महासंघले सदरमुकाम फुङलिङ बजारमा र्याली निकालिएको थियो । विभिन्न जातिय संघ–संस्थाले झाँकी प्रदर्शन गरेका छन् । त्यसपछी सामुदायिक भवन सीटि हलमा विषेश कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाती महासंघ ताप्लेजुङका अध्यक्ष यिगेन्द्रकुमार गुरुङले अधिकार प्राप्तिको लागि एक हुन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दशकौं देखिको आदिवासी जनजाति आन्दोलनलाई राज्यले सम्बोधन गर्न नसकेकाले यो दिवसलाई संविधान संशोधन गराइ पूर्ण अधिकार प्राप्ति गर्नको निमित्त सशक्त दबाब दिने अभियानको रुपमा मनाउने जानकारी गराउँदछौं । हाम्रो आन्दोलन जारी छ ।’ त्यस्तै कार्यक्रममा बोल्ने अधिकांशले राज्यपक्षबाट आदिवासी जनजातिहरु माथि अझै पनि विभेद कायमै रहेको बताएका छन् । भाषिक, सामाजिक, धार्मिक, शैक्षिक, सांस्कृतिक, राजनीतिक, मानव अधिकार हनन लगायतका सबै खाले विभेद अन्त्यका लागि संविधान संशोधन गर्न उनिहरुले आग्रह गरेका छन् । त्यसैगरी विगतमा आदिवासी जनजातिहरुसँग भएका सहमति सम्झौताहरुको कार्यान्वयन हुनुपर्ने समेत माग गरिएको छ । जिल्लामा क्रियासिल जातिय संगठनहरु तोक्पेगोला सेवा समाज, किराँत राई योयोक्खा, नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ, सुनुवार सेवा समाज, वालुङ उत्थान समाज, नेपाल सेर्पा संघ, किराँत याक्थुम चुम्लुङ, भुजेल समाज सेवा समिती र तमु ह्युल छोज् धिले संयुक्त रुपमा दिवस मनाएका हुन् । 
 


सामाजिक संजाल