दोश्रो पाथीभरा गोल्डकपः ताप्लेजुङ विजयी,मोरङ २–० गोलले पराजित

साउन २४ गते । ताप्लेजुङमा जारी दोश्रो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगीता अन्तर्गत आज नवप्रयास यूवा क्लब ताप्लेजुङ विजयी भएको छ । ताप्लेजुङले पथरी स्र्पोटिङ क्लब मोरङलाई २–० गोलले पराजित गरेको हो । खेलको ५४औं मिनेटमा ताप्लेजुङका रमेश लिम्बूले पेनाल्टीमार्फत गोल गरे । ८१औं मिनेटमा निराजन गुरुङले गोल गर्दै अग्रता दोब्बर पारे । डिबक्समा दिपेश आङवुहाङ लिम्बूलाई पथरीका गोलकिपर अजुर्न बस्नेतले ट्याकल गरेपछि पाएको पेनाल्टीलाई लिम्बुले गोलमा परिणत गरे । गोलकिपरको कमजोरीको फाइदा उठाउँदै गुरुङले चिफ बल प्रहार गरि दोश्रो गोल गरे । आजको खेलको म्यान अफ दि म्याच ताप्लेजुङका खेल क्याप्टेन समेत रहेका लिम्बूले प्राप्त गरे । यसअघि रेडहर्स क्लब इलामलाई ३–० गोलले पराजित गरेको ताप्लेजुङले आज पथरीलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।
प्रतियोगीताअन्तर्ग भोली गोर्खा स्र्पोटिङ क्लव दमक झापा र सशस्त्र प्रहरी बल एपिएफ दमकबिच खेल हुनेछ । भानुजन माविको खेलमैदानमा खेल दिउँसो ३ बजे हुनेछ । एपिएफले कर्णसिंह सोनाम फुटबल क्लबलाई ट्राईब्रेकरमा ३–१ गोलले पराजित गरेको थियो ।
प्रतियोगीतामा १० टिमको सहभागीता छ । विजेतालाई २ लाख ११ हजार १ सय रुपैयाँ र कप प्रदान गरिने आयोजकले जनाएको छ । उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिने छ । लाखेजात्रा खेल संञ्चालन समितिको आयोजनमा २०२९ सालदेखि निरन्तर प्रतियोगीता हुँदै आएको छ ।


सामाजिक संजाल