भरतपुर–१९ मा मत गणना धमाधम, रेणु भन्दा देवी ४ सय १७ मतले अगाडी

साउन २१ । भरतपुर महानगरपालिका वडा नं.१९ को मत गणना जारी छ । हालसम्म प्राप्त परिणाम अनुसार मेयरमा एमालेका देवी ज्ञवाली ४१ हजार ६४१ र माओवादी केन्द्रकी रेणु दाहालले ४१ हजार २ सय ५२ मत प्राप्त गरेकी छन् । रेणुले मतान्तर घटाउँदै ४ सय १७ पुर्‍याएकी हुन् । त्यस्तै उपमेयरमा नेपाली काँग्रेसकी पार्वती शाहीले अग्रता लिइरहकी छन् । उनले ४५ हजार १ सय ४० मत प्राप्त गरेकी छन् भने एमालेकी दिव्य शर्मा आचार्यले ३८ हजार ३ सय ३८ मत प्राप्त गरेकी छन् । यता वडा नम्बर १९ मा पनि काँग्रेसले अग्रता लिइरहेको छ । २ हजार ७ मत गणना हुँदा काँग्रेसले १ हजार १६ मत र एमालेले ७ सय ७९ मत प्राप्त गरेको छ । वडा नम्बर १९ मा कुल ३ हजार ७ सय ९७ मत रहेकोमा २८७० अर्थात ७५ दशमलव ५८ प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यसअघि यस वडामा २ हजार ८ सय ९७ मत खसेको थियो । गत जेठ १४ गते मध्यरातमा भरतपुर १९ को मतगणनाका क्रममा माओवादी केन्द्रका प्रतिनिधिले मत पत्र च्यातेपछि विवाद सुरु भएको थियो । निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको भोलीपल्टै एमालेका प्रतिनिधिले सर्वोच्चमा रिट दायर गरेपछि भरतपुर प्रकरण लम्बिएको थियो । राजनीतिक दलहरुबीच सहमति जुटाएर मत गणना अघि बढाइने छ । ३२ वटा वडा मध्ये २० नम्बर वडाको पनि मत गणना बाँकी छ ।


सामाजिक संजाल