टेलिभिजन र रेडियोका लागि छुट्टै विभाग बनाइने

 

चैत २४ - सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले टेलिभिजन र रेडियोको सञ्चालन अनुमति तथा नियमन गर्नका लागि छुट्टै निकायको आवश्यकता भएको बताएका छन । 

मन्त्रालयमा धेरै वटा निकाय भएको र व्यवस्थापन गर्न कठिन भएको भन्दै उनले टेलिभिजन र रेडियोका लागि छुट्टै निकाय आवश्यक भएको बताएका हुन् ।

प्रविधि पत्रकार मञ्च (टीजेएफ) ले बुधबार राजधानीमा गरेको ‘डिजिटलाइजेसन अफ टेलिभिजन इन नेपाल’ विषयक अन्तक्रिया कार्यक्रममा उनले मन्त्रालयबाट टेलिभिजन र रेडियो सञ्चालनको अनुमति तथा नियमन गर्न सम्भव नभएकाले अधिकार प्राप्त छुट्टै निकाय गठन गर्नुपर्ने बताएका हुन् ।

“मन्त्रालय अन्तर्गत नै रहने गरी अलग्गै विभाग बनाउनु आवश्यक छ,” उनले भने, “अहिलेको जनशक्तिले प्रविधिको गति अनुसार काम गर्न सम्भव छैन । संसारमा विकसित प्रविधिअनुसार नेपालमा तयारी हुन नसकेको अवस्था छ ।''

कार्यक्रममा मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले आउने वैशाख १५ देखि महानगर र उपामहानगर एनालग प्रविधिमा सञ्चालित केबल टेलिभिनलाई डिजिटल प्रविधिमा लैजाने बताए । 

“एनालग भन्दा डिजिटलमा पिक्चर सफा वा गुणस्तर आउँछ, त्यति मात्रै नभई एकै ठाउँमा बसेर सबै प्रकारको इन्कोडिङ र डिकोडिङ मिलाउन सकिन्छ” उलने भने ।  

डिजिटलाइजेशन नहुँदा आधिकारिक तथ्याङ्क आउन गाह्रो भएको छ । आधिकारीक तत्थ्याङ नहुँदा सरकारले झन्डै ६० लाख ग्राहकको राजश्व गुमाउनु परेको छ ।  सकारी तथ्याङ्क अनुसार अहिले २५ लाख मात्रै रेकर्ड रहेको उलने जानकारी दिए । 

सरकारले राष्ट्रिय प्रसारण नियमावली, २०५२ को छैटो संशोधनमार्फत एनालगलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने व्यवस्था गरेको छ । डाइरेक्ट टु होम (डीचीएच) भू-उपग्रह प्रसार केन्द्र स्थापना गरी कार्यक्रम वितरण गर्ने, डाउनलिङ्क गर्ने इजाजत, सिग्नल वितरणको इजाजत, डिजिटल केवल प्रसारण इजाजतका सम्बन्धमा तयारी सुस्त गतिमा भएको बताए । उनले नेपाल २०१७ सम्म डिजिटल प्रणालीमा गइसक्नुपर्ने भन्दै यसको लागि लगानीको खाँचो समेत औल्याए । 

एनालग र स्थानीय केवल अपरेटरको उचित व्यवस्थापन गर्नुपर्नेमा उनको जोड थियो । डिजिटलमा रुपान्तरण हुनु पहिले पूर्वाधारमा लगानी , डिजिटलमा जान चाहनेलाई प्रोत्साहन र एनालग र स्थानीय केवल अपरेटरको उचित व्यवस्थापनका साथै हेडइण्डको लाइसेन्स तथा दस्तुर लगायतका सुविधा हुनुपर्नै व्यवस्था छ । 

मन्त्रालयले केवल टेलिभिजनलाई डिटिलमा लैजानका लागि एनालग प्रविधिको  अनुमतिपत्र बन्द गरेको छ । अब जति पनि कम्पनीहरु स्थापना हुन्छन ति सवैले डिजिटल प्रविधिको मापदण्ड पुरा गर्नुपर्ने हुन्छ । 

कार्यक्रममा केबल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीले प्रविधिको युगमा केवल टेलिभिजनको विकल्पमा डिजिटल टेलिभिजनको आवश्यकता रहेको बताए । पारदर्शी तथ्याङ्क, सरकारी राजश्व र गुणस्तरीय सेवाका लागि डिजिटल प्रविधिमा जानुपर्ने बताए ।

source:karobardaily


सामाजिक संजाल