बन रक्षक शाहीको हत्या आरोपमा ६ जना पुर्पक्षका लागि थुनामा

रेडियो ताप्लेजुङ
माघ २४ गते । जिल्ला बन कार्यालय अन्तर्गत इलाका बन कार्यालय खोक्लिङमा कार्यरत जाजरकोट दशेरा–८ निवासी वन रक्षक २७ वर्षीय गणेश बहादुर शाहीको २०७३ पुस १७ गते हत्या गरिएको आरोपमा गिरफ्तार गरिएकामध्ये ६ जनालाई जिल्ला अदालतले माघ २० गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायधीस अशोक कुमार बस्नेतको इजलासले खोक्लिङ–८ का २८ वर्षीय सविन भन्ने टेक बहादुर लिम्बू,५२ वर्षीय दावा शेर्पा,५३ वर्षीय चेत बहादुर गुरुङ,४९ वर्षीय सार्के गुरुङ,४८ वर्षीय नन्दराम गुरुङ र ४३ वर्षीय बीर बहादुर गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
यसैगरि खोक्लिङ–८ का ५७ वर्षीय तोयानाथ लिम्बूलाई ५० हजार,४६ वर्षीय विष्णुलाल भन्ने हरि पन्त,६० वर्षीय दल बहादुर लिम्बू,५३ वर्षीय पदम गुरुङ,५३ वर्षीय लाल बहादुर लिम्बूलाई जनही ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
यसैगरि हाङदेवा–५ का ३१ वर्षीय राम बहादुर लिम्बू,ता.न.पा–६ की ४९ वर्षीया देउकला लिम्बू मादेन र हाङदेवा–५ की रीया भन्ने सोनिसा लिम्बूलाई जनही ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका नायब सुब्बा होम प्रसाद खनालले जानकारी दिए ।
अदालतमा पुर्पक्षको थुनछेक बहस पैरवीमा बादि नेपाल सरकार र प्रतिवादीको तर्फबाट अधिबक्ता देवराज मेन्याङबो र अधिबक्ता धन बहादुर थापाले बहस गर्नुभएको थियो । सामुदायिक वन र निजी जग्गाको विषयमा विवाद हुँदा शाहीलाई लखेटेर हत्या भएको थियो ।
 


सामाजिक संजाल