तेह्रथुमका २२ विद्यालय गाभ्ने प्रक्रिया सुरु


तेह्रथुम, माघ ६ । जिल्ला शिक्षा कार्यालय तेह्रथुमले न्यून विद्यार्थी संख्या भएका र भौगोलिक रुपमा विकट स्थानमा रहेका २२ विद्यालयलाई गाभ्ने प्रक्रिया सुरु गरेको छ । कार्यालयका अनुसार विद्यार्थी संख्या न्युन भएका जिल्लाका २० वटा प्रावि र २ वटा निमाविलाई गाभ्ने प्रक्रिया सुरु गरिएको हो ।

 

जस अन्तर्गत कार्यालयले ती विद्यालयहरुलाई पत्राचार गरिसकेको जिल्ला शिक्षा अधिकारी दीर्घध्वज चापागाँईले बताउनुभयो । चापागाईका अनुसार भौगोलिक विकटता र न्युन विद्यार्थी संख्या भएका ती विद्यालयहरुलाई गाभ्ने, कक्षा घटाउने वा विद्यालयले गाउँ भरका विद्यार्थीलाई आकर्षित गर्ने भन्ने विकल्प सहितको पत्राचार गरिएको छ ।

 

ती विद्यालयहरुलाई अवस्था हेरेर कक्षा घटाउने, गाभ्ने या समायोजन गर्ने काम गरिने जिशिअ चापागाँईले बताउनुभयो । कार्यालयका अनुसार पछिल्लो समय शैक्षिक गुणस्तर कमजोर भएको भन्दै अभिभावकहरुले बालबच्चालाई निजी विद्यालयमा भर्ना गराउने क्रम बढेपछि विद्यार्थी संख्या घटेको हो । अझ केही वर्ष यता जिल्लाबाट बसाइसराँई बढ्दै गएका कारण पनि विद्यार्थी संख्या घट्दै गएको जिशिअ चापागाँईले जानकारी दिनुभयो ।


सामाजिक संजाल