प्याब्सनद्धारा शिक्षक र विद्यार्थी सम्मानित

पुस २५ गते । ताप्लेजुङका निजि विद्यालयहरुको संगठन प्याब्सनले एक जना शिक्षक र विद्यार्थीलाई विहिबार सम्मान गरेको छ । २५औं प्याब्सन दिवसको अवसरमा निजी विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक वाङदी शेर्पा र गत वर्षको एसएलसीमा जिल्ला प्रथम विद्यार्थी रेजी श्रेष्ठलाई सम्मान गरिएको हो । शिक्षक शेर्पा र विद्यार्थी श्रेष्ठलाई नगद पाँच पाँच हजार र प्रमाणपत्रसहित जिल्ला शिक्षा अधिकारी पुर्ण बहादुर दर्जी र प्याब्सनका पूर्व केन्द्रिय सदस्य काजी पालुङवाले सम्मान गर्नुभयो । शेर्पा हाल नवज्योती आवसिय विद्यालयमा कार्यरत छन भने लिटल बुद्ध इङलिस बोर्डिङ स्कुलबाट एसएलसी दिएकी श्रेष्ठ भानु जन उच्च माविमा अध्यनरत छिन् । एसएलसीमा ८२ प्रतिशत ल्याएकी श्रेष्ठलाई कक्षा १० सम्म छात्रवृत्ति प्रदान गरिएको विद्यालयका प्रिन्सिपल युवराज गिरीले बताउनुभयो । जन्मथलो दार्जिलिङ भएका शेर्पाले २०५२ सालदेखि जिल्लाको निजी विद्यालयमा कार्यरत रहेर शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप सम्मान गरिएको प्याब्सन अध्यक्ष दिनेश प्रसाईले बताउनुभयो । प्याब्सन दिवसको अवसरमा एकएक जना शिक्षक र विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम गत वर्षदेखि थालिएको हो । यसैविच प्याब्सनले दिवसकै अवसर पारेर आकस्मिक कोष स्थापना गर्ने निर्णय गरिएको सचिव इन्द्र बहादुर गुरुङले बताउनुभयो । युवराज गिरी संयोजक रहने गरि स्थापना गरिने कोषको रकम शिक्षा क्षेत्र बाहेक सामाजिक क्रियाकलापमा समेत सयहोग गर्ने उदेश्य रहेको छ । कार्यक्रमका प्रमूख अतिथि तथा जिल्ला शिक्षा अधिकारी दर्जीले प्याब्सनले शिक्षा क्षेत्रको गुणस्तर वृद्धिमा अझ बढि ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । आगामी चैत १७ गतेदेखि सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १ देखि ९ सम्मको परिक्षा गर्ने निर्णय भएको बताउँदै उहाँले सामुदायिक विद्यालयका ९८ प्रतिशत शिक्षक  तालिम प्राप्त भएपनि अपेक्षा बमोजिमको नतिजा आउन नसकेको बताउनुभयो । तालिमको  अनुभव कम भएका संस्थागत विद्यालयमा कार्यरत शिक्षकबाट विद्यालयको नतिजा पर्याप्त छ भन्ने नबुझ्न आग्रह गर्दै उहाँले सामुदायिक र संस्थागत विद्यालयका शिक्षकबिच शिक्षण शैलिको ज्ञान आदानप्रदानको खाँचो औल्याउनुभयो । सामुदायिक वा संस्थागत दुवै विद्यालयको उदेश्य गुणस्तरीय विद्यार्थी उत्पादन गर्नु भएकाले दुवै पक्षले कमजोरी सच्याएर अघि बढ्न सके शिक्षाको गुणस्तरमा टेवा पुग्ने दर्जीले विश्वास व्यक्त गर्नुभयो ।
 


सामाजिक संजाल