ताप्लेजुङको माथिल्लो क्षेत्रमा हिमपात,बेसीमा वर्षा ।

ताप्लेजुङ पुष २३ । ताप्लेजुङको माथिल्लो क्षेत्रमा हिमपात हुँदा बेसीमा वर्षा भएको छ । बुधबार अपरान्हदेखि मौसम बदलिएसँगै हिमपात र वर्षा भएको हो । जाडो ह्वात्तै बढेको छ । पाथीभरा क्षेत्रको माथिल्लो फेदिसम्म हिउँ परेको छ । ‘यसपाली तीन चार पटक हिउँ प¥यो । बिगतमा यति धेरै पटक पर्दैनथ्यो ।’ स्थानिय अम्बिका प्रसार्ईले भने,‘हिउँ परेसँगै जाडो ह्वात्तै बढ्यो ।’ ३७९४ मी.को उचाईमा अवस्थित पाथीभराको फेदिसम्म हिउँ परेकाले पाथीभराको दर्शनका लागि समस्या हुने उनले बताए । यद्यपी आजभोली पाथीभरा दर्शनका लागि अनुकुल मौसम नभएकाले दर्शनार्थीको चाप न्यून छ  । उता पर्यटकीय क्षेत्र घुन्सा,याङमा,ओलाङचुङगोला,पापुङ,याम्फुदिन लगायत माथिल्लो भु भागमा बाक्लो हिमपात भएको याम्फुदिनका खड्ग बहादुर गुरुङले बताए । उक्त क्षेत्र हिउँले सेताम्मे बनेको छ । यसैबिच पानीले कृषकलाई राहत मिलेको छ । धान काटेर गहुँ रोप्नका लागि बाँझो जोत्न तयारी गरेका बेला परेको पानीले बेसीका कृषकलाई खेतीपातीमा सहयोग मिलेको हो । बेसी क्षेत्रमा पुस भित्रमा गहँु रोप्ने गरिन्छ । पानीले लेकाली क्षेत्रको अलैची बगानमा सिचाँइको काम गरेको  छ । पाइपबाट भिजाएको पानीले भन्दा आकाशे पानीले भिजेको बगान राम्रो हुने भएकाले उत्पादनमा समेत वृद्धि हुने अलैची कृषकहरु बताउँछन् ।


सामाजिक संजाल