मानसिक रोग लागेकी महिला ३ वर्षदेखि दाम्लोमा

तेह्रथुम, पुस १५ – मानसिक रोग लागेकालाई परिवारको थप माया र स्याहारले आवश्यक पर्छ । चिकित्सक पनि परिवारका सदस्यको सकारात्मक व्यवहारले मानसिक रोग लागेको स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुग्ने बताउँछन् । तर हाम्रो समाजमा अझै पनि मानसिक रोग लागेलाई उपचार गर्नुको साटो पशु जस्तै बाँधेर राखिन्छ । कतिले उपचार खर्च जुटाउन नसकेर मानसिक रोग लागेका आफन्तलाई बाँध्ने गरेका छन् भने कतिले समाजमा लाज हुन्छ भनेर बाँध्ने गरेका छन् । मानसिक रोगबाट पीडित तेह्रथुमको हमरजुङकी एक महिलालाई अभिभावकले दाम्लोले बाँधेर राखेका छन् । हमरजुङ –४ की ३२ वर्षकी कमला रोक्कालाई उहाँका अभिभावकले गाई बाँध्ने दाम्लोले बाँधेर राखेका छन् । कमलालाई औषधि उपचार गर्ने पैसा नहुँदा अभिभावकले बाँधेर राखेका हुन् । ‘छोडौं भन्ने केके गर्छे, उपचार गर्ने खर्च छैन, त्यहि भएर बाँधेको हो ।’ कमलाकी आमा इन्द्रमाया रोक्काले भन्नुभयो । कमला सानै उमेरदेखि रोगी भएपनि मानसिक सन्तुलन भने तीन वर्षअघि गुमेको आमा इन्द्रमायाले बताउनुभयो । खर्च नहुँदा छोरीको रोगको उपचार गर्न नसक्दा अहिले छोरीको मानसिक सन्तुलन गुमेको उहाँले बताउनुभयो ।  कमलालाई १० वर्षअघि कसैले ललाइ फकाई बलात्कार गरेको थियो । तर कमलालाई आफूलाई कसले बलात्कार ग¥यो भन्ने नै थाहा छैन । अहिले ९ वर्षको छोरा पनि छ । दलित समुदाय त्यसमा पनि कमजोर आर्थिक अवस्थाको रोक्का परिवारमा २ छोरा र ४ छोरी मध्ये २ छोरी र १ छोराको मानसिक सन्तुलन गुमेको छ । कमलाका बाबु झुप्पबहादुर रोक्का आग्रह गर्नुहुन्छ ‘छोराछोरी बिरामी भएपनि उपचार गर्न पैसा छैन । उपचार कसैले गर्न सहयोग गरिदिए हुन्थ्यो ।’गएको असोजमा हामीले मानसिक रोग लागेपछि परिवारले कोठामै थुनेर राखेका गोरखाकी एक युवतीको बारेमा समाचार प्रकाशित गरेका थियौं । त्यो समाचार पढेर शिक्षण अस्पतालका डाक्टर अजय थापाले युवतीको उद्धार गरी उपचार गर्नुभएको थियो ।


सामाजिक संजाल