ताजा खबर

मलेसियासँगको श्रम समझदारीलाई म्यानपावरको तगारो

RadioTaplajung

मलेसियासँगको श्रम समझदारीलाई म्यानपावरको तगारो
कार्तिक १५ गते । सरकारको भाषामा भन्ने हो भने अब मलेसिया जान नेपाली कामदारले एक रुपैयाँ पनि खर्च गर्नुपर्दैन । म्यानपावर व्यवसायीले कामदार मलेसिया पठाउँदा सेवा शुल्क पनि असुल्न पाउँदैनन् । अहिलेसम्म व्यवसायीले सेवा शुल्कबापत वैधानिकरुपमा १० हजारसम्म लिन पाउँथे ।

मलेसियासँग भएको श्रम समझदारीले यस्तो कुनै पनि सेवा शुल्क कामदारले तिर्नुनपर्ने व्यवस्था गरेको हो । नेपाली कामदारको अधिकारलाई सुनिश्चित गर्दै मलेसियामा आर्थिक सुरक्षा प्राप्त हुने गरी समझदारी गरिएको छ ।

यति मात्रै हैन, मलेसिया जाँदा भिसा प्रक्रियामा लाग्ने शुल्कको भार पनि कामदारमाथि पर्ने छैन । सेवा शुल्क, आते(जाते हवाइ टिकट, स्वास्थ्य परीक्षण, सुरक्षा जाँच, भिसा शुल्क, लगायतबाट पनि कामदार मुक्त बनेका छन् ।

श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले चार महिनाअघि मलेसिया जाने कामदारमाथि भिसा प्रक्रियामा नाममा भइरहेको सिन्डिकेट अन्त्य गर्ने घोषणा गरेका थिए । त्यसअनुसार उनले मेडिकल बायोमेट्रिक, सेक्युरेटी क्लियरेन्स, भीएलएन, वान स्पट सेन्टर लगायतका नाममा कामबारबाट रकम लिन नपाइने घोषणा गरे । त्यसलगत्तै कामदारको भिसा प्रक्रिया नै रोकियो । यसपछि सरकारले पनि मलेसियाको मागपत्र लिन अस्वीकार गरेर ‘वार कि पार’को संघर्ष सुरु गर्‍यो ।

कामदारबाट अतिरिक्त रकम असुलेर मोटाइरहेका देशी(विदेशी विचौलियाहरुले मन्त्री विष्टको कदमविरुद्ध राजनीतिक र कुटनीति दबावको आँधि सिर्जना गर्न खोजे । तर, मन्त्री पछि हटेनन् । कामदारबाट ठगी गर्नेका विरुद्ध कानुनी लडाइँमा उत्रिए । उनीहरु भने अदालतबाट धरौटीमा रिहा भएर मन्त्रीविरुद्ध जेहाद छेडिरहे । तर, मन्त्री विष्ट अडानमा कायम रहेपछि मलेसियाले नै नेपाललाई श्रम समझदारीका लागि आग्रह गर्‍यो ।

नेपाली कामदार जान थालेको १७ वर्षपछि मलेसियाले नेपालसँग पहिलोचोटि ‘एमओयू’ गर्‍यो । यसका लागि मलेसियाका मानव संशाधन मन्त्री एम कुलेसागरन काठमाडौं आए ।

बिचौलिया संयन्त्रको घाँटी निमोठ्न मन्त्री बिष्टले गरेको सफल प्रयत्नले अन्य श्रम गन्तब्य मुलुकसँग पनि नेपालले आफ्ना कामदारको हितबारे दह्रो अडान लिन प्रेरणा मिलेको छ । यसअघिका कुनै पनि मन्त्रीले यति कडा अडान लिएका थिएनन् । कामदार मलेसिया जान रोकिँदा बिष्टमाथि राजनीतिक स्तरबाटै तीव्र दबावहरु सिर्जना भए पनि उनले अन्तिमसम्म लचकता देखाएनन् । र, अन्तिममा मलेसिया श्रम समझदारी गर्न आयो ।

यो श्रम समझदारीमा नेपालबाट मलेसिया कामदार लैजाँदा सबै खर्च रोजगारदाताले बेहोर्ने भन्ने स्पष्ट किटान गरिएको छ । अब मलेसियाली कम्पनीले सबै खर्च व्यहोरेर नेपाली कामदार लैजानुपर्नेछ । कामदार भर्तिदेखि भिसा प्रक्रियासम्मका सबै खर्च रोजगारदाताले बेहोर्ने भएपछि कामदारले एक रुपैयाँ पनि आफ्नो खल्तीबाट हाल्नु नपर्ने अवस्था बनेको हो ।

मेडिकल, सेक्युरिटी क्लियरेन्स र म्यानपावरको सेवा शुल्क रोजगारदाताले कामदारलाई पहिलो महिनाको तलब दिँदा नै ‘रिफण्ड’ गर्ने समझदारीपत्रमा उल्लेख छ ।

साथै अब मलेसियामा नेपाली कामदारले लेभी तिर्नुपर्दैन । समझदारी अनुसार हरेक महिनाको ७ गतेसम्म बैंक खातामा तलब खस्नेछ । आफ्नो पासपोर्ट कामदारसँगै रहनेछ, कम्पनीले कब्जामा लिन पाउने छैन । कम्पनीमा समस्या देखिए वा कामदारले आफू आर्थिकरुपमा असुरक्षित देखे अर्को कम्पनीमा फेरि वैधानिक रुपमा नै काम गर्न पाउनेछन् । अहिले मलेसियामा यसरी कम्पनी फेर्नुलाई अवैधानिक मानिन्छ । यो व्यवस्था नेपाली कामदारका लागि निकै महत्वपूर्ण छ ।

अब कामदारको करार अवधि २ वर्षमा झारिएको छ । यसअघि ३ वर्षको करार हुन्थ्यो । कामदारले मलेसियाली सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी सेवा(सुविधा पाउनेछन् । अतिरिक्त समयमा काम गरेवापत अतिरिक्त पारिश्रमिकसहितको सुविधा पनि सुनिश्चित भएको छ ।

कामदारलाई कार्यस्थल र बासस्थानमा उचित वातावरण तयार गर्नुपर्ने र सुरक्षा प्रवन्धहरु मिलाउनुपर्ने समझदारीपत्रमा भनिएको छ । कामदार मलेसियाको विमानस्थल ओर्लिर्एको ६ घण्टाभित्र रोजगारदाताले गन्तव्यमा पुर्‍याउनुपर्नेछ । महिला कामदारको हेरचाह, सुरक्षा, संरक्षणका लागि विशेष व्यवस्था गर्नुपर्ने समझदारीमा उल्लेख छ ।

कामदार र रोजगारदाताबीच श्रमबारे विवाद भएमा न्यायिक निकायमा मुद्दा विचाराधीन रहेसम्मका लागि मलेसियामा रहन समस्या पर्नेछैन । कामदारले आफ्नो परिवारमा बाबु, आमा, श्रीमान वा श्रीमती, छोरा, छोरीको मृत्यु भएमा अधिकतम् १५ दिनका लागि नेपाल फर्किन छुट्टी पाउनेछन् । यो व्यवस्था निकै व्यवहारिक हुने अपेक्षा छ । दुर्घटना बीमा र स्वास्थ्य बीमा सम्बन्धमा मलेसिया सरकारले ल्याउने नीति र नियम नेपाली कामदारको हकमा पनि लागू हुनेछ । यो व्यवस्था मलेसियाली कामदारसरहकै हुनेछ । कामदारको अंगभंग वा मृत्यु भएमा रोजगारदाताले नेपाली राजदूतावासलाई जानकारी गराउनुपर्ने छ । कामदारको मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्वन्धित रोजगारदाता कम्पनीकै हुने छ ।

कामदार, रोजगारदाता र श्रमिक आपूर्तिकर्ताको कार्यको अनुगमन एवं नियमन गरी थप व्यवस्थित गर्न नेपाल र मलेसिया सहमत भएका छन् । मलेसिया जानुअघि रोजगारदाता र कामदारलाई सम्झौतामा हस्ताक्षर गराइनेछ । यो सम्झौता कामदारले बुझ्ने गरी नेपाली भाषामा पनि तयार गरिनेछ ।

यस्ता सबै सहमति कार्यान्यवयनका लागि कार्यविधिहरु भने बनाउन बाँकी छ । त्यसका लागि दुबै देशका संयुक्त कार्य समुह अहिले छलफलमा छन् । यो कार्यविधिहरु नटुंगेसम्म मलेसियामा नेपाली कामदार जान पाउने छैनन् ।

यो कार्यदलले मलेसियामा कामदार जाँदा म्यानपावरको भूमिका कसरी तय गर्छ भन्ने हेर्न बाँकी छ । कामदारले कुनै शुल्क तिर्नु नपर्ने भएपछि म्यानपावरवाला असन्तुष्ट बनिरहेका छन् । भिसा प्रक्रियामा सरकारकै हात हुने भएकाले अब बिचौलिया संयन्त्रले कामदारबाट अतिरिक्त असुली गर्न सक्ने सम्भावना छैन ।

तर, म्यानपावरवालाले रोजगारदाताबाट पाउने सेवा शुल्कका भरमा कामदार पठाउलान् भन्ने ग्यारेन्टी गर्न सकिन्न । अहिले पनि सरकारले निशुल्क भिसा र टिकटको व्यवस्था लागू गराउन सकिरहेको छैन । म्यानपावरले १० हजारको बिल थमाएर कामदारबाट लाखभन्दा बढी रकम असुलिरहेकै छन् । यस्तो अवस्थामा म्यानपावरहरुलाई कसरी सरकारले ठेगानमा ल्याउला भन्ने हेर्न बाँकी छ ।

नेपालका धेरै म्यानपावरवालाहरु अझै पनि आफैं कम्पनीबाट सीधै माग ल्याउन सक्दैनन् । उनीहरु यसका लागि मलेसियाली एजेन्टलाई रकम बुझाउन बाध्य छन् । त्यो रकम उठाउन र आफूले पनि कुस्त कमाउन म्यानपावरले निःशुल्क भिसा र टिकटको व्यवस्थालाई कुल्चिएका छन् । निःशुल्क कामदार मलेसिया पठाउने कुरालाई उनीहरुले निःशुल्क भिसा र टिकेटको निर्णयजस्तै भनेर टिप्पणी गरेका छन् ।

यसबाटै बुझ्न सकिन्छ किन व्यवसायी यो निर्णय कार्यान्वन गर्न दिने पक्षमा छैनन् । श्रम मन्त्री बिष्टले म्यानपावरको यो चुनौतीलाई कसरी चिर्लान् भन्ने हेर्न बाँकी छ ।
अनलाइनखबर

प्रतिकृया दिनुहोस
RadioTaplajung

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा

माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ ।  मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन

RadioTaplajung

अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु

रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ ।   कम्पनीले पाँचथर

RadioTaplajung

शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,