ताजा खबर

यो कसको सरकार हो ?

SITENAME

साउन १० गते नेपालको सुदूरपश्चिमको कञ्चनपुरमा एउटा जघन्य अपराध भयो । भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो ।

हत्याराको अझै पत्ता लाग्न सकेको छैन । स्थानीयहरूले भने बलात्कारी चिनिसकेको सङ्केत गरेका छन् । सर्वसाधारणले अपराधी चिन्ने तर राज्यले नचिन्ने यस्तो प्रवृत्ति पहिले पनि हुन्थ्यो । अहिले पनि भइरहेको छ । पहिले हुने गरेका यस्ता हर्कतहरूका विरुद्ध नेपाली जनताले लामो सङ्घर्ष गरे । ठूलो बलिदानी पछि जनताको राज शुरु भयो भनियो । तर हर्कत उस्तै छ । सरकारी रवैया उस्तै छ । न्यायका लागि भौँतारिनु परिरहेको छ ।

न्यायमा सघाउने राज्य संयन्त्र उल्टै धम्कीको भाषा बोल्छ । डर त्रास देखाउँछ, प्रमाण नष्ट गर्छ र भन्छ, ‘हामी अपराधीको नजिक पुगेका छौं ।’ लोकतन्त्रमा यो विषय गम्भीर बनेको छ ।

बाल दिवस, तीज र निर्मला हत्या काण्ड
यहीबेला तीज आयो, गयो । राष्ट्रिय बाल दिवस पनि आयो, गयो । बाल दिवस २०६२ सालसम्म भदौ ४ गते मनाइन्थ्यो । त्यसयता लोकतन्त्र आएर होला भदौ २९ गते मनाउन थालियो । २०२२ सालबाट तत्कालीन महारानी रत्नको जन्मदिनको अवसर पारेर भदौ ४ गते बाल दिवस मनाउन थालिएको थियो । तर ०६३ सालमा राजतन्त्र अन्त्य भएपछि भने नेपालले बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गरेको दिनलाई नै बाल दिवसका रूपमा मनाउन थालिएको हो ।

तीजको भने आफ्नै परम्परा छ । यी दुवै पर्वले महिला तथा बालबालिकाहरू आकर्षित हुन्छन् । उसबेला सामन्तवादी राज्यसत्ताको उत्पीडनमा परेका महिलाहरूले तीजमार्फत् आफ्ना बह पोख्ने गरेका थिए । आज पूँजीवादी व्यवस्थाले मान्छेलाई वस्तुका रूपमा नचाइरहेको छ । तीजमा धेरै नेपाली महिलाहरू नाचे, गाए, उफ्रिए । आँगनमा, बार्दलीमा, कोठामा, बजारमा, सडकमा, जताततै तीजको लहर थियो ।

ठीक यही बेला निर्मलाका हत्यारालाई कारवाही र निर्मलालाई न्यायको माग गर्दै सुदुरपश्चिमको गरीब परिवार राजधानीमा आँशु पिएर बसिरहेको छ । तीजको लहरले सबै चेलीबेटीलाई छोपेका बेला निर्मलाकी आमाले गहभर आँशु पार्दै भनिन्, ‘चाडपर्वमा कत्ति धेरै रमाउँथी मेरी छोरी ।’

गरीबका आँशुले बगाउला
निर्मलाका बाबु यज्ञबहादुर र आमा दुर्गादेवी यतिबेला न्याय माग्दै राजधानीमा छन् । न्यायका लागि रुँदै भौतारिनु उनीहरूको दिनचर्या भएको छ । सर्वोच्च अदालत र सिंहदरबार वरिपरी दिनभर रुँदै न्याय खोजिरहेका छन् । सर्वोच्च अदालत न्यायको आस्था हो । सिंहदरबार जनतालाई सुख दिने, योजना बनाउने र कार्यान्वयन गर्ने ठाउँ हो । यसो भनेर त्यहाँ बस्नेहरूले नै भनेका हुन् । तर पन्त परिवार दिउँसै बत्ती बालेर न्याय खोजिरहेको उनीहरू किन थाहा पाउँदैनन् ?

जनताको काम गर्न गएकाहरू आफ्ना जनता यसरी रुँदै हिँड्दा किन सिंहदरबारको आँखा र कान दुवै बन्द छन् ? सरकार, यो आँशु राज्य संयन्त्रको दुरुपयोग गरेर निमोठेका, निचोरेका गरीब, निमुखाहरूको आँशु हो । निमुखा र गरीबका आँशुले सत्ता बगाएको इतिहास छ ।

यो त्यो क्षेत्रको कहर हो जहाँ क्रान्तिकारी किसान विद्रोहका नायक भीमदत्त पन्तहरूको गौरवपूर्ण इतिहास छ । तत्कालीन सत्ताले किसान विद्रोह दबाउन उनको टाउको काटेर बजार परिक्रमा गराएको थियो । त्यसपछि सार्वजनिक ठाउँमा झुन्ड्याइयो । ताकि सत्ताका विरुद्ध अब उप्रान्त कसैले चुँसम्म बोल्न नसकोस् ।

वीभत्स दृश्य देखाएर त्रास र आतङ्क फैलाइयो । तर, आतङ्कको राज टिकेन । भीमदत्तहरूको त्यो बलिदानीले तत्कालीन सत्तामात्र होइन सत्ताका आडमा सिर्जना गरिएका महाराजका ‘इमारत’हरू पनि ढले र महेन्द्रनगर आज भीमदत्त नगरको नाममा स्थापित भएको छ ।

हो, तिनै महान् शहीदको नाममा स्थापित यो नगरमा राज्यसत्ताको बरबरता फेरि देखिएको छ । नागरिकहरूका आँखामा आतङ्क र दुःख छ । सरकारी षड्यन्त्रको त्रास जताततै छरिएको छ । दिनदिनै नयाँनयाँ प्रपञ्च बुनिँदैछ । हत्यारा पत्ता लगाउन होइन, हत्या दबाउन षड्यन्त्रै षड्यन्त्र भइरहेको छ । नागरिक सधँै रुँदै हिँड्नुपर्ने भएको छ । आँशुको मात्रा बढ्दै गयो भने आँशुको भेलमा यो सरकार बग्ने छ ।

सरकारी चरित्र
निर्मला हत्या प्रकरणमा दैनिकजसो नयाँ र रोचक कुरा बाहिर आइरहेका छन् । प्रमाण जुटाएर अपराधीलाई नियन्त्रणमा लिनुपर्ने सामान्य कुराभन्दा फरक तरिका प्रशासनले अपनाइरहेको छ । पहिला मान्छेलाई नियन्त्रणमा लिएर प्रमाण नष्ट गर्नतिर सरकारको ध्यान गइरहेको छ ।

अपराधी पक्रने भन्दा पनि कसरी अपराधीलाई सुरक्षित गर्न सकिन्छ भन्ने ध्याउन्नमा सरकार लागेको देखिन्छ । यस्तो प्रपञ्च गर्ने सरकारको आवरण भने लोकतान्त्रिक छ र आदर्शमा छ समाजवाद ।
यस बेला विगतका केही घटनाहरू स्मरण गर्न योग्य लाग्छन् ।

घटना १ः नमिता, सुनिता हत्याकाण्ड २०३८
यो हत्याकाण्ड पञ्चायतकालीन हो । पुरानो पुस्ताले बिर्सन नसकेको नयाँ पुस्ताले बिर्सँदै गएको यो घटना आज पनि रहस्यमै छ । काठमाडौंबाट पोखरा घुम्न भनी गएका नमिता भण्डारी, सुनिता भण्डारी र नीरा पराजुली एकाएक हराए । वैशाख २९ गते नमिताको र असार ६ गते सुनिताको लाश सेती नदीको बगरमा भेटियो । नीरा पराजुली के भइन् आजसम्म पत्तो छैन ।
केही दिनपछि वनपालेको लाश भेटियो । स्थिति जटिल र भयावह बन्दै गयो । स्थानीय प्रशासन हत्यारा पत्ता लगाउनभन्दा पनि आतङ्क बढाउन बढी सक्रिय भयो । पोखरा शहरको स्थिति अस्तव्यस्त भयो । सर्वसाधारण, महिला तथा कमजोरहरू डरले घरमै बस्न थाले । यस्तो स्थितिमा तत्कालीन सरकारले त्यहाँ भइरहेका उच्चस्तरका अधिकारीहरूलाई सरुवा गर्ने निर्णय ग¥यो ।
त्यसपछि यो घटनाले राष्ट्रिय रूप लियो । धेरै चर्चा भयो तर अपराधी पत्ता लागेन । यो हत्या प्रकरणमा राज्यले प्रदर्शन गरेको चरित्रलाई ‘फासिस्ट’ भनियो र खुब विरोध भयो ।

घटना २ः मैना सुनुवार हत्या प्रकरण २०६०

 

यो प्रजातन्त्रकालीन घटना हो । सशस्त्र द्वन्द्वकालमा भएको एक गैरन्यायिक हत्याका रूपमा यसलाई लिइन्छ । काभ्रेपलाञ्चोक खरेलथोकस्थित भगवती माध्यमिक विद्यालयको ९ कक्षामा अध्ययनरत १५ वर्षीया मैना सुनुवारलाई तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरी चरम यातनापछि हत्या गरेको थियो ।
पक्राउ परेको ४ दिनपछि २०६० फागुन ५ गते सैनिक ब्यारेकमा चरम यातनापछि हत्या भएको अनुसन्धानबाट खुल्यो । यो घटनालाई पनि राज्य संयन्त्रले करिब १४ वर्षसम्म ढाकछोप गर्ने प्रयास ग¥यो । राष्ट्रिय अन्र्राष्ट्रिय दबाब झेल्न नसकेपछि निष्कर्षमा पुग्नुपर्ने भयो । २०७४ मा आएर फैसलाका लागि फैसला गरेर मुद्दालाई किनारा लगाउने काम भयो । जन्मकैदका नाममा ५ वर्षमै छुट्न सक्ने गरी मुख्य दोषी बनाउने योजना सहित फैसला आएको भन्दै मैनाकी आमा देवी सुनुवारले दुःख व्यक्त गरिन् ।

घटना ३ः निर्मला हत्या प्रकरण २०७५

 

गत साउन १० गते १३ वर्षीया निर्मला पन्त खाना खाएर घरबाट बिहान ११ बजेतिर साथीको घरमा सँगै पढ्नको लागि निस्किएकी थिइन् । साथीको घर उनको घरभन्दा करिब २ किलोमिटरको दूरीमा पर्छ । उनी साथीको घर साइकलमा गएकी थिइन् । साथीको भनाइअनुसार करिब ३ घण्टा पछि उनी घर फर्किइन् । साथीको घरबाट फर्किए पनि निर्मला आफ्नो घर पुगिनन् । भोलिपल्ट नजिकैको उखुबारीमा उनको शव फेला प¥यो । पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको देखियो ।

घटना भएको २४ दिनपछि प्रहरीले निर्मलाको हत्यामा संलग्न अभियुक्त भन्दै गाउँकै ४१ वर्षीय दिलीपसिंह बिष्टलाई सार्वजनिक ग¥यो । मानसिक सन्तुलन गुमेका ती व्यक्तिले बलात्कारपछि निर्मलाको हत्या गरेको हो भनेर स्थानीय बासिन्दाले पत्याउँदै पत्याएनन् । र, आजसम्म पनि वास्तविक दोषी पत्ता लागेका छैनन् ।

पछि फेरि अर्को एक जनालाई अभियुक्त भन्दै पक्राउ गरेको छ । घटना दिनदिनै रहस्यात्मक बन्दै गइरहेको छ ।
उल्लेखित घटनाहरू प्रतिनिधि घटनामात्र हुन् । यी तिनै वटा घटनाका केही समानताहरू छन् । तीन वटै घटनामा बालिका र किशोरीहरूको हत्या भएको छ । तीन वटै घटनाका मुख्य दोषीको खोजी भएको छ । तीन वटै घटनामा राज्य संयन्त्रको दुरुपयोग भएको छ । घटना भएपछि घटनास्थल आतङ्कित बनेको छ । आतङ्कको कारक राज्य संयन्त्र नै बनेको छ । तीन वटै घटनाको प्रकृति उस्तै छ । फरक यत्ति हो यी तीन वटा घटना तीन खाले राज्य व्यवस्थाका बेला भएका छन् ।

पहिलो घटना पञ्चायतकालीन कालरात्रीको थियो । त्यही भएर होला त्यो अँध्यारोमै हरायो । यो राज्यसत्तालाई ‘फासिस्ट’ भनियो । दोस्रो, प्रजातन्त्रकालीन थियो । लामो समय लागे पनि न्याय दिएजस्तो गरियो ।

द्वन्द्वको बेला घटना भएको थियो । यस्तो बेला केही तलबेतल भयो होला भन्दै ‘सङ्क्रमणकालीन व्यवस्थाका नाममा ढाकछोप गर्ने कोशिस भयो । पछिल्लो घटना राजनीतिक सङ्घर्ष सकिएर गणतन्त्र आएको युगमा भएको छ । जनअधिकारका लागि राजनीतिक परिवर्तनका लागि उत्तरअवस्था भनिन्छ होला यसलाई । घटना भएको ५३ दिन बितिसक्यो । दोषीको अत्तोपत्तो छैन । यस्तो अवस्थाको राज्य व्यवस्थालाई चाहिँ के भन्ने हो सरकार ?

सरकारको चरित्र यो घटनाले उदाङ्गो पारिदेला कि भन्ने डर हुन थालेको छ । यो बेला सरकारले आफूलाई लोककल्याणकारी र जनउत्तरदायी सरकारका रूपमा स्थापित गर्न सक्नुपर्छ । जनताको अभिभावकका रूपमा आफूलाई खरो उतार्नुपर्छ । समाजवादका लागि सबैभन्दा अनुकूल मानिएको यो सरकारले यस्ता घटनामा बहानाबाजी खोज्ने, सत्ताको दुरुपयोग गर्ने र राज्य सत्ताको चरित्र सधैं दमनकारी नै हुन्छ भनेजसरी आफ्नो चरित्र प्रदर्शन गर्ने हो भने जनताले यसको पनि विकल्प खोज्ने छन् ।

यो सरकार कसको हो ?
जनतालाई दुःख परेका बेला, अन्याय र अत्याचार भएका बेला, निमुखा र गरीब जनताले आफ्नो अभिभावकका रूपमा सरकारको उपस्थिति महशुस गर्न पाऊन् भनेर नै लोकतन्त्र या गणतन्त्र जे भने पनि ल्याइएका हुन् । अनि यो यस्तो बेलामा भएको हत्या प्रकरण हो । जुन बेला गरीब, निमुखाहरूका दिन आउने छन्, कसैले कसैलाई उचनीचको व्यवहार गर्नुपर्ने छैन भनिएकाको सरकार भएको बेला भएको छ । सबै सधैँका लागि बराबरी हुनेछन् । राज्य गरीब निमुखाहरूको हुनेछ भन्दै राजनीति गरेकाहरूको सरकार भएको बेला घटना भएको छ । अझ भनौं समाजवादी राज्य व्यवस्था ल्याउँछौं भनेर बलिदान गरेका कम्युनिष्टहरूको बहुमतको सरकार भएको बेला हो ।

यस्तो बेला निर्मलाले न्याय पाउँदिनन्, उनका बाबुआमा न्यायका लागि घरखेत बेचेर राजधानी बस्नुपर्ने हुन्छ, न्याय पाऊँ हजुर भन्दा प्रहरी प्रशासनका अधिकारीले ज्यान मार्ने धम्की दिन्छन् भने यो कस्तो राज्य व्यवस्था हो ? यो कसको सरकार हो ?
तिमीले भन्ने गरेको सुखी नेपाली समृद्ध नेपालको सपना झुटको पुलिन्दा मात्र हो त सरकार ? तिमीले देखेको समृद्धिको सपना भित्र निर्मला पन्तहरूको सुरक्षा छ कि छैन ? तिम्रो समृद्धिका सपनाहरू देश र जनताकै लागि हुन् भने न्याय मर्न नदेऊ । तिमीबाट नै न्याय पाउँछु भनेर भर गरेकाहरूले तिम्रो विकल्प खोज्नु नपरोस् । यसैमा सरकारको र लोकतन्त्रको हित निहित छ ।   स्रोत ः प्रदेश पोर्टल

 

प्रतिकृया दिनुहोस
SITENAME

नेकपा छ, र छैन पनि !

नेकपा छ, र छैन पनि ! मंसिर १५ गते । अहिले नेकपाको सरकार छ, तर नेकपा भन्ने दलचाहिँ कहीं–कतै हराएजस्तो अवस्थामा छ । अघिल्लो वर्षको निर्वाचनमा वाम

SITENAME

जाडोमा दमको जोखिम

जाडोमा दमको जोखिम मंसिर ११ गते ।  नेपालमा दमका बिरामीको संख्या बढ्दो छ । तुलनात्मक रूपमा जाडो मौसममा दमका बिरामी अत्यधिक बढिरहेका छन् । दम धेरै

SITENAME

दण्डहीनतालाई प्रश्रय

दण्डहीनतालाई प्रश्रय मंसिर ६ गते । सरकार र तत्कालीन नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुरा भएको छ । १२ वर्षमा के भयो ? के भएन ?