ताजा खबर

विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब, विद्युत चुहावट २० प्रतिशतमा झर्‍यो

RadioTaplajung

विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब, विद्युत चुहावट २० प्रतिशतमा झर्‍यो
 साउन २९ गते । नेपाल विद्युत प्राधिकरण गत आर्थिक वर्ष २०७४/०७५ मा पनि खुद नाफा कमाउन सफल भएको छ। प्राधिकरणले गत आर्थिक वर्षमा एक अर्ब एक करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपण गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अन्तिम लेखापरीक्षण सम्पन्न भएपछि अहिले प्रक्षेपित वार्षिक खुद नाफा अझै बढ्न सक्ने बताए। गत आवमा प्राधिकरणको संचालन मुनाफा सात अर्ब ८६ करोड रुपैयाँ छ। यसमा अन्य वित्तीय खर्चहरू कटौती गरेपछि खुद मुनाफा आउँछ। विद्युत चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकहरूसँगको विद्युतको औसत खरिद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्य, वित्तीय पुनर्संरचनाको प्रभावकारी कार्यान्वयलगायतबाट प्राधिकरण खुद नाफामा जान सफल भएको हो। चुहावट नियन्त्रणबाट प्राधिकरणलाई झण्डै चार अर्ब रुपैयाँ थप आम्दानी भएको छ। गत वार्षिक उत्सवमा आव २०७३/०७४ को प्राधिकरणको खुद नोक्सानी ९७ करोड ८९ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएकोमा अन्तिम लेखापरीक्षणपछि खुद नाफा एक अर्ब ५१ करोड रुपैयाँ देखिएको थियो। प्राधिकरणको संचित नोक्सानी अझै २८ अर्ब १२ करोड रुपैयाँ रहेको छ। ‘प्राधिकरणको गत आवको वार्षिक बजेटमा खुद नोक्सानी करिब दुई अर्ब ५० करोड रुपैयाँ हुने प्रक्षेपण गरेका थियौँ तर प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट संस्थालाई नाफामा लैजान सफल भएका छौँ’, कार्यकारी निर्देशक घिसिङले भने, ुमैले जिम्मेवारी सम्हाल्दा संस्था आठ अर्ब ८९ करोड रुपैयाँ वार्षिक घाटामा थियो। प्रधानमन्त्री, ऊर्जामन्त्री, ऊर्जा सचिव, संचालक समितिसहित नेपाल सरकारका विभिन्न निकाय, आमउपभोक्ता, प्राधिकरणका कर्मचारीलगायत सबैको निरन्तर सहयोगबाट गत वर्ष पनि संस्था नाफामा गएको हो तर हामीले सोचेजति सफलता हासिल गर्न भने अझै सकिरहेको अवस्था छैन।’ उनले चालू आर्थिक वर्षमा प्राधिकरण आफैँले निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानी तेस्रो, ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ुएु र सहायक कम्पनीमार्फत् निर्माण भइरहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले विद्युत उत्पादन थाल्ने भएकाले प्राधिकरणको आम्दानी झनै बढ्ने बताए। ‘ती आयोजना आएपछि हामीले सहायक कम्पनीमार्फत् निर्माण गर्ने जलविद्युत आयोजनामा लगानीका लागि सरकारमाथि भर पर्नुपर्दैन, प्राधिकरण आफैँले लगानी गर्न सक्छ’, घिसिङले थपे। प्राधिकरणले जलविद्युत आयोजना सहायक कम्पनीमार्फत् निर्माण गर्ने निर्णय यसअघि नै गरिसकेको छ। प्राधिकरणले आव २०७३/०७४ मा विद्युत बिक्री र व्याजलगायतबाट ५१ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेकोमा आव २०७४/०७५ मा यसलाई बढाएर ६० अर्ब ४८ करोड रुपैयाँ पुर्‍याएको छ। लोडसेडिङ अन्त्य र आफ्नो स्वामित्वमा रहेका विद्युतगृहको कुशलतापूर्वक संचालनले प्राधिकरणको आम्दानी बढेकोे हो। लोडसेडिङ अन्त्य हुँदा शहरी क्षेत्रका ठूला ग्राहक तथा व्यापारिक र औद्योगिक ग्राहकतर्फको आम्दानी बढेको छ। ‘हामीले संचालन गरेको उज्यालो नेपाल अभियानबाट उपभोक्ताले उज्यालो मात्रै पाएका छैनन्, कहीँ केही हुँदैन भन्ने समाजमा व्याप्त निराशालाई समेत चिर्दै केही हदसम्म आशाको संचार गराएको छ। नियमित विद्युत आपूर्ति हुन थालेपछि मुलकको अर्थतन्त्र नै चलायमान भएको छ’, घिसिङले भने, ‘प्राधिकरण सबल र सक्षम संस्था बन्दै गएको छ। अब लोडसेडिङ अन्त्य भइसकेकाले संस्थाले प्रवाह गर्ने सेवा सुधारमा ध्यान केन्द्रित गरिरहेका छौँ।’ भारतबाट विद्युत आयातमा लिइएको विवेकपूर्ण रणनीतिक नीतिका कारण ढल्केवरबाट खरिद गरिएको विद्युतको महसुल केही वृद्धि भए तापनि आयातीत विद्युतको औसत खरिद दर भने बढेको छैन। आव २०७४/०७५ को विद्युत औसत आयात दर सात रुपैयाँ ४७ पैसा रहेको छ। प्राधिकरणको उपभोक्ता औसत महसुल दर प्रति युनिट १० रुपैयाँ चार पैसा छ। गत आवमा दुई अर्ब ५८ करोड युनिट विद्युत आयात भएको थियो। आव २०७३/०७४ मा दुई अर्ब १७ करोड युनिट आयात गरिएको थियो। ‘भारतबाट आयात हुनेमध्ये करिब ७० प्रतिशत हिउँदको विद्युत माग व्यवस्थापनका लागि आपूर्ति हुन्छ, जसको खरिद दर हामीले नेपालका निजी ऊर्जा उत्पादकलाई हिउँदका लागि दिँदै आएको प्रति युनिट आठ रुपैयाँ ४० पैसाभन्दा कम छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘आन्तरिक उत्पादनमा आत्मनिर्भर नभएसम्मका लागि हाम्रो विद्युत माग र आपूर्तिको व्यवस्थापन गर्न तत्काल योबाहेक अरू विकल्प नै छैन।’ जलवायु परिवर्तनका कारण गत आवमा खोला तथा नदीनालामा पानीको वहाव घट्दा प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युतगृहबाट गत वर्ष करिब २० प्रतिशत उत्पादन घट्दासमेत विद्युत आपूर्ति भने बढेको छ। ३० मेगावाटको चमेलिया जलविद्युत आयोजना संचालनमा आएका कारण विद्युत आपूर्ति बढेको हो। गत आवमा ७० मेगावाटको मध्य मर्स्याङ्दी विद्युतगृह मर्मत सम्भारका लागि पाँच दिन र आवको अन्त्यतिर कुलेखानी दोस्रोको एउटा युनिट ९१६ मेगावाट०मा समस्या आउँदा उत्पादन बन्द भएको थियो। कुलेखानी पहिलोको पनि एउटा युनिट ९३० मेगावाट० मात्रै चलाइएको थियो। यसले गर्दा कुलेखानी पहिलो र दोस्रोको ४६ मेगावाट विद्युत प्राणालीबाट बिच्छेद भएको थियो। त्रिशूलीको विद्युतगृहमा आगो लाग्दा उक्त केन्द्र र देवीघाटबाट विद्युत उत्पादन करिव २० दिन बन्द भएको थियो। यस्ता समस्या र चुनौतीका बाबजुद पनि प्राधिकरणले उपभोक्तालाई लोडसेडिङ गरेको थिएन। विद्युत चुहावट इतिहासमै कम विद्युत प्राधिकरण गत आवमा विद्युत चुहावट नियन्त्रणको लक्ष्य पूरा गर्न सफल भएको छ। प्राधिकरणले गत आवमा प्रणालीमा रहेको २२.९० प्रतिशत विद्युत चुहावटलाई २०।५० प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो। गत आवमा विद्युत चुहावट २०.४५ प्रतिशतमा सीमित भएको छ, जुन प्राधिकरणको इतिहासमा सबैभन्दा कम चुहावट हो। यसमध्ये प्रसारण र वितरण प्रणालीमा भएको चुहावट क्रमशः करिव ५.५ प्रतिशत र करिव १४.५ प्रतिशत रहेको छ। चालू आवमा विद्युत चुहावटलाई १८।५ प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ। ‘तर हाम्रो कोसिस १५ प्रतिशतमा कायम गर्ने रहनेछ’, घिसिङले भने। चुहावट नियन्त्रणका लागि प्राधिकरणले चोरी नियन्त्रण गर्ने, महसुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर वितरण, लाइन तथा सबस्टेसनको सुदृढीकरणलगायतका काम अभियानकै रूपमा चलाइरहेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले विद्युत चुहावट घटाउने, संस्थाभित्रको आर्थिक तथा प्रशासनिक बेथिति नियन्त्रण गरी सुशासन कायम गर्ने, सेवा प्रवाहलाई सुधार गर्नेलगायतका निर्देशन प्राधिकरणलाई दिएका छन्।स्रोतःथाहा खबर

प्रतिकृया दिनुहोस
RadioTaplajung

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा

माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ ।  मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन

RadioTaplajung

अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु

रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ ।   कम्पनीले पाँचथर

RadioTaplajung

शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,