ताजा खबर

व्यापार नउक्से पनि फिल्म धमाधम,२८ रिलिज, ० सफलता

RadioTaplajung

व्यापार नउक्से पनि फिल्म धमाधम,२८ रिलिज, ० सफलता
साउन २४ गते । २०७५ को पहिलो चौमासिक सकिन एक साता मात्रै बाँकी छँदा नेपाली फिल्मको व्यापारिक अवस्था भने दयनीय नै देखिएको छ । वैशाख ७ मा ‘स्वर्ग मेरो गाउँ’ फिल्मले वर्षको ओपनिङ गरे पनि व्यापार भने स्वर्णिम हुन सकेन ।
साउनको तेस्रो साता ‘कायरा’ र ‘झमकबहादुर’ सम्म हेर्दा १६ साताभित्र २८ नेपाली फिल्म रिलिज भए । तिनमा पनि २१ फिल्म नराम्ररी असफल भए । बाँकी फिल्मले केही हदसम्म दर्शकलाई हलसम्म त तान्न खोजे, तर व्यावसायिक सफलता भने पाउनै सकेनन् ।

वैशाख दोस्रो साता विशाल भण्डारी निर्देशित ‘कोहलपुर एक्सप्रेस’ रिलिज भयो । केकी अधिकारी निर्मितरअभिनीत भनेर त छँदै थियो, ‘सीओडब्ल्यु काउ।।।’ गीतका कारण पनि राम्रै हाइप बटुलेको उक्त फिल्मको रिलिजसँगै सम्बद्ध फिल्मकर्मीहरू मुख लुकाउन बाध्य भए ।

दर्शकलाई उक्त फिल्म बलिउडको ‘मुम्बई एक्सप्रेस’ सँग फ्रेम बाई फ्रेम मिलेको थाहा पाउन समय लागेन । फिल्मले जेनतेन दर्शक तानिरहेका बेला नक्कल गरी बनाइएको हल्लाले अन्ततस् व्यापारमा समेत असर गर्‍यो । भलै, केकीले विदेशमा समेत चलाएर लगानी धेरथोर उठाएको भए उपलब्धि नै मान्नुपर्छ, स्वदेशी बक्स अफिसले भने सुखद अनुभूति दिलाउन सकेन ।

‘कोहलपुर एक्सप्रेस’ सँगै रिलिज भएको मिलन चाम्स निर्देशित ‘ह्याप्पी डेज’ ले पनि निर्माताका लागि नामअनुसारको परिणाम दिलाउन सकेन । दयाहाङ राई, प्रियंका कार्की जस्ता स्थापित कलाकार अनि विदेशमा खिचिएको भएर पनि फिल्मले दर्शक रिझाउन सकेन । लगत्तै तेस्रो सातामा अर्को फिल्म ‘डमरुको डन्डिबियो’ पनि हलमा थपियो । खगेन्द्र लामिछानेको लेखन तथा अभिनय रहेकैले पनि यसबाट चाहिँ ठूलो आशा राखिएको थियो । तर यसले पनि व्यापार र समीक्षा दुवैमा अपेक्षित नतिजा दिएन । वैशाख अन्तिम साता फेरि दुई फिल्म ‘लम्फू’ र ‘हिरोज’ हलमा लागे । यी सबै फिल्म लाग्नु र उत्रिनुमा तात्त्विक भिन्नता देखिएन । दर्शकले कुनै चासो नलिँदा यी फिल्मको व्यापार चौपट भयो ।

व्यापारमा ट्रयाजेडीको यो सिलसिला जेठमा पनि रोकिएन । जेठ ४ मा ‘हैरान’ ले सोलो रिलिज त पायो, तर व्यापारमा अपवाद हुन सकेन । यसअघि ‘लभ यु बाबा’ बनाएर गिनिज बुकमा विश्वकै कम उमेरको निर्देशकमा नाम दर्ता गराउन सफल सौगात विष्टले दोस्रो फिल्ममा सफलता चाख्न पाएनन्, फिल्म बनाएर हैरानी बेहोर्नुबाहेक ।

बरु जेठ दोस्रो साता आएको हरर जानराको ‘सुनकेशरी’ ले सुरुवाती व्यापारमा केही आशा जगायो । अर्पण थापाको निर्देशन र ऋचा शर्माको अभिनयको जुगलबन्दीले केही गर्ला कि भन्ने आशामा रिलिजको तेस्रो दिनदेखि नै तुषारापात भइदियो । ओपनिङ बिजनेस ठीकठाकै गरेको फिल्म आइतबारदेखि ड्रप भयो । वर्ड अफ माउथ राम्रो पाउन सकेन । त्यसको प्रत्यक्ष असर बक्स अफिस कलेक्सनमा पर्न गयो ।

व्यापारको यस्तो पृष्ठभूमिलाई बेवास्ता गरी जेठ तेस्रो साता तीन फिल्म भिडे । ‘अमेरिका बोइज’ देखि ‘हरि’ र ‘बेबी आई लभ यु’ सम्म । ‘हरि’ ले कथा वाचन शैलीमा केही नयाँपन अपनाएकाले थोरै वाहवाही बटुल्नुबाहेक अर्थोपार्जन गर्न सकेन । बाँकी दुई फिल्मको पनि अवस्था पनि सुध्रेन । न त जेठको अन्तिम शुक्रबार रिलिज भएका दुई फिल्म ‘मट्टीमाला’ र ‘चंगा’ ले नै कुनै चमत्कार देखाउन सके ।

सुरुका दुई महिनामा रिलिज भएका १३ फिल्ममध्ये एउटैले आशा जगाउन सकेन । त्यसपछि फिफा विश्वकपले एक महिना फिल्मको व्यापारलाई थप असर पार्‍यो । असार पहिलो साता ‘तिमी हुन्छौ जहाँ जहाँ’ रिलिज भयो भने तेस्रो सातासम्म ‘ए सोल्टिनी’ र ‘चोखो माया’ जस्ता कमै नाम सुनिएका फिल्म लागे । यी फिल्म कुनै उपलब्धि हासिल नगरी हलबाट बिदा भए । फुटबलको रौनक सकिने क्रमसँगै चौथो सातामा एकाएक चार फिल्म ‘बाबुकान्छा’, ‘बोबी’, ‘वीरांगना’ र ‘यो पागल मन’ रिलिज भए ।

स्टारडम र कथा सबैले हावा खाइरहेका बेला भुइँमान्छे प्रेम जोडीको वास्तविक कथा समेटेर मिलन चाम्सले बनाएको ‘बोबी’ ले भने अनपेक्षित व्यापार गर्‍यो । इनिसियल ओपनिङ सुस्त रहेको फिल्मको प्रदर्शन तेस्रो सातासम्म तन्किने गरी व्यापारमा वृद्धि भयो । चार महिनामा यही एउटा फिल्मले सर्वाधिक व्यापारको रेकर्ड बनायो । तर विदेशी भूमिमा सुटिङ गरिएकाले पनि लगानी ठूलो रहेको उक्त फिल्म स्वदेशी बजारबाटै भने सुरक्षित हुन हम्मेहम्मे नै पर्‍यो । त्यसबाहेक अन्य तीन फिल्मको नामोनिसान देखिएन ।

असफलताको सिलसिलाले साउनमा पनि निरन्तरता पाइरहेको छ । ‘भैरे’, ‘पण्डित बाजेको लौरी’ र ‘चक्कर’ ले साउनको खाता त खोले, तर पैसा भने खासै डिपोजिट गर्न सकेनन् । न दयाहाङ राई अभिनीत ‘भैरे’ ले केही गर्न सक्यो न त सेक्स कमेडी जानराको ‘पण्डित बाजेको लौरी’ ले नै सार्थकता सिद्ध गर्न सक्यो । ‘चक्कर’ त रिलिजको पहिलो दिनपछि नै थाहै नपाई हलबाट उत्रन थालिसकेको थियो ।

साउन दोस्रो साता रिलिज ‘सुकुलगुन्डा’ र ‘चिँ मुसी चिँ’ प्रति दर्शकको खासै ठूलो अपेक्षा थिएन । तीसँगै रिलिज भएको नरेशकुमार केसी निर्देशित ‘रोमियो एन्ड मुना’ ले केही गर्ला कि भन्ने थियो । यसअघि ‘रेशम फिलिली’ बाट सफलता चाखेका विनय श्रेष्ठले यस पटक सृष्टि श्रेष्ठसँगको जुगलबन्दीले ठोस काम गर्न सकेन । समीक्षात्मक र व्यापारिक हिसाबले नोटिस हुनुबाहेक ‘रोमियो एन्ड मुना’ पनि खासै सन्तोषजनक दरिएन ।

पछिल्लो साता अभिनेता आर्यन सिग्देलले आफ्नै लगानीमा साम्राज्ञी राज्यलक्ष्मी शाहसँग दर्शकलाई दिन खोजेको ‘कायरा’ को प्रेमकथा पनि सफलता उन्मुख देखिएन । औसत मात्रै रहेको उक्त फिल्मले निर्मातालाई त उकास्न सकेन नै, आर्यनको खस्कँदो करिअरलाई पनि उठाउने संकेत दिएन । ‘कायरा’ सँगै रिलिज भएको ‘झमकबहादुर’ कहाँ लाग्यो भन्ने पनि दर्शकलाई हेक्का भएन ।

चार महिना सकिन लाग्दा साउन अन्तिम साता रिलिज हुने तीन फिल्म ‘पिरिम पर्‍या छ’, ‘कहीं कतै’ र ‘टिनएज’ अपवाद होलान् त ? थाहा पाउन केही दिन कुर्नुपर्नेछ । स्रोतःई कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण