अपहरण, फिरौती माग अनि हत्या: किन बचाउन सकेन प्रहरीले ?

SITENAME

अपहरण, फिरौती माग अनि हत्या: किन बचाउन सकेन प्रहरीले ?
साउन २२ गते । बलियो सुरक्षा व्यवस्था भएको भनिएको काठमाडौंमा ११ वर्षीय बालकको अपहरणपछि हत्या भएको घटनाले राजधानीको सुरक्षा व्यवस्थामाथि प्रश्नचिन्ह खडा गरिदिएको छ ।
अपहरणपछि हत्या गरिएका निशान खड्काको शव । तस्बिरः स्वरुप आचार्य
आइतबार साँझ पेप्सीकोला टाउन प्लानिङको डेराबाट अपहरणमा परेका निशान खडकालाई सोमबार मध्यान्ह १२ बजेतिर मात्रै प्रहरीले मृत अवस्थामा फेला पार्‍यो । जबकि आईतबार राती नौ बजे अपहरणकारीले निशानकी आमा चमेलीलाई फोन गर्दै छोरा अपहरणमा परेको भन्दै ४० लाख रुपैयाँ फिरौती मागेका थिए । त्यसलगत्तै परिवार प्रहरीको सम्पर्कमा पुगेको थियो ।

समयमै प्रहरीले सूचना पाए पनि अपहरणकारीको पञ्जाबाट निशानलाई किन मुक्त गराउन सकेन रु
निशानको डेराबाट उनको हत्या भएको स्थान मुस्किलले केही किलोमिटरको दुरीमा पर्छ । मान्छेको चहलपहल हुने र बाक्लो बसोबास रहेको क्षेत्रमा लगेर अपहरणकारीले निशानलाई लुकाएको र फिरौती पनि असुल्न नसकिने, घटना पनि सार्वजनिक हुने डरले हत्या गरिएको देखिन्छ । सूचना पाएको १५ घन्टापछि मात्रै प्रहरीले बालकलाई मध्यपुर थिमीको नगदेशस्थित श्याम लवटको घर निर्माणका लागि खनेको जगको खाल्डोमा मृत फेला पारेको थियो ।

अदालतबाट अनुमति लिएरमात्रै फोन कल लोकेसन हेर्न मिल्ने नीतिगत व्यवस्था भए पनि प्रहरीले आपतकालिन अवस्था भन्दै राती ११ नबज्दै अपहरणकारीको लोकेसन टेलीकम स्रोतबाट लिइसकेको थियो । अपहरणकारीको लोकेशन मध्यपुर थिमी देखिएलत्तै प्रहरी टोली उक्त क्षेत्रमा परिचालित भएको थियो । अपहरणकारीको खोजतलासमा समयमै प्रहरी परिचालन भए पनि प्रहरी परिसर काठमाडौं र महानगरिय प्रहरी अपराध महाशाखाबीच उचित समन्वय हुन नसक्दा खोजी भने प्रभावकारी बनेको थिएन ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार महाशाखाले आफूले पाएको सुचना आफैसँग राख्ने र परिसरले पनि आफूले पाएको सुचना महाशाखालाई शेयर गर्ने गरेको देखिएन । सकेसम्म आफ्नो टोलीले अपहरणकारी पत्ता लगाउने प्रतिस्पर्धाले अनुसन्धान कमजोर देखिएको केही प्रहरी अधिकारीले अनौपचारिक कुराकानीमा बताए । जस्तो कि प्रहरी परिसर काठमाडौं र प्रहरी परिसर भक्तपुरबाट झण्डै दुई सयको संख्यामा प्रहरी परिचालन भएका थिए ।

महाशाखाले भने पाँचरपाँच जनाको चार टोली परिचालन गरेको थियो । सामान्यतया अपहरणको घटनामा अपहरणकारीलाई प्रहरीको गतिविधिबारे थाहा नदिन कोभर्ट ९प्रहरीले भेस बदलेर गोप्य रूपमा गर्ने० अप्रेसन गर्ने गरिन्छ । तर आइतबारको अपहरणको घटनामा परिसर र महाशाखा दुवैले आफू मातहतमा व्यापक प्रहरी परिचालन गरेको थियो । प्रहरीका एक उच्च अधिकारीले प्रहरी संगठनभित्रको आन्तरिक प्रतिस्पर्धा र सुचना साटासाटको प्रणाली नहुँदा अप्रेसन प्रभावकारी नभएको बताए ।

महानगरिय प्रहरी अपराध महाशाखाका प्रमुख धिरजप्रताप सिंहलाई हामीले सोध्यौं, ‘अखिर किन प्रहरीले निशानलाई बचाउन सकेन रु’ एसएसपी सिंहको अनुभवमा पेशेवर अपहरणकारीभन्दा आफन्त र चिनेजानेकाबाट हुने अपहरणको घटनामा अपहरितको हत्या गरिने सम्भावना अधिक हुन्छ । ‘अपहरितले अपहरणकारीलाई चिनेको हुनाले घटना सार्वजनिक हुने डरले हत्या गर्ने गरेको देखिन्छ’, उनले भने, ‘परिचतबाट हुने अपहरणका अधिकांश घटनामा अपहरितलाई बचाउन सकिन्न ।’

गत माघ २१ मा सर्वोच्च अदालतले एक मुद्दाको फैसलाका क्रममा गोपनियताको हक संरक्षणका निम्ति भन्दै अदालतको अनुमतिबिना टेलीफोनको कल डिटेल हेर्न नपाइने आदेश दिएको छ । उक्त फैसला अघि प्रहरी कार्यालयको आधिकारिक इमेल वा पत्रकै आधारमा टेलिफोन सेवा प्रदायक कम्पनीले सम्बन्धित टेलिफोनको कल रेकर्ड र लोकेशन उपलब्ध गराउँथ्यो ।

न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा प्रहरीले अनधिकृत ब्यक्तीको कल डिटेल हेरेको सुचना चुहिएपछि प्रहरीले अनुसन्धान भन्दै निजी प्रयोजनमा समेत कल डिटेल हेर्ने गरेको तथ्य सतहमा आएको थियो । अदालती अनुमती पछि मात्रै लोकेशनलगायतका सुचना लिदा घटनामा संग्लनहरु फरार हुने र प्रमाण नस्ट हुने भन्दै प्रहरीले अनौपचारिक सम्पर्क सूत्रमार्फत लोकेशन लिने गरेको देखिन्छ । अघिल्लो दिनै लोकेशन लिने र भोलीपल्ट कागजी प्रक्रिया पुरा गर्ने प्रचलन प्रहरीमा सामान्य हो ।

यसरी भयो हत्या
पेशाले पेन्टरको काम गर्ने गोपाल तामाङ र अजय तामाङ निशानकी आमा चमेलीले चलाएको रेस्टुरामा लामो समयदेखिका नियमित ग्राहक थिए । नियमित आउजाउमा यी दुवैले निशानलाई चिनेका मात्रै थिएनन चमेलीको श्रीमानले विदेशबाट नियमित पैसा पठाउने कुरा पनि थाहा पाएका थिए । अनुसन्धानमा संग्लन एक प्रहरीका अनुसार श्रीमानले पठाएको पैसा जम्मा पारेको थाहा पाएरै उनीहरुले पैसा धुत्न अपहरण गरेको देखिन्छ ।

सधै होटलमा आउने, खाने र कहिलेकाही बस्नेसमेत भएकाले निशान सजिलै अपहरणकारीको पछि लागेर गएको प्रहरी अनुसन्धानमा देखिन्छ । अपहरणकारीले निशानलाई नगदेशस्थित आफू बस्ने डेरामा लगे र उनकै अघि चमेलीसँग फोन गरेर फिरौती मागेका थिए । प्रहरी स्रोतका अनुसार अपहरणकारीको मोबाइल ८ बजेर ५७ मिनेटमा बन्द भएको थियो । उनीहरुले पुरानो सिम निकालेर नयाँ सिमबाट निशानको आमासँग कुरा गरेपछि फेरि फोनबाट नयाँ सिम निकालेका थिए । फिरौती मागेको थाहा पाएपछि आत्तिएर कराउन थाले पछि उनीहरुले कोठामै निशानको हत्या गरेको प्रहरीको भनाइ छ । हत्यालगत्तै डेरा नजिकै खनेको घरको जगमा उनीहरुले निशानको शवलाई हालेको देखिन्छ । अनुसन्धानमा संग्लन प्रहरीका अनुसार निशानको हत्या राती १२ बजे अगाडि नै गरेजस्तो देखिएको छ । हत्यापछि शव व्यवस्थापन गरेर अपहरणकारी सोही कोठामा बसेको र बिहानमात्रै बाहिर निस्केको देखिन्छ ।

महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर काठमाडौंको टोली आ९आफ्नै शैलीमा निशानको खोजीमा जुटेको थियो । परिसर टोलीले निशानलाई धुलिखेलतिर पुर्‍याएको सुचनासमेत पाएको थियो । महाशाखाको टोली भने अपहरणकारीको लोकेशन खोज्नमा लागिपरेको देखिन्छ । निशानको शव फेला परेलगत्तै महानगरिय प्रहरी अपराध महाशाखाले अपहरणपछि बच्चाको हत्या गरेर भागेका दुई जना मुठभेडमा मारिएको विज्ञप्ती जारी गरीसकेको थियो ।

महाशाखाका एसएसपी धिरजप्रताप सिंहले सूर्यबिनायक नगरपालिका ८ स्थित पाइलट बाबाको आश्रम नजिकको जंगल हुँदै भागिरहेका अपहरणकारीलाई पक्राउ गर्दा भएको मुठभेडमा अपहरणकारी मारिएको दाबी गरे । महाशाखाका अनुसार मारिनेमा नुवाकोट समरी स्थायी घर भएका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपाल्चोक कर्थलीका २३ बर्षीय अजय तामाङ छन् । प्रहरीले उनीहरुको साथबाट एक थान पेस्तोल, दुई थान गोली र अपहरणमा धम्क्याउन प्रयोग भएको सिम बरामद गरेको जनाएको छ । तर प्रहरीले अपहरणकारीसँग कस्तो खालको मुठभेड भएको हो र गोली घुँडामाथि हान्नुपर्ने अवस्था कसरी निम्तिएको हो भनेर खुलाएको छैन ।

प्रहरीका अनुसार अपहरणकारीलाई प्रहरीको सात गोली लागेको छ । अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार महाशाखाको टोलीले १९ राउन्ड फायर गरेको थियो । प्रहरीले त्यतिका धेरै गोली प्रहार गर्दा पनि अपहरणकारीका तर्फबाट कुनै फायर भएको देखिन्न । एक पूर्व प्रहरी अधिकारीले घटनाको प्रकृती विश्लेषण गर्दै अपहरणकारीको इन्काउन्टर बिना नै घाईते वा सद्धे हालतमा पक्रिन सक्ने सम्भावनालाई नजरअन्दाज गरिएको बताए ।

झरीसँगै आँसुको बर्षा
खहरेस्थित हाईल्याण्ड इङलिस स्कुलको कक्षा ६ मा सोमबार निशान खडका उपस्थित थिएनन् । उनी बस्ने बेन्च खाली थियो । रातभर झरी परेकाले निशान स्कुल नआएका होलान् भन्ने उनका सहपाठीको अन्दाज थियो । तर अनुमान पनि गरेका थिएनन् साथीसंग अब कहिल्यै भेट हुदैन भनेर ।

निशानको अनुपस्थितीको कारण बुझ्न आइतबारको घटनामा पुग्नुपर्छ ।
सिन्धुपाल्चोकको मेलम्चीबाट बसाई सरेर पेप्सीकोला टाउन प्लानिङमा खाना र चिया बेच्ने सानो रेष्टुरा चलाएर दुई छोरी र कान्छो छोराको हेरचाह गरेर बसेकी थिइन्, चमेली खडका ।

उनको सानो रेष्टुरामा खाना खान कुल्लीदेखि घर निर्माणमा संग्लन मजदुर र पेन्टरसम्म आउँथे । सधै झै आईतबार निशान घर आए । आफ्नै शैलीमा फ्यात्त झोला फाले र खाजा खाएर खेल्न निस्के । ११ बर्षिय निशान साँझ झमक्कै भईसक्दा पनि फर्किएनन् । रात ढल्किदै जाँदा निशानको फिक्रीले चमेली छटपटाउन थालिन् ।

रातीको नौ बज्यो । चमेलीको मोबाईल लगातार बज्न थाल्यो । उनले मोबाईल त उठाईन् तर उताबाट बोल्नेको कुरा प्रस्ट बुझिएन । एकैछिनमा फेरी सोही नम्बरबाट फोन आयो । फोन गर्नेले धम्कीको स्वरमा सोझै भन्यो, ‘तपाईको बाबु हाम्रो कब्जामा छ ।

४० लाख लिएर आउनु । प्रहरीलाई खबर नगर्नु,’ सोमबार बिहान अपहरणकारीको खोजी भईरहेका बेला कान्तिपुरसँगको कुराकानीमा चमेलीले अघिल्लो साँझको घटना सुनाईन् । उनको स्वर रुँदारुदै थाकेर भास्सिएको थियो । ‘खै के पो हुन्छ होला,’ उनले आत्तिएको स्वरमा सोधिन, ‘के हुन्छ होला रु’
नाती अपहरण भएको खबर सुनेर नजिकै बस्ने मावली हजुरबा मिनप्रसाद सापकोटा र मामा रामकाजी सापकोटा चमेलीको डेरामै राति नै आए ।

उनीहरुले तत्काल प्रहरी परिसर टेकू पुगेर खबर गरे । प्रहरीले प्रारम्भिक अनुसन्धानपछि खोजी अगाडी बढायो । चमेली र रामकाजी प्रहरीसँगै राती १२ बजेसम्म खोजीमा जुटे । निशानको केही पत्तो नभएपछि कोठामा आए । रामकाजीले रातीको घटना सुनाउँदै भने, ‘भान्जाको चिन्तामा रातभरी कसैले झिमिक्क गरेनौं । दिदी रोईरहिन् ।’

चमेली मिनेट मिनेटको हिसाब गरेर छटपटीमा समय कटाईरहेकी थिईन । सोमबार बिहानको कुराकानीमा चमेलीले छोरा अपहरणको कुरा मलेशिया रहेका श्रीमानलाई नभनेको बताउँदै थिईन् । उनले दबेको स्वरमा भनिन, ‘कसरी पो भन्नु । थाहा पाउनुभो भने के होला रु’

दिउँसो चमेलीको डेरामा पुग्दा सिमसिम पानी परिरहेको थियो । डेरामा निशानका हजुरबा मिनप्रसाद आँखाको डिलभरी आँसु बनाएर बसिरहेका थिए । उनी केही बोल्न खोज्थे तर शब्द किलकिलेमै अडकिन्थ्यो ।

एकैछिन अघि आएर प्रहरीले चमेलीलाई लिएर गएको उनैले बताएपछि थाहा भयो । चमेलीलाई लिएर जानेबित्तिकै दर्के झरी परेको थियो । मिनको फोन किर्र९किर्र बजिरहेको थियो । उनी फोनमा अडकलेर बोलीरहेका थिए । उनी फोनमै कसैलाई सम्झाईरहेका थिए, ‘नरो त । पिर नगर भन्या ।’ यति भनेर फोन राखेपछि उनले आँखाको डिलमै आएर अडिएको आँसु हर्थुङगोले पुछे ।

हामी निस्कने बेलामा मिनले भने, ‘नाती केटोलाई केही नहोस । त्यसलाई केही भो भने त चमेली मर्छे रोएर ।’ पानी रोकिन थालेपछि हामी प्रहरीले चमेलीलाई लिएर गएको ठाउँ खोज्दै हिड्यौं । तरकारी खेतीका कारण प्रसिद्धी कमाएको भक्तपुरको नगदेशमा एउटा विहार छ । त्यसैको तल्लो पाखामा तरकारी खेती छ । वडा नम्बर ९ स्थित श्याम लवटको भर्खरै खनेको जग बरीपरी झरीको पर्वाह नगरी सयौं स्थानीय भेला भएका थिए । पानी जमेको जगको खाल्डोबाट प्रहरीहरु घोप्टो परेका निशानलाई तानेर निकाल्दै थिए ।

अर्जेन्टिनाको जर्सी लगाएका निशानको आँतमा धुकधुकी थिएन् । उनको मुखमा केही कोचीएजस्तो देखिन्थ्यो भने घाटीमा सलजस्तो कपडा कसिएको देखिन्थ्यो । भेला भएका स्थानियको मुखमा आश्चर्य र पीडामिश्रित आवाज आईरहेको थियो । छोराको मृत देह देखेपछि चमेली आकाश फाट्ला झै गरेर चिच्याईन् । उनको आँखाबाट घोप्टिएका आँसु आकाशबाट परेको पानीमा मिसिईरहेको थियो । उनलाई आफन्तले दुई पाखुरामा टेको दिएर उभ्याईरहेका थिए । तर चमेली आफूलाई धान्न सक्ने हालतमा थिईनन् ।

अपहरणको श्रृंखला
अपहरणपछि फिरौती माग गर्ने र घटना सार्वजनिक हुने डरले अपहरितको हत्या गर्ने आपराधिक प्रवृत्ति काठमाडौंमा देखिने गरेको छ । प्रहरी सक्रियता र सिसिटिभीको व्यापकताका पछि राजधानीमा अपहरणका घटना न्युन भईरहेका थिए । आर्थिक बर्ष २०७०र७१ मा अपहरण तथा शरीर बन्धकसम्बन्धी ९ घटना भएका थिए ।

काठमाडौंका निम्ती आर्थिक वर्ष २०७१र७२ अपहरणशुन्य बर्ष थियो । आर्थिक बर्ष २०७२र७३ मा अपहरणको संख्या ४ पुगेको थियो भने त्यसपछिको बर्ष अर्थात् आर्थिक बर्ष २०७३र७४ मा दुईवटा अपहरणका घटना भएका थिए । पछिल्लो आर्थिक बर्ष २०७४र७५ मा भने अपहरणको एउटा मात्रै घटना भएको देखिन्छ ।

सोमबार भएको अपहरण र हत्याको घटनाले भने प्रहरीलाई पनि झस्काइदिएको छ । अनुसन्धानमा संग्लन एक प्रहरीका अनुसार अपहरणको घटना व्यवसायिक आपराधिक समूहबाट भएको देखिन्न । जसबाट नितान्त छिटो पैसा कमाउने र धनी बन्ने सपनाबाट प्रेरित भएर अपहरण गरेको देखिन्छ । अपहरणपछि समयमै रकम नपाउने र अपहरित बच्चाले आफूहरुलाई चिन्ने भएपछि उनीहरुले हत्या गरेको हुनसक्ने अनुसन्धानमा खटिएका प्रहरीको बुझाई छ । स्रोतःई कान्तिपुर

प्रतिकृया दिनुहोस
SITENAME

निवेदन दर्ता गराउन जाँदा नागरिकलाई वडाध्यक्षको झापड

निवेदन दर्ता गराउन जाँदा नागरिकलाई वडाध्यक्षको झापड  साउन ३० गते । धनुषाको एउटा वडामा भएको विकास निर्माणको काममा अनियमितता भएको शंका लागेर

SITENAME

तीन वर्षमा चार हजार किलो सुन तस्करी

तीन वर्षमा चार हजार किलो सुन तस्करी साउन २९ गते । नेपालमा पछिल्लो तीन वर्षयता मात्रै झण्डै ४ हजार किलो सुन तस्करी भएको खुलासा भएको छ । गृहमन्त्री

SITENAME

हुम्लामा हेलिकोप्टरसँग सेल्फी खिच्न खोज्दा ज्यान गयो

हुम्लामा हेलिकोप्टरसँग सेल्फी खिच्न खोज्दा ज्यान गयो साउन २९ गते । सेल्फी खिच्ने क्रममा हेलिकोप्टरको पंखाले लागेर हुम्लामा एक भारतीय नागरिकको