ताजा खबर

गर्भपतन सेवा दुरुपयोग

SITENAME

गर्भपतन सेवा दुरुपयोग
साउन २१ गते । विराटनगरकी १५ वर्षीया किशोरीले ७ साताको गर्भपतन गराउन औषधि खाइन् । एक सातापछि पेट दुखेर उनी बेहोस भइन् । अस्पताल लगेर सोनोग्राम गर्दा थाहा भयो, उनको गर्भ गर्भनलीमा रहेछ । त्यो फुटेर आन्तरिक रक्तस्राव हुनाले ज्यानकै खतरा आइलाग्यो । धन्य, शल्यक्रिया गरिएपछि ज्यान बच्यो ।

उनीसँग शारीरिक सम्बन्ध राखेका किशोरले त्यसपछि नचिनेझैं गरे । इज्जत जाला भनेर परिवारले प्रहरीमा रिपोर्ट पनि गरेन ।

किशोर अहिले काठमाडौंमा उच्चशिक्षा पढ्दैछन् । किशोरी मानसिक रोगको औषधि खाएर घर बसेकी छन् । उनको पढाइ छुटेको छ । ‘किशोर–किशोरीलाई गर्भपतन अधिकारबारे भन्यौं, तर उनीहरूलाई आफ्नो शरीरप्रतिको जिम्मेवारी सिकाउन सकेनौं,’ ती किशोरीका स्कुल शिक्षकको टिप्पणी थियो ।

कशोर–किशोरीले राम्रो मार्गदर्शन नपाएकाले सहजै यौन सम्पर्क राख्ने र कुनै क्लिनिकमा गर्भपतन गराउने प्रवृत्ति बढेको छ । म बेला–बेला विभिन्न स्वास्थ्य चौकी र अस्पताल पुग्दा सुरक्षित गर्भपतन गर्न कति महिला आउँछन्, कस्ता चुनौती छन्, असुरक्षित गर्भपतन गर्ने महिला बिरामी भएर आउँछन् कि आउँदैनन् भनेर छलफल गर्छु । छलफलबाट थाहा हुन्छ– सुरक्षित गर्भपतन कानुन र सेवा भएपछि मृत्युदर कम भएको छ । अनिच्छित गर्भ वा बलात्कार वा हाडनाता करणीका कारण रहेको गर्भ पतन गर्न सजिलो भएको छ । यसले महिलाको स्वास्थ्यमा सुधार गरेको छ ।

नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिलाउन ३२ वर्ष अगाडि हामीले आवाज उठाउँदा प्रायस् कमैले मात्र माग पूरा हुने विश्वास गरेका थिए । यो विषयमा बोल्दा विभिन्न व्यक्तिले हामीलाई होच्याउँथे । ‘नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिलाउन आवाज उठाएर कतै गल्ती त गरिएको छैन’ भन्ने पनि लाग्थ्यो । तर सन् २००२ मा गरिएको गर्भपतनको
कानुनी मान्यता महिलाको स्वास्थ्य राम्रो पार्न महत्त्वपूर्ण कदम बन्न पुगेको छ ।

स्वास्थ्यकर्मी, स्वयंसेविका, सामाजिक कार्यकर्ता र स्कुलका शिक्षकसँग छलफल गर्दा सुरक्षित गर्भपतन सेवा प्रदान गर्न अझ धेरै काम गर्न बाँकी भएको भान भयो । शिक्षकहरू भन्ने गर्छन्– अहिलेका किशोर–किशोरी स्कुलमै प्रेम गर्न थाल्छन् र शारीरिक सम्पर्क राखिहाल्छन् । किशोरी गर्भवती भएपछि किशोर भागिहाल्छ । शारीरिक र मानसिक पीडाचाहिँ किशोरीले भोग्नुपर्छ ।

इलाममा ९ कक्षाकी १७ वर्षीया किशोरीको १८ वर्षीय किशोरसँंग यौनसम्पर्क भएपछि गर्भ रहेछ । दुबैजना झापाको निजी औषधि पसलमा पुगेर गर्भपतन गराउन खोजेछन् । अति रक्तस्राव भएर किशोरीलाई अस्पताल लानुपरेछ । किशोरले किशोरीको घरमा खबर गरिदिएछ । घरका मानिस अस्पताल नपुग्दै किशोर भारततिर भागेछ । किशोरीको ज्यानचाहिँ बच्यो । परिवारले बेइज्जत हुने डरले कसैलाई भनेन । निको भएर घर गएपछि परिवारले ती किशोरीको विवाह गराइदिएछ ।

कहिलेकाहीं सामाजिक दबाबले किशोरलाई पनि समस्या पर्ने रहेछ । एक दलित किशोर र बाहुन किशोरीको शारीरिक सम्पर्क भएपछि गर्भ बसेछ । यो थाहा पाएपछि केटीका आमाबुबाले दलित केटालाई मरणासन्न हुनेगरी पिटेछन् । परिवारलाई नै गाउँबाट निस्किन उर्दी लाएछन् । दलित परिवार बसाइँ हिँड्नुपर्‍यो । छोरीलाई चाहिँ भारतमा लगेर गर्भपतन गराएछन् ।

विभिन्न स्वास्थ्यकर्मीसँग छलफल गर्दा बारम्बार सुन्छु, ‘गर्भपतन सुरक्षित छ भन्दैमा जथाभावी, धेरैचोटी गर्भपतन गराउनु हुँदैन भन्ने ज्ञान किशोरीलाई दिन जरुरी छ ।’
सुरक्षित गर्भपतन सेवा उपलब्ध हुनुको अर्थ जहिले पनि, जति बेला पनि वा जतिचोटी पनि गर्भपतन गराउन सुरक्षित हुन्छ भन्ने गलत धारणा समाजमा फैलिरहेको देखिन्छ । हामी जस्ता स्वास्थ्य अधिकारकर्मीले आफ्नो दायित्व राम्ररी निर्वाह गर्न नसकेर पनि यस्ता धारणा निर्मूल नभएको हुनसक्छ । हामीले सुरक्षित गर्भपतन भनेर धेरै कुरा भन्यौं, तर गर्भपतन अधिकार हो, कम प्रयोग हुनुपर्छ भन्ने ज्ञान दिएनौं ।

किशोरीहरूलाई ‘आफ्नो शरीरमाथिको अधिकार’बारे बुझायौं, तर त्यो अधिकारसँंगै शरीरसंँगको कर्तव्य पनि जोडिएको छ भन्न बिर्सियौं । यौन सम्बन्ध राख्दा युवक वा किशोरले जतिसुकै वाचा गरे पनि गर्भ रहेपछि वास्ता गर्दैन । म बारम्बार किशोरी र युवतीलाई भन्ने गर्छु, ‘प्रेम गर्छु भनेर यौन सम्पर्क राख्न खोज्नेसंँग किशोरीहरू जोगिनुपर्छ । तिमीहरूलाई मानसिक र शारीरिक रोगी बनाएर उनीहरू भाग्छन् । आफ्नो शरीरको रक्षा आफै गर्नुपर्छ ।’

कति जनालाई ‘इमर्जेन्सी पिल्स’ छ, जति खाए पनि हुन्छ भन्ने लाग्दो रहेछ । आकस्मिक गर्भनिरोधक चक्की बढी प्रयोग गरे अत्यधिक रक्तस्राव हुने सम्भावना हुन्छ ।

अनुसन्धानकर्ताका अनुसार कलेजोमा संक्रमण हुने, महिलामा बाँझोपन आउने, प्रतिरोधात्मक छातीको क्यान्सर हुने जोखिम ३ गुणा बढ्छ । आकस्मिक गर्भनिरोधक चक्कीको दुरुपयोगले पार्ने असर औषधिको खोलमा लेखेर राख्ने व्यवस्था मिलाउनुपर्छ । दुरुपयोग रोक्न सरकारी तवरबाट केही काम भएको पाइँदैन । यसका फाइदाबारे मात्र प्रचार भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयले त गैरजिम्मेवार तरिकाले रोमान्टिक विज्ञापन बनाएर यौन सम्बन्ध भयो भने ‘इमर्जेन्सी पिल्स’ खाए भइहाल्छ भन्ने सन्देश प्रवाह गर्न खोजेको छ । पिल्सले के खतरा निम्त्याउँछ, किशोरीलाई कहिल्यै भनिँदैन । प्रत्येक किशोरी सतर्क हुनुपर्छ । यस्ता विज्ञापनमा विश्वास गर्नु हुँदैन । एक दिनको आवेगले जीवन बर्बाद हुन दिने कि नदिने, आफ्नै हातमा छ । स्रोतःई कान्तिपुर,लेखकःडा.अरुणा उप्रेती

प्रतिकृया दिनुहोस
SITENAME

नेकपा छ, र छैन पनि !

नेकपा छ, र छैन पनि ! मंसिर १५ गते । अहिले नेकपाको सरकार छ, तर नेकपा भन्ने दलचाहिँ कहीं–कतै हराएजस्तो अवस्थामा छ । अघिल्लो वर्षको निर्वाचनमा वाम

SITENAME

जाडोमा दमको जोखिम

जाडोमा दमको जोखिम मंसिर ११ गते ।  नेपालमा दमका बिरामीको संख्या बढ्दो छ । तुलनात्मक रूपमा जाडो मौसममा दमका बिरामी अत्यधिक बढिरहेका छन् । दम धेरै

SITENAME

दण्डहीनतालाई प्रश्रय

दण्डहीनतालाई प्रश्रय मंसिर ६ गते । सरकार र तत्कालीन नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुरा भएको छ । १२ वर्षमा के भयो ? के भएन ?