ताजा खबर

सम्बन्धनको पर्खाइमा बीएण्डसी हस्पिटल

RadioTaplajung

सम्बन्धनको पर्खाइमा बीएण्डसी हस्पिटल
 साउन १६ गते । बिर्तामोडमा चार वर्षदेखि सञ्चालित पूर्वकै सुविधासम्पन्न बीएण्डसी हस्पिटल ‘मेडिकल कलेज’को सम्बन्धन पर्खिरहेको छ ।

झापा, इलाम, पाँचथर र ताप्लेजुङका २६ लाख बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा र रोजगारी दिलाउने लक्ष्य बोकेर २०७१ साल फागुन १८ गतेदेखि बीएण्डसी मेडिकल कलेज टिचिङ एण्ड रिसर्च सेण्टर प्रालिले स्वास्थ्य सेवा शुरु गरेको हो । मेची अञ्चलको मुख्य व्यापारिक केन्द्र बिर्तामोड–५ मा बीएण्डसी हस्पिटल मेडिकल कलेजको पठनपाठन सञ्चालनका लागि मेचीनगर नगरपालिका वडा नं। ११ धाइजनमा बेसिक साइन्स भवन बनेको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका युवा नेता योगेशकुमार भट्टराई र नेपाली काँग्रेसका युवा नेता विश्वप्रकाश शर्माले हस्पिटलको संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो । युवा व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा स्थानीय लगानी र बैङ्कको कर्जा गरी रु छ अर्ब बीएण्डसी मेडिकल कलेज टिचिङ एण्ड रिसर्च सेण्टर प्रालिमा हालसम्म लगानी भइसकेको प्रालि सञ्चालक समितिका अध्यक्ष इन्दिरा गिरी बताउनुहुन्छ ।  गिरीका अनुसार मेची अञ्चलमा एउटा अत्याधुनिक सुविधासम्पन्न अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने उद्देश्य राखेर नै बीएण्डसी हस्पिटलको स्थापना गरिएको हो ।

चार वर्षको दौरानमा हस्पिटललाई पूर्वकै सबैभन्दा सुविधासम्पन्न र अत्याधुनिक प्रविधियुक्त बनाउन सकिए पनि चिकित्सा शिक्षा प्रदान गर्ने योजना भने मुलुकको राजनीतिक उतारचढाव र चिकित्सा शिक्षासम्बन्धी अस्थिर नीतिका कारण अपूरै रहेको  गिरी बताउनुभयो।

प्रा डा गोविन्द केसीसँग भएको नौबुँदे सहमतिमा काठमाडौं उपत्यका बाहिरका आशयपत्र पाएर पूर्वाधार खडा गरिसकेका अस्पताललाई मेडिकल कलेज सञ्चालन गर्न दिन सकिने उल्लेख भएपछि बीएण्डसी हस्पिटलका सञ्चालक र झापावासीले अब छिट्टै बीएण्डसीलाई मेडिकल कलेजका रूपमा देख्न पाउने आशा व्यक्त गरेका छन् ।

“हामी दुई वर्षअघिदेखि नै मेडिकल कलेज सञ्चालनका लागि तयार भएर बसेका छौँ”, बीएण्डसी मेडिकल कलेज टिचिङ एण्ड रिसर्च सेण्टर प्रालिका प्रिन्सिपल प्रा डा उमेशकुमार शर्मा भन्नुहुन्छ, “मेडिकल कलेजमा आवश्यक हुने सबै पूर्वाधार यहाँ निर्माण भइसकेको छ ।”

नेपाल मेडिकल काउन्सिलबाट खटिएको अनुगमन टोलीले बीएण्डसीको बेसिक साइन्स भवन, ल्याव, लेक्चरर क्लासरुमलगायत सबै पूर्वाधार तयार भइसकेको भनी गत वर्ष नै प्रतिवेदन बुझाइसकेको प्रा डा शर्माले जानकारी दिनुभयो  । उहाँका अनुसार सरकारबाट २०६८ माघ २४ गते मेडिकल कलेज स्थापनाका लागि आशयपत्र पाइसकेको र तोकिएका मापदण्डसमेत पूरा गरिसकेको हुँदा मेडिकल कलेज बन्न बीएण्डसी हस्पिटल पूर्णरुपले योग्य भइसकेको छ ।

स्वास्थ्य तथा जनसङ्खया मन्त्रालयबाट बीएण्डसी हस्पिटलले २०७३ साउन ९ गते ३०० शय्याको अस्पताल सञ्चालनको स्वीकृति पाइसकेको छ भने २०७१ मङ्सिर १७ गते तत्कालीन विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयबाट ९०० शय्याको मेडिकल कलेज परियोजनाका लागि वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भइसकेको छ ।

हस्पिटलका मेडिकल डाइरेक्टर डा रोहितप्रसाद यादवका अनुसार ३०० शय्याको बीएण्डसी हस्पिटलमा न्यूरो, अर्थोपेडिक्स, अर्बुदरोग, स्त्रीरोग, दन्त, नाक– कान– घाँटीलगायत २२ उपचार विभाग छन् भने ५० शय्याको आकष्मिक सेवा सञ्चालन भइरहेको छ ।

 धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दीक्षित शल्यचिकित्सक डा  यादव चिकित्सा शिक्षा प्रदान गर्न पाउने आशाले बीएण्डसीमा थुप्रै दक्ष प्राध्यापक कार्यरत रहेको बताउनुहुन्छ । “दक्ष जनशक्ति र आधुनिक प्रविधिको प्रयोग दुबै हिसाबले स्वास्थ्य सेवामा हामी पूर्वकै अब्बल छौँ”, डा यादव भन्नुहुन्छ, “सम्बन्धन पाइसकेपछि मुलुकमै सबैभन्दा राम्रो ढङ्गले हामी मेडिकल कलेजलाई सञ्चालन गरेर देखाउने छौँ ।”

निजी क्षेत्रको लगानीमा झापामा मेडिकल कलेज बनाउने परिकल्पना बिर्तामोड–५ निवासी दुर्गा प्रसाईँले गर्नुभएको हो । पूर्व माओवादी कार्यकर्ता प्रसाईँ २०६५ सालतिर महँगो मूल्याङ्कन हुने बिर्तामोडमा रहेको आफ्नो पैतृक जग्गा धितो राखेर मेडिकल कलेज निर्माणको अभियानमा होमिनुभएको थियो  ।

“झापामा मेडिकल कलेज स्थापना गर्छु भनेर शुरुका दिनमा सुनाउँदा मानिसहरू हावादारी कुरा गरेको भनेर मलाई ठट्टामा उडाउँथे”, बीएण्डसीका परिकल्पनाकार एवम् कार्यकारी निर्देशक प्रसाईँ भन्नुहुन्छ, “धनीमानीहरू त भारत र काठमाडौँ पुगेर पनि उपचारमा खर्च गर्न सक्थे तर गरीब निमुखाहरू भरपर्दो उपचार नपाएर मर्नु परिरहेको अवस्था देखेर मेरो मन रोयो, त्यसकारण मैले मेची अञ्चलवासीकै हितमा समर्पित भएर काठमाडौँ र भारतको भन्दा सुविधासम्पन्न हस्पिटल र मेडिकल कलेज झापामै खोल्छु भन्ने सङ्कल्प गरेको हुँ ।’
    
हस्पिटल सञ्चालन र मेडिकल कलेजको सम्बन्धनका लागि ठूलो सङ्घर्ष गर्नु परे पनि आखिर यो सबै मेची अञ्चलबासीको हितका लागि भएकाले आफूले व्यहोर्नु परेको हैरानी र लगानीप्रति गौरववोध नै भइरहेको उहाँ बताउनुहुन्छ ।

अहिले हस्पिटलमा ११० कन्सल्टेण्ट डाक्टरसहित ८७१ कर्मचारीले प्रत्यक्ष रोजगारी पाइरहेको प्रसाईँ बताउनुहुन्छ  । बिर्तामोड नगरपालिकाले ीएन्डसी हस्पिटलले मेडिकल कलेजको सम्बन्धन पाउनुपर्छ भनी आव २०७४÷७५ को नगरसभामै प्रस्ताव अनुमोदन गरेको नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी बताउनुहुन्छ ।

“पहिले पहिले नेपालका बिरामी भारतको सिलगढीतिर उपचारका लागि जान्थे, अहिले उताका बिरामी बीएण्डसी हस्पिटलमा धाउन थालेका छन्”, नगर प्रमुख शिवाकोटी भन्नुहुन्छ, “राज्यले तोकेका सबै शर्त र मापदण्ड पूरा गरिसकेको अवस्थामा बीएण्डसी हस्पिटललाई सम्बन्धन दिनबाट रोक्नु हुँदैन भन्ने हामी सम्पूर्ण बिर्तामोड नगरवासीको माग हो ।”  

मेडिकल कलेज बन्नका लागि आशयपत्र पाएको हुनुपर्ने, वातावरणीय प्रभाव मूल्याङ्कन गरेको हुनुपर्ने, भूकम्प प्रतिरोधी भवन निर्माण भएको हुनुपर्ने, ३०० शैय्याको सञ्चालन स्वीकृति पाएको हुनुपर्ने र अस्पतालका नाममा कम्तीमा १६ बिघा जग्गा दर्ता हुनुपर्ने सरकारी मापदण्ड छ ।

हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीका अनुसार शहरी विकास मन्त्रालयबाट हस्पिटलले २०७२ माघ ८ गते भवन ऐन २०५५, राष्ट्रिय भवन संहिता २०६० र आइएस कोडअनुसारको मापदण्ड पूरा गरेको भनी भवन स्वीकृति प्राप्त गरिसकेको छ  । सरकारले तोकेका सबै मापदण्ड बीएण्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च सेन्टर प्रालिले पूरा गरिसकेको जिकिर गर्दै हस्पिटलका जनसम्पर्क अधिकृत  गिरी अब छिट्टै मेडिकल कलेजका रूपमा सम्बन्धन पाउनेमा विश्वस्त रहेको बताउनुहुन्छ ।
स्रोतःउज्यालो अनलाइन र रासस

प्रतिकृया दिनुहोस
RadioTaplajung

एमाले अध्यक्ष थेवेको आइसियुमा उपचार हुँदै 

ताप्लेजुङ – आश्विन १७ गते । आनन्द गौतम नेकपा एमाले जिल्ला कमिटि ताप्लेजुङका अध्यक्ष एबं संविधान सभा सदस्य भुपेन्द्र थेवे अस्पताल भर्ना भएका छन ।

RadioTaplajung

२२ महिने शिशुको हर्नियाको शल्यक्रिया गरियो

  पाँचथर ।   पाँचथरमा पहिलो पटक एक शिशुको हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । फालेलुङ गाउँपालिका ७ का २२ महिने शिशुको जिल्ला सदरमुकाम

RadioTaplajung

डेंगु परीक्षण गर्ने किट सरकारसँग छैन,संक्रमण उच्च जोखिममा 

काठमाडौं,असोज ५ गते । नेपालमा डेंगु संक्रमणले महामारीको रुप लिँदा सरकारसँग भने अहिले डेंगु परीक्षण गर्ने किट सकिन लागेको छ।  स्वास्थ्य तथा