ताजा खबर

‘फेक रेस्क्यु’को नाममा ठगी धन्दा

RadioTaplajung

‘फेक रेस्क्यु’को नाममा ठगी धन्दा
साउन ५ गते । पदयात्री पर्यटकलाई बिरामी बनाएर ‘फेक रेस्क्यु’ गर्दै प्रतिपर्यटक ५० हजार डलरसम्म बिमा कम्पनी हुँदै पुनर्बिमा कम्पनीबाट असुल गर्ने गरेको रहस्य खुलेको छ । लामो समयदेखि ट्रेकिङ कम्पनी, गाइड, रेस्क्यु कम्पनी, हेलिकप्टर कम्पनी र अस्पतालको मिलोमतो ‘फेक रेस्क्यु’को ठूलो धन्दामार्फत नेपाल आउने पर्यटकलाई प्रयोग गरेर रकम असुल्ने गरेको पाइएको हो । जसबाट आउने ठूलो रकम भागबन्डा गर्ने गरेका छन् ।
नेपालमा झन्डै २ लाख पर्यटकहरू पदयात्रामा आउने गरेका छन् । जसमा ५० हजारभन्दा बढी पर्यटक उच्च भागमा पदयात्राका लागि जाने गरेका छन् । नेपालमा झन्डै २ हजार ट्रेकिङ कम्पनी सञ्चालनमा छन् ।

यसरी चल्छ ‘फेक रेस्क्यु’को धन्दा
पर्यटकलाई पहिलो चरणमा कम्पनीहरूले बुकिङको समयमै सस्तो प्याकेज देखाएर आकर्षित गर्ने गरेका छन् । जसमा सगरमाथा आधारशिविरमा जानको लागि प्रतिपर्यटक न्यूनतम १५ सय डलरको प्याकेज किन्नुपर्ने हुन्छ । तर, कम्पनीहरूले ७ सय डलरदेखि ९ सय डलरमै प्याकेज विक्री गरेर बुकिङ गराउने गर्दछन् ।
जब पर्यटक नेपाल आएर पदयात्रा सुरु गर्दछन् । “जोसुकैलाई पनि ४ हजारभन्दा माथि गइसकेपछि समस्या आउनु स्वभाविक हो,” एक ट्रेकिङ गाइडले भने । जब पर्यटकलाई केही समस्या आएको थाहा पाएपछि सँगै गएको गाइडले नर्मल उपचार गराउनको साटो डर र त्रास देखाएर ‘रेस्क्यु’को लागि अफर गर्दछन् । समान्यतया ७० प्रतिशत पर्यटक उच्च स्थानमा गएपछि सामान्य बिरामी हुने गर्दछन् । सामान्य बिरामी भएपछि ‘फेक रेस्क्यु’ गर्नको लागि लोभमा समेत पार्ने गरेका छन् । कतिपय गाइडहरूले चिया तथा पानीमा समेत होटलसँगको मिलोमतोमा पाउडर, मुसाको लिँडसमेत प्रयोग गर्ने गरेको ती गाइडको भनाइ छ । गाइडले रेस्क्यु गराएबापत १५ देखि २० प्रतिशतसम्म रकम पाउने गरेका छन् । त्यसको लोभमा गाइडहरूले पर्यटकलाई रेस्क्युको वातावरण तय गर्दछन् । पर्यटक रेस्क्युमा जान तयार भएपछि आफ्नो कम्पनीलाई गाइडले जानकारी गराउँदछन् ।
त्यसको केही बेरमै कम्पनीले रेस्क्यु कम्पनीलाई सबै जिम्मेवारी दिएर हेलिकप्टर रेस्क्युको लागि सम्बिधत स्थानमा जाने गर्दछन् । यता रेस्क्यु कम्पनीले पर्यटकले बिमा गरेको कम्पनीसँग ‘तेरो मान्छेको रेस्क्यु भएन भने जे पनि हुनसक्छ’ भनेर सम्पर्क गरिसकेको हुन्छ । बिमा कम्पनीले रेस्क्यु गर भनेपछि सुरु हुने ति गाइडको अनुभव छ ।
‘फेक रेस्क्यु’मा हेलिकप्टर कम्पनीलाई १० हजार डलर
समान्य रेस्क्युमा ३ हजारदेखि ३ हजार ५ सय डलरमा बिरामी ल्याउने हेलिकप्टर कम्पनीहरूलाई ‘फेक रेस्क्यु’ मा भने १० हजार डलर दिइने गरेको छ । हेलिकप्टर कम्पनीहरूलाई पनि ‘फेक रेस्क्यु’ फाइदै फाइदा हुने गरेको छ ।
समान्य अवस्थामा सगरमाथा आधार शिविरबाट लुक्लासम्म रेस्क्यु गर्दा १ हजार ७ सय डलरमा ल्याउने गरेका छन् । नाम्चेबाट लुक्ला १ हजार डलरमा ल्याउने गरेका छन् । तर ‘फेक रेस्क्यु’मा भने काठमाडौंसम्म ल्याउँदा १० हजार डलर पाउने गरेका छन् ।
पाँच जना बिरामी एउटै हेलिकप्टरमा काठमाडौं ल्याएको भए पनि ५ पटक रेस्क्यु गरेको भनेर फाइल तयार गरिन्छ । उक्त समयसम्म पर्यटक समेत तयार भइसकेका हुन्छन् । “‘फेक रेस्क्यु’ मा पर्यटकलाई समेत केही कमिसन दिने गरेकोले पर्यटकहरू समेत सवै कुरामा राजी भएका हुन्छन्,” एक ट्रेकिङ कम्पनी सञ्चालकले भने । ‘फेक रेस्क्यु’मा कसरी पर्यटकलाई फकाएर बिमा दावी गर्ने भन्ने ध्यान हुने भएकोले पर्यटकलाई फाउने गरेको उनले बताए ।
५० हजार डलरसम्म बिमा दावी
काठमाडौं आइसकेपछि अधिकांशलाई अस्पताल पु(याइन्छ । अस्पतालमा सबै प्रकारको चेक गरेर डलरमा बिल तयार गरिन्छ । एउटा ‘फेक रेस्क्यु’ को बिल १० हजार डलरदेखि ३० हजार डलरसम्म बनाउने गरेको पाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिका एक सदस्यले जानकारी दिए । “हामीले यतिबेला सवै क्षेत्रबाट प्रमाणहरू जुटाइरहेका छौं,” ती सदस्यले भने । अस्पतालको उपचार खर्च ३० हजार डलर, हेलिकप्टरको १० हजार र अन्य खर्च १० हजार डलर तयार पारेर ५० हजार डलरसम्मको बिमादावी गरेको भेटिएको ति सदस्यले जानकारी दिए ।
४ बिमा कम्पनी कम्पनीसँग जानकारी लिँदै
छानबिन समितिले अन्तर्राष्ट्रिय ४ बिमा कम्पनीलाई नेपाल आएका पर्यटकहरूले ‘फेक रेस्क्यु’ पछि बिमा दाबी गरेको र भुक्तान गरेको विषयमा जानकारी मागेको छ । समितिले यसअघि ट्राभल र ट्रेकिङ एजेन्सी, अस्पताल, उद्दार संस्था तथा हेलिकप्टर कम्पनीलाई छानबिनको दायरामा ल्याइसकेको छ । ती संस्थालाई उद्दार गरेको पर्यटकको नाम, उपचार गरेको अवस्थालगायत सम्पूर्ण विवरण मागिसकेको छ । विषयमा छानबिन गर्न अन्तर्राष्ट्रिय बिमा कम्पनी ग्लोबल रेस्क्यू, बसपा, एसओएस र नोम्याड्स कम्पनीलाई नेपाल आएका पर्यटकको बिमाका विषयमा जानकारी मागेको हो ।
नेपालका विभिन्न अस्पताल, ट्राभल र हेलिकप्टर कम्पनीबाट विवरण संकलन गरिसकिएका र, त्यसलाई सहयोग हुने भएकाले अन्तर्राष्ट्रिय बिमा कम्पनीसँग पनि जानकारी मागिएको हो । समितिले केही ट्राभल(ट्रेकिङ एजेन्सी, हेलिकप्टर कम्पनी तथा स्वास्थ्य मन्त्रालयमार्फत केही अस्पताललाई पत्र पठाउँदै विदेशी पर्यटकको ‘फेक रेस्क्यु’ गरेको स्थान, मिति, समय, बिरामीको नाम, ठेगाना, हेलिकप्टरको भाडा, बिरामी लगिएको अस्पतालको नाम र ठेगानाको सम्पूर्ण जानकारी यसअघि नै मागिसकेको छ । मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेका थिए । समितिलाई असार १५ गतेभित्र प्रतिवेदन बुझाउन समयसीमा दिएपनि समितिले असार १५ देखि थप दुई महिनाको समय मागेको छ ।
मन्त्रालयका सहसचिव तथा छानबिन समितिका संयोजक घनश्याम उपाध्यायले अहिले विदेशी बिमा कम्पनीसँग नेपालमा बिमा भुक्तान गरेको अवस्थाका विषयमा जानकारी मागेको बताए । “हामी यस विषयमा विस्तृत अध्ययन गरिरहेका छौं, त्यसैले पनि समय लागिरहेको छ,” उनले भने । छानबिन चलिरहेकोले अहिले नै कुन–कुन कम्पनीहरूले कसरी ठगी गरेको भन्ने विषय नआइसकेको उपाध्यायले बताए ।
छानबिन समितिले अहिलेसम्म पहिलो चरणमा १० हेलिकप्टर कम्पनी, १४ ट्राभल कम्पनी, ७ अस्पताललाई छानबिनको दायरमा ल्याएर पत्र काटिसकेको छ । त्यस्तै दोस्रो चरणमा २२ ट्राभल कम्पनीलाई पनि पत्र काटेर रेस्क्युको सम्पूर्ण विवरण मागेको छ । स्रोतःकारोवार दैनिक

प्रतिकृया दिनुहोस
RadioTaplajung

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा

माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ ।  मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन

RadioTaplajung

अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु

रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ ।   कम्पनीले पाँचथर

RadioTaplajung

शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,