लघुवित्तमा कर्जाको दोहोरोपना हटाउन आवश्यक

SITENAME

लघुवित्तमा कर्जाको दोहोरोपना हटाउन आवश्यक

 चैत्र २६ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हाल ५६ वटा लघुवित्त संस्था सञ्चालनमा छन् । यी संस्थाले २५ लाख ७७ हजार सर्वसाधारणलाई सदस्य बनाई सेवा पुराएको देखिन्छ । तर, लघुवित्त कम्पनीहरूको अस्वस्थ प्रतिस्पर्धा र सहरी क्षेत्रमा मात्र केन्द्रित हुँदा धेरै व्यक्ति एकभन्दा बढी कम्पनीमा सदस्य भई कारोबार गर्ने गरेका छन् । ग्राहकको दोहोरोपनाकै कारण तथ्यांकमा देखिएभन्दा लघुवित्तबाट लाभान्वितको संख्या कम रहेको आकलन गरिएको छ । बैंक तथा वित्तीय संस्थाको पहुँच नपुगेका सर्वसाधारणलाई समूह बनाई सेवा पुराउने लघुवित्तहरू नाफामूलक हुँदा यसको मूल मर्म नै बिर्सिएर लघुवित्त क्षेत्र नै जोखिममा पर्ने विश्लेषणसमेत गर्न थालिएको छ । यसको मुख्य कारण ग्राहक डुब्लिकेसनलाई लिइएको छ । एकै व्यक्तिले धेरै संस्थाबाट ऋण लिने र जथाभावी प्रयोग गर्ने प्रवृत्तिका कारण ऋण तिर्न नसकी लघुवित्त क्षेत्र नै धराशायी हुन थालेको जानकारहरू बताउँछन् । नियामक निकाय नेपाल राष्ट्र बैंकले समेत कर्जामा दोहोरोपना हटाउन एक जना व्यक्तिले दुईवटाभन्दा बढी लघुवित्त कम्पनीबाट ऋण नपाउने व्यवस्था गर्ने बताएको छ । गभर्नर डा। चिरञ्जीवी नेपालले दुई साताअघि एक औपचारिक कार्यक्रममै दुईवटा कम्पनीभन्दा बढीबाट ऋण लिन नपाउने व्यवस्था गर्न लागिएको बताएका थिए । एउटै व्यक्तिले चार–पाँचवटा लघुवित्तबाट ऋण लिएकाले लघुवित्तहरू जोखिममा पर्दै गएको उनको आरोप थियो । पछिल्लो समयमा लघुवित्त संस्थाहरूको संख्यात्मक वृद्धिसँगै विकृतिहरू बढ्दा नियामकका लागिसमेत टाउको दुखाइको विषय बनेको छ । प्रस्तुत छ, ग्राहक दोहोरोपनालगायतका लघुवित्त क्षेत्रका समस्या र समाधानका विषयमा कारोबारले गरेको कुराकानीको सार स्


दोहोरो कर्जा लघुवित्तको सिद्धान्तविपरीत
जनार्दनदेव पन्त
प्रमुख कार्यकारी अधिकृत, निर्धन उत्थान बैंक
लघुवित्तमा दोहोरोपना भन्ने सवाल नै होइन । बैंकले कुनै पनि ठूलो आयोजनामा ऋण लगानी गर्दा एकभन्दा बढी कम्पनी मिलेर सहवित्तीयकरणमा लगानी गरेजस्तो होइन । कुनै व्यक्ति एउटा लघुवित्त संस्थाको सदस्य बसेपछि अर्को संस्थामा पनि बसेर दोहोरो कर्जा लिनु लघुवित्तको सिद्धान्तविपरीत हो । धेरैवटा संस्थामा बसेर कर्जा लिएपछि त्यो ऋण उपभोगमा खर्च हुन्छ र त्यो डुब्ने सम्भावना हुन्छ । लघुवित्तबाट ऋण लिएपछि आयआर्जनमा लगाउनुपर्छ । यसका लागि लघुवित्त संस्थाहरूले पनि सहयोग गर्नुपर्छ । अहिले राष्ट्र बैंक लघुवित्तहरूले १० लाख रुपैयाँसम्म लगानी गर्न सक्ने व्यवस्था गरेको छ । जुन वर्गका लागि लघुवित्तले काम गर्ने हो, उनीहरूका लागि व्यवसाय गर्न यो रकम पर्याप्त छ । यदि यो रकमभन्दा बढी लिएर ठूलो व्यवसाय गर्न चाहेमा ठूला बैंक तथा वित्तीय संस्थामा जानुपर्छ ।
लघुवित्त कार्यक्रम ऋण दिने मात्र नभएर बचत जम्मा गर्ने, कर्जा लगानी गर्ने तथा बिमा र विप्रेषण सेवा पनि सँगै उपलब्ध गराउँदै जाने हो । लघुवित्तहरूले कहिल्यै आफ्ना सेवाहरू वाणिज्य बैंकहरूले जस्तो कर्जा लगानी गर्ने र बचत जम्मा गर्नेमा सीमित गर्दैन । त्यसैले लघुवित्तले ग्राहकहरूलाई वित्तीय साक्षरता, उद्यमशीलता, सीप तथा नेतृत्व विकास तालिमहरू पनि प्रदान गर्नुपर्छ । लघुवित्तहरूले गाउँघरमा गठित महिला समूहहरूमा तालिममार्फत स्वास्थ्य, शिक्षा, सामाजिक कुरीति तथा समसामयिक विषयवस्तुहरूमा सूचना पनि प्रदान गर्छन् । यसले लाखौं ग्रामीण महिला लेख्न–पढ्न जान्ने, आफ्ना कुरा प्रस्टसँग राख्न र बोल्न सक्ने र साहसिक नेतृत्व लिन सक्ने भएका कैयौं उदाहरणहरू छन् ।
लघुवित्तहरूले आफ्ना ग्राहकको आवश्यकता र क्षमता हेरेर प्रोडक्ट डिजाइन गर्नुपर्छ । ऋण लगानी भएपछि त्यसको सदुपयोगबारे पनि अनुगमन आवश्यक छ । सोहीअनुरूप ऋण असुलीमा पनि केन्द्रित हुनुपर्छ । लघुवित्तको मूल्य–मान्यताविपरीत लघुवित्त कार्यक्रम सञ्चालन गर्नु हुँदैन । ग्राहकमुखी भएर सेवा–सुविधा दिनुपर्छ । ग्राहकलाई वित्तीय साक्षरता प्रदान गर्नुपर्छ, जसका कारण ऋणको सदुपयोग गर्न उनीहरू सचेत बन्छन् । यसैगरी कर्मचारीहरूका लागिसमेत आचारसंहिता निर्माण गर्नुपर्छ । जसबाट लघुवित्त व्यवसायलाई व्यवस्थित र उपलब्धिमूलक बनाउन सकिन्छ ।

दोहोरोपनाबाट ग्राहकले फाइदा लिन सक्छ
उदयराज खतिवडा
प्रमुख कार्यकारी अधिकृत, स्वरोजगार लघुवित्त विकास बैंक
लघुवित्तमा ग्राहक डुब्लिकेसनका विषयमा धेरै बहस भए पनि आधिकारिक तथ्यांक छैन । बंगलादेशमा ग्राहक जतिवटा संस्थामा बसे पनि उसकै इच्छाको विषय हो । एक जना व्यक्ति जतिवटा संस्थामा बसे पनि उसको खुसीले नै बसेको हो । उसले खुसीले कर्जा लिन्छ र किस्ता तिर्छ । त्यहाँ व्यावसायिक वातावरण छ, तर नेपालमा व्यावसायिक सोचको कमीका कारण डुब्लिकेसनका विषयमा बढी हल्ला भएको हो । ४० प्रतिशतको हाराहारीमा डुब्लिकेसन होला । एउटै व्यक्तिले तीन÷चार संस्थाबाट ऋण लिने र त्यसलाई दुरुपयोग गर्दा खाल्टोमा पर्ने अनि भाग्ने प्रवृत्ति देखिएको हो । कर्जा लिएर सदुपयोग गर्छ भने धेरैवटाबाट कर्जा लिँदैमा आपत्ति मान्नु पर्दैन । कर्जा सदुपयोग नगर्न प्रवृत्ति भएमा एक स्थानबाट लिएको ऋण पनि त तिर्न सक्दैनन् । यदि कर्जाको दोहोरोपनालाई सदुपयोग गर्न सकेमा ग्राहकलाई पनि फाइदा नै हुन्छ । त्यसका लागि सर्वसाधारणलाई वित्तीय साक्षर बनाउनु आवश्यक छ । एक व्यक्तिले दुई वटाभन्दा बढी संस्थाबाट कर्जा लिन नपाउने व्यवस्था नेपाल राष्ट्र बैंकले गर्न लागेको जानकारी आएको छ । हामीले हाम्रो छाता संगठनबाट कम्तीमा तीनवटासम्म संस्थाबाट कारोबार गर्न पाउनुपर्ने व्यवस्था गर्न सुझाव दिएका छौं । यसका लागि पहलसमेत गरिरहेका छौं । यसैगरी लघुवित्त संस्थाहरूका लागि आचारसंहिता निर्माणका लागि समेत पहल गरिरहेका छौं ।
अहिले ‘कस्ट अफ फन्ड’ को समस्याका कारण लघुवित्त संस्थाहरू बाँच्नै नसक्ने अवस्थामा पुगेका छन् । एकातिर ७ प्रतिशतको स्प्रेडदर र अर्कातर्फ १८ प्रतिशतभन्दा माथि जान नपाउने भनेर एउटा सिलिङ तोकिएको छ । अहिले १४ प्रतिशतमा फन्ड लिएर १८ प्रतिशतमा लगानी गर्नुपरेको अवस्था छ । आफ्नो प्रशासनिक खर्च व्यवस्थापन गर्न समेत गाह्रो भइरहेको छ । यसमा राष्ट्र बैंकको एउटा नियमले अप्ठ्यारो पारेको हो । राष्ट्र बैंकले वाणिज्य बैंकहरूले बेसरेटभन्दा कम ब्याजदरमा ऋण दिन नपाउने व्यवस्था गरेको छ । वाणिज्य बैंकहरूले हामीलाई होलसेल ल्यान्डिङ गर्ने हो । उनीहरू यस्तो लगानी कम ब्याजदरमा गर्न तयार छन् । तर, राष्ट्र बैंकको नियमले हामी बेस रेटभन्दा माथिको ब्याजमा नै ऋण लिन बाध्य छौं । यदि बेसरेटभन्दा कम दरमा कर्जा लिन पायौं भने हामीलाई सहज हुन्थ्यो । त्यसका लागि हाम्रो संघले पहल गरेको छ, हामी राष्ट्र बैंकको निर्णय कुरिरहेका छौं ।


लघुवित्त संस्थाले आधारभूत मान्यता नै बिर्सिए
भोजराज बस्याल
प्रमुख कार्यकारी अधिकृत, स्वावलम्बन विकास बैंक
लघुवित्तका आधारभूत मान्यता, पद्धति र सञ्चालन विधि छन् । यही कारण लघुवित्त व्यवसाय अन्य बैंकिङ व्यवसायभन्दा फरक छ । लघुवित्त बचत उठाउने र ऋण लगानी गर्ने मात्र होइन । लघुवित्त संस्थाहरूले सर्वसाधारणको समूह बनाउने, उनीहरूलाई वित्तीय शिक्षा प्रदान गर्ने, बचत गर्न सिकाउने, रोजगारमूलक तालिम दिने र त्यसपछि मात्र उसको क्षमताका आधारमा लगानी गर्ने हो । लगानी गरेपछि पनि त्यसको निरन्तर अनुगमन गर्नुपर्छ । यसपछि मात्र कर्जाको दुरुपयोग हुने सम्भावना कम हुन्छ । कर्जा डुब्दैन । तर, पछिल्लो समयमा लघुवित्त संस्थाहरू धेरै खुले । त्यसपछि व्यवसायमा प्रतिस्पर्धा बढ्यो । लघुवित्तको पुँजीको लागत उच्च भएपछि लगानी गर्न पनि गा¥हो भने । फेरि राष्ट्र बैंकले ब्याजदरमा सिलिङ तोकिदिएको छ । लघुवित्त कम्पनीहरू व्यावसायिक हुने नाममा हाम्रा मान्यता र पद्धति नै बिर्सिएका छौं । यही कारण पनि लघुवित्त क्षेत्रमा विभिन्न समस्या देखिएको हो ।
लघुवित्त क्षेत्रका समस्याबारे बहस गर्दा कर्जाको दोहोरोपनाबारे धेरै चर्चा हुने गर्छ । कर्जामा दोहोरोपनाको अवस्था कस्तो छ भन्नेबारेमा कुनै आधिकारिक अध्ययन भएको छैन । त्यसैले यो विषयमा धेरै टिप्पणी गर्नुभन्दा पनि आफ्नो तर्फबाट गल्ती नहोस् भनेर सचेत हुनुपर्छ । हामीले समूह बनाउँदा, लगानी गर्दा ती व्यक्तिहरू अन्य संस्थाका समूहमा छन् कि छैनन् भन्ने कुरा विचार पुराउनु आवश्यक हुन्छ । अहिले लघुवित्त संस्थासँगै वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीले पनि लघुवित्तको काम गरिरहेका छन् । यसैगरी बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्था र वित्तीय कारोबार गर्ने गैरसरकारी संस्थाले पनि लघुवित्तको काम गरेका छन् । लघुवित्त कारोबार गर्ने संस्थाहरू धेरै हुँदा पनि कर्जाको दोहोरोपना भएको हो । लघुवित्तले मात्र कर्जामा दोहोरोपना भएको होइन ।
कर्जाको दोहोरोपना हटाउनका लागि वित्तीय साक्षरतालाई व्यापक बनाउनुपर्छ । सर्वसाधारणलाई वित्तीय साक्षरता प्रदान गरेमा दोहोरोपना आफंै कम हुन्छ । यसैगरी लघुवित्त संस्थाका कर्मचारीलाई पनि यसबारेमा बुझाउनु जरुरी छ । कर्मचारीहरूले समूह निर्माण गर्दादेखि नै कर्जा लिने, नतिरेमा पर्ने समस्या र कर्जाको सदुपयोगबारे बुझाउन सके दोहोरोपना हटेर जान्छ । नेपाल राष्ट्र बैंकले एक व्यक्तिले दुईवटाभन्दा बढी संस्थाबाट कर्जा लिन नपाउने व्यवस्था गर्न लागेको जानकारी गभर्नरले सार्वजनिक कार्यक्रममै भन्नुभएको छ । भोलि नियामक निकायबाट निर्देशन आएपछि त्यो कार्यान्वय गर्नु हाम्रो कर्तव्य नै हो । लघुवित्तमा कर्जाको दोहोरोपना हटाउनका लागि कर्जा सूचना केन्द्रमार्फत पनि काम भइरहेको छ । यसबाट पनि कर्जाको दोहोरोपना हटाउन सकिन्छ ।


दोहोरोपना हटाउन समय दिनुपर्छ
बलराम पौडेल
प्रमुख कार्यकारी अधिकृत, सिभिल माइक्रोफाइनान्स
लघुवित्त क्षेत्रमा कर्जाको दोहोरोपना ग्राहकका लागि बाध्यता हो । लघुवित्त संस्थाहरूले ग्राहकलाई सुरुमा ५० हजार मात्र ऋण लगानी गर्न मिल्छ, तर अहिले एउटा भैंसी किन्नुपर्यो भने पनि १ लाख रुपैयाँ आवश्यक हुन्छ । यसैका लागि पनि २ वटा संस्थामा कारोबार गर्नुपर्यो । ग्राहकको पक्षबाट हेर्दा कर्जामा दोहोरोपना फाइदा नै छ । तर, लघुवित्त संस्थाहरूले कुनै पनि ग्राहक अर्को कम्पनीको समूहमा बसेर कारोबार गरिरहेको छ भने उसलाई लगानी गर्नु गलत हो । अर्को कम्पनीमा ग्राहक छ भन्ने थाहा भएको अवस्थामा लगानी गर्नु हुँदैन । अहिले लघुवित्त संस्थामा देखिएको दोहोरो कर्जा हटाउनका लागि कर्जा सूचना केन्द्रको काम प्रभावकारी हुन्छ । लघुवित्तमा कर्जा सूचना लागू भएपछि दोहोरोपना बिस्तारै हट्दै जान्छ । यसका लागि काम पनि भइरहेको छ ।
नेपाल राष्ट्र बैंकले एउटा व्यक्तिले दुईवटाभन्दा बढी लघुवित्तमा कारोबार गर्न नपाउने नियम ल्याउन लागेको सार्वजनिक भएको छ । अहिले एउटा व्यक्ति धेरैवटा संस्थामा बसेर कारोबार गरिरहेको छ भने त्यो व्यक्तिलाई दुईवटा संस्थाभन्दा बढीमा कारोबार बन्द गर भन्दा लघुवित्तमा समस्या देखिन सक्छ । यसलाई हटाउनका लागि निश्चित समय पनि दिनुपर्छ । नीतिगत व्यवस्थापछि एकैपटक ब्रेक लगाउन खोज्यो भने दुर्घटना पर्न सक्छ । यसका लागि केही समय दिनुपर्छ ।
कर्जाको दोहोरोपना हटाउनका लागि वित्तीय साक्षरता व्यापक बनाउनुपर्छ । सर्वसाधारणलाई वित्तीय साक्षरता प्रदान गरेमा दोहोरोपना आफैं कम हुन्छ । यसैगरी लघुवित्त संस्थाका कर्मचारीलाई पनि यसबारेमा बुझाउनु जरुरी छ । कर्मचारीहरूले समूह निर्माण गर्दादेखि नै कर्जा लिने, नतिरेमा पर्ने समस्या र कर्जाको सदुपयोगबारे बुझाउन सके दोहोरोपना हटेर जान्छ । स्रोतः कारोबार दैनिक

 

प्रतिकृया दिनुहोस
SITENAME

‘मोदी भ्रमण रणनीतिक हो’

‘मोदी भ्रमण रणनीतिक हो’ जेठ २ गते । प्रा. जयराज आचार्य नेपालका तर्फबाट संयुक्त राष्ट्रसंघका लागि पूर्वस्थायी प्रतिनिधि हुन् । नेपाली कूटनीतिका

SITENAME

एमालेको बटम लाइन:प्रचण्डलाई महाधिवेशनपछि अध्यक्ष लेखेर दिन सकिन्न

एमालेको बटम लाइन:प्रचण्डलाई महाधिवेशनपछि अध्यक्ष लेखेर दिन सकिन्न ६ वैशाख । स्थानीय तहको चुनावमा एमाले र माओवादीबीच एकले अर्कोलाई सिध्याउन

SITENAME

‘ठूलो बदमासी अर्थ मन्त्रालयबाटै सुरु हुन्छ’

‘ठूलो बदमासी अर्थ मन्त्रालयबाटै सुरु हुन्छ’ वैशाख २ । सरकारी संयन्त्रभित्र खर्च प्रवृत्ति–प्रकृति केलाउँदै केही दिनअघि महालेखा परीक्षकको