ताजा खबर

संसदमा विपक्षी कांग्रेस:दुई तिहाईले सातो गएको कि ढंग नभएको ?

RadioTaplajung

संसदमा विपक्षी कांग्रेस:दुई तिहाईले सातो गएको कि ढंग नभएको ?
जेठ २८ गते । संसदीय ब्यवस्थामा प्रतिपक्षीको भूमिका रचनात्मक र पहरेदारको जस्तो हुनुपर्छ भन्ने मान्यता छ ।

संसदीय अभ्यास गरिरहेका देशमा सरकारले गरेका कमीकमजोरी, नियमको उल्लंघन, अनियमितता र गलत निर्णयबारे विपक्षी दलका सांसदले प्रमाण बटुलेर संसदमा बोल्दा सरकार नागरिकप्रति उत्तरदायी हुन बाध्य हुन्छ ।

सरकारलाई जवाफदेही, पारदर्शी र नागरिकप्रति उत्तरदायी बनाउने मुख्य जिम्मेवारी विपक्षी दलको हुन्छ । यसक्रममा सांसदले विशेष समय लिएर बोल्ने, आआफ्नो ठाउँबाट उभिएर विरोध जनाउने, रोष्ट्रम घेराउ गर्ने र जवाफ नदिंदासम्म संसद चल्न नदिने सम्मका अभ्यास गरिन्छन् संसदीय व्यवस्थामा ।

विपक्षमा रहेको दलसित तार्किक रुपमा आफुलाई नागरिकको पक्षमा उभ्याउने, नागरिकका मुद्दा सदनमा मुखरित गर्ने र सरकारलाई गलत बाटोमा जानबाट रोकेर नत्थी लगाउने जिम्मेवारी हुन्छ । यसका लागि बिपक्षी दलले आफ्नो भूमिका बलियो बनाउन छाया सरकार बनाएर समेत काम गर्छन् । बिपक्षी दलले सदनमा उठाउने विषय र सन्दर्भले उनीहरुलाई भोलिको चुनावको आधार पनि तयार पार्ने गर्छ ।

नेपाली कांग्रेस आफुलाई लोकतन्त्रको मसिहा ठान्छ। नेपालमा कांग्रेस मात्र यस्तो पार्टी हो, जस्ले संसदीय प्रणालीबाहेक संसारमा कुनैपनि उत्कृष्ट प्रणाली छैन भन्ने विश्वास गर्छ । कम्युनिष्ट पार्टीको नाममा चुनाव जितेको पार्टी सत्तामा पुुग्दा सबैभन्दा धेरै राजनीतिक फाईदा कांगे्रसको पोल्टामा जानुपर्ने हो । तर कुरा अहिले उल्टो देखिन थालेको छ । अहिलेसम्मको उसको प्रस्तुति हेर्दा कांग्रेसले हात परेको मौका पनि उपयोग गर्न सक्ला जस्तो देखिंदैन ।

कांग्रेसले संघीय संसदमा त्यस्तो भूमिका निर्वाह गर्न सकेको छैन जसले चुनावमा चाउरिएको कांग्रेस अर्को चुनावमा मुर्झाउने छ भन्ने आश गर्न सकियोस । शायद यही आशा नभएर पनि होला कांग्रेसका केन्द्रदेखि गाउँसम्मका नेता कार्यकर्ता आफ्नो पार्टीको भविष्यप्रति आशावादी देखिंदैनन् ।

संसदीय ब्यवस्थाको लामो समय सत्तामा राज गरेको कांग्रेसले विपक्षी दलले उठाएका प्रश्नको जवाफ दिइरह्यो । शायद यहि बानीले पनि हुनसक्छ उसले सरकारलाई प्रश्न सोध्नै विर्सिरहेको छ । सत्तारुढ दलसँग दुई तिहाई बहुमत रहेको अवस्थामा अधिनायकबाद आउने ‘खतरा’ देख्छ कांग्रेस ।

तर, त्यसलाई रोक्न के गर्ने हो भन्नेमा चाहिँ आफै अलमलिएको देखिन्छ । संसदमा उसको भूमिका बेलाबेला बोल्ने र त्यो बोलाई पनि केवल संसदमा रेकर्डका लागि मात्र हो कि जस्तो पाराको देखिन्छ ।

कांग्रेस नेता शेखर कोइरालाले त संसदमा आफ्नो पार्टीको भूमिका शुन्य भएको प्रतिक्रिया दिएका छन् । एकातिर विपक्षी दलको दुई तिहाइ अर्कातिर कांग्रेसको यस्तो भूमिका संसदमा सरकारलाई मनमौजी गर्ने अवसर मिल्दै गरेको संकेत पनि हो ।यसो हो भने उसैले भन्ने गरेको अधिनायकबादका लागि उसैले मार्गप्रशस्त गरिदिइरहेको छ ।

लगातारजसो बढी रहेको मूल्यबृद्धिको निर्णयविरुद्ध विपक्षी दल कांग्रेसको आवाज न संसदमा सुनियो न त सडकमै । मूल्यबृद्धिको विरोधमा नारावाजी गरेको नेविसंघको एक समुह ९अध्यक्ष नैनसिंह महर विरोधी खेमा अथवा भनौ पौडेल पक्षका नेताहरुको समुह० ले महंगीको विरोध गर्ने कर्मकाण्डसम्म पुरा गर्यो । तर महंगी विरुद्ध आयोजित जुलुसमा आफ्नै अध्यक्ष नैनसिंह महर र पार्टीका अध्यक्ष शेरवहादुर देउवाविरुद्धनारा लाग्यो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला जनकपुरमा प्रदेश नम्बर २ का मुख्य मन्त्रीको भाषण र राष्ट्रिय झण्डालाईअपमानजनक रुपमा राखिएको विषयलाई कांग्रेसले उठाउन सकेन वा भनौ जोड दिन आवश्यक ठानेन । नाकाबन्दी लागेका बेला त्यसलाई हो नै भन्न नसकेको कांग्रेसले मोदीलाई नेपालका ठाउँठाउँमा अभिनन्दन गरिदा यो गलत हो भन्ने नैतिक शाहस पनि देखाएन ।

ब्यक्ति हत्याको अभियोगमा जन्मकैद भोगिरहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई सरकारले असल चालचलन भन्दै थुनामुक्त गर्दा सँसदमा गगन थापाले प्रश्न उठाए । तर पार्टीको खास अडान र निर्णय भएको देखिएन  । त्यसैले हुन सक्छ, गगनको विरोधले पनि पाउनपर्ने जतिमहत्व पाएन ।

आफ्नो नेतृत्वमा रहेको सरकार र अर्थ मन्त्रालयले अर्थतन्त्र तहसनहस बनाएर विगारेको गम्भिर आरोपसहित नयाँ अर्थमन्त्री डाक्टर युवराज खतिवडाले ल्याएको श्वेतपत्रको तथ्यपूर्ण विरोध गर्न पनि काँग्रेसका सांसदले खासै दुख गरेनन् । बरु कांग्रेस निकट भनेर चिनिएका अर्थशास्त्रीले यो जिम्मेवारी केही हदसम्म पुरा गरिदिए । सरकारको नीति तथा कार्यक्रममा कांग्रेसले मौन समर्थन जनाएको थियो । बजेटमा त समर्थन जनायो भनेपनि हुन्छ ।

बरु, यसपटकको संसदमा कांग्रेसले राम्रो र प्रभावकारी भूमिका भन्दा पनि अवगाल पाउने काम गरिरहेको छ । यसको पछिल्लो उदाहरण हो, फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने कानूनको विरोधमा लिएको अडान ।

२ तिहाइ बहुमत भएको सत्तारुढ दलले चाहेमा त्यो प्रावधान राख्न सक्ने भएपनि उनीहरुले कांग्रेसका कारण फौजदारी अभियोग लागेका सांसदलाइ निलम्बन गर्न नसकिएको भनेर कांग्रेसमाथि अवगालको पगरि गुथाइरहेका छन् । अनि, कांग्रेस दङ्ग परेर अवगालको त्यो पगरी गुथिरहेको छ ।

शान्ति प्रकृयाका अनेक अधुरा काम लथालिंग छन् । एमाले माओवादी एकीकरण पछि ती मुद्दा अलपत्र पर्न थालिसकेका छन् । तर कांग्रेसले ती मुद्दालाई वेवारिस छाडेर सत्तापक्षलाई झन् सजिलो पारिदिने खतरा बढेको छ ।

नेपालमा रचनात्मक प्रतिपक्ष खोइ त ?

नेपालमा संसदीय अभ्यास २०१५ सालपछि नै शुरु भएपनि त्यो २ बर्षमै राजा महेन्द्रको निरंकुशताको शिकार बन्यो । त्यसपछि प्रजातन्त्रको पुनउर्दय पछि अर्थात २०४८ साल पछिको अभ्यासमा पनि संसदमा खासगरि विपक्षी दलको भूमिका प्रभावकारी हुन सकेन ।

बरु संसदमा विपक्षी दलका सांसद उग्र र अराजक बने । एमालेको उग्र परम्परालाई संविधानसभा ताका र त्यसपछि माओवादीले आत्मसात गरेर महिनौ दिनसम्म संसद अवरुद्ध हुने, संसदभित्र मार्शल तैनाथ गर्नुपर्ने जस्ता काम भए। माइक भाँच्ने, टेबुल फ्याँक्ने मात्र होइन सभामुखलाई हात हाल्ने र बजेट च्यात्नेसम्मका गतिविधि पनि भए नेपाली संसदीय अभ्यासमा ।

बिपक्षमा बसेको कांग्रेसले एमाले र माओवादीले यस अघि समातेको उग्र बाटोमा जान त हुँदै हुँदैन, तर नागरिकले उस्लाई नुन खाएको कुखुरो जस्तो पनि देख्न चाहेका छैनन् । किनभने बलियो सरकारलाई बलमिच्याई गर्न नदिन प्रतिपक्ष पनि बलियो र तार्किक हुनुपर्छ ।

तर सत्ताबाट पछारिएको महिनौपछि र संसदको विपक्षी वेञ्चमा बस्न थालेको चार महिनापछि पनि  कांग्रेस अहिले न हाँस न कुखुराको चालमा छ । कांग्रेसका बिगतका चार महिना हेर्दा त यस्तो लाग्छ कि त दुई तिहाई बहुमतको सरकारसंग उसको सातो गएको छ ? कि त कांग्रेससित विपक्षी बेञ्चमा बस्ने ढँग छैन ।   स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा

RadioTaplajung

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

  फागुन ४ गते । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले

RadioTaplajung

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय   फागुन ४ गते ।बालुुवाटारको बहुुचर्चित ललिता निवास प्रकरणमा नेताहरुले सफाइ पाएका छन्