ताजा खबर

पार्टी सदस्यबाटै वार्षिक पौने अर्ब शुल्क उठाउने नेकपाको योजना !

RadioTaplajung

जेठ २३ गते । यदि तत्कालीन माओवादीले दाबी गरेको सदस्य संख्या एकीकृत पार्टीमा स्वीकृत भएमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका संगठित सदस्य करीव ७ लाख हुनेछन् । यदि यही संख्या सदर भएमा नेकपाको वार्षिक आम्दानी करोडमा होइन, अर्बमा हुनेछ ।

नेकपाले पार्टी सदस्य शुल्क बढाएर लेबी तथा सदस्य शुल्कबाटै पार्टी सञ्चालन गर्ने पद्दति बसाउन लागेको छ । त्यसका लागि अब नेकपाको प्रत्येक सदस्यले सदस्यता शुल्कवापत मासिक एक सय रुपैयाँ अनिवार्य बुझाउनुपर्नेछ । यो भनेको हालको सदस्यता शुल्कमा ५ गुणा वृद्धि हो ।

पूर्वमाओवादीको सदस्य संख्या अस्वाभाविक

जिल्ला कमिटीहरुको एकीकरण प्रक्रियासँगै प्रत्येक सदस्यले मासिक १ सय रुपैयाँका दरले हरेक वर्ष कम्तिमा १२ सय रुपैयाँ बुझाउनेछन् । यदि नेकपामा ७ लाख सदस्यको नवीकरण भएको खण्डमा सदस्यता शुल्कबाटमात्रै नेकपाले वार्षिक करीब ८५ करोड रुपैयाँ आम्दानी गर्नेछ ।

पार्टी केन्द्रीय कमिटी एकीकरण भए पनि नेकपाका तल्ला कमिटीहरुको एकीकरण प्रक्रिया शुरु भइसकेको छैन । दुवै पार्टीका सदस्य संख्या पनि यकिन भइसकेको छैन । तत्कालीन एमालेको केन्द्रीय कार्यालयमा रहेको कम्प्युटर रेकर्ड अनुसार करीव ३ लाख संगठित सदस्य छन् ।

तत्कालीन माओवादी केन्द्रसँग भने पार्टी सदस्यको कुनै प्रमाणिक विवरण छैन । ०६९ साल माघमा हेटौंडामा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनमा करीव दुई लाख ५० हजार सदस्य रहेको विवरण पेश भएको थियो । यद्यपि ती सदस्यको पनि केन्द्रीय कार्यालयमा रेकर्ड भने थिएन ।

मोहन वैद्यले पार्टी फुटाएर हिँडेको र बाबुराम भट्टराईसँगै रहेको अवस्थामा बिराटनगर महाधिवेशनमा पनि सोही संख्या कायम भएको थियो । यसबीचमा बाबुरामले पनि पार्टी छाडेर हिँडे । तर, माओवादीमा त्यसयता पार्टी सदस्यको विवरण अद्यावधिक गरिएको छैन ।

विभिन्न समूहहरुसँग एकीकरण भएको आधारमा करीव ४ लाख पार्टी सदस्यको विवरण पार्टी एकताका क्रममा पेश गरिएको केन्द्रीय कार्यालय सचिव प्रल्हाद बुढाथोकीले बताए । ती सबै संगठित सदस्य हुन् वा साधारण सदस्य पनि जोडिएको हो भन्ने यकिन छैन । पार्टी एकताका क्रममा सदस्यता नविकरणसँगै यकिन तथ्यांक आउने उनले बताए ।

गत प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतलाई आधार मान्दा पनि तत्कालीन एमालेको करीव ३२ लाख र तत्कालीन माओवादीको १३ लाख मत रहेको निर्वाचन आयोगले जनाएको छ । ३२ लाख मत प्राप्त पार्टीको सदस्य संख्या ३ लाख भन्दा कम र १३ लाख मत पाउने पार्टीको सदस्य संख्या४ लाख भन्दा बढी हुने कुरा आफैंमा अमिल्दो छ ।

पार्टीको विधान मस्यौदा गर्ने बेला पनि माओवादी पक्षले सदस्यको एकिन विवरण दिन नसकेपछि संख्या उल्लेख भएको थिएन । अहिले निमायवली मस्यौदाका क्रममा पनि सोही समस्या आएको छ । सम्भवतः तत्कालीन माओवादीका २ लाख सदस्य नवीकरण हुने अनुमानसहित नेकपाको सदस्य संख्या ५ लाख हुन सक्ने अनुमान नेताहरुले गरेका छन् ।

पाँच लाख संगठित सदस्य भए पनि मासिक एक सयका दरले पार्टी सदस्यबाट करीव ६० करोड रुपैयाँ सदस्यता शुल्कमात्रै उठ्ने अनुमान छ । यो बाहेक हरेक कमिटीले सदस्यको आर्थिक अवस्था हेरेर अतिरिक्त लेबी तोक्ने गर्छन् ।

लेबी हैसियत हेरेर लाखसम्म

केन्द्रीय कमिटीले प्रदेश कमिटीलाई वार्षिक रुपमा रकम तोकेर लेबी बुझाउन निर्देशन दिन्छ । त्यस्तै प्रदेश कमिटीले जिल्ला कमिटीलाई लेबीको भार तोक्छ । जिल्ला कमिटीले सदस्यता नवीकरण गर्ने पुरानै प्रणाली नेकपाले यथावत राख्ने भएको छ ।

प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री, सांसद, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र राजनीतिक नियुक्तिमा गएकाहरुले तलबको निश्चित प्रतिशत पार्टीलाई लेबी बुझाउनुपर्ने नियम राखिएको छ । राजदूत भएर गएकाले डलरमै लेबी बुझाउनुपर्ने तत्कालीन एमालेको नियम नेकपामा पनि निरन्तर हुने भएको छ ।

प्रत्येक सदस्यको आय स्रोत हेरेर सम्बन्धित कमिटीले अतिरिक्त लेबी तोक्दा पार्टीको आम्दानी लेबी र सदस्यता शुल्कबाट मात्रै वार्षिक २ अर्बभन्दा बढी हुने अनुमान गरिएको एक नेताले बताए । ‘सदस्यता शुल्क अनिवार्य र एउटै हुन्छ तर लेबी भनेको सदस्यको हैसियत अनुसार एक सयदेखि एक लाखसम्म पनि हुनसक्छ’ नेकपा एक स्थायी कमिटी सदस्यले भने ।

शुल्क पाँच गुणा बढी, केन्द्रलाई ५० प्रतिशत

पार्टी एकीकरणपछि सदस्यता शुल्कमा पाँच गुणा बृद्धि हुने भएको छ । यसअघि तत्कालिन नेकपा एमालेमा सदस्यता शुल्क मासिक २० रुपैयाँ थियो । प्रत्येक सदस्यले सदस्यता नवीकरण गर्दा मासिक २० को दरले २४० रुपैयाँ बुझाउनुपर्ने नियम थियो । सो रकम सम्बन्धित कमिटीले लिएर केन्द्रमा ५० प्रतिशत पठाउने प्रचलन थियो ।

तत्कालीन माअ‍ोवादीमा सदस्यता शुल्क मासिक १५ रुपैयाँ थियो । पछिल्लो समय माओवादीमा सदस्यता नवीकरण हुन छाडेको छ । हेटौंडा महाधिवेशनपछि सदस्यता नवीकरण र अद्यावधिक गर्ने प्रणालीनै नरहेको स्रोतले जनाएको छ । चार हजार सदस्यीय केन्द्रीय कमिटी बनेपछि पार्टीको संगठन प्रणाली भद्रगोल भएको हो ।

अब नेकपाका प्रत्येक सदस्यले पार्टी सदस्यता नवीकरण गर्दा मासिक एक सय रुपैयाँका दरले १२ सय रुपैयाँ जिल्ला कमिटीमा बुझाउनेछन् । जिल्ला कमिटीले नविकरण शुल्कमध्ये २५ प्रतिशत रकम आफूसँग राखेर बाँकी ७५प्रतिशत प्रदेश कमिटीमा पठाउने नियमावलीमा प्रस्ताव गरिएको छ ।

प्रदेश कमिटीले २५ प्रतिशत राखेर ५० प्रतिशत रकम केन्द्रीय कार्यालयको खातामा पठाउने व्यवस्था गर्न लागिएको छ । लेबीको हकमा माथिल्लो कमिटीले आफू मातहत कमिटीलाई दायित्व तोक्नेछ । लेबी र सदस्यता शुल्कबाटै पार्टी चलाउने र चन्दा माग्न नपर्ने अवस्था सिर्जना गर्न खोजिएको नेताहरुले बताए ।

साबिक एमाले र माओवादीका सदस्यले नेकपाको सदस्यता नविकरण गर्नकालागि सम्बन्धित जिल्ला कमिटीमा पुगेर फारम भर्नुपर्ने व्यवस्था नियमावलीमा गरिएको मस्यौदा समितिका सदस्य बेदुराम भुसालले बताए । जिल्ला कमिटीहरु एकीकरण भएसँगै सदस्यता नविकरण शुरु हुने उनले जानकारी दिए ।
स्रोतःअनलाइनखबर डट कम

प्रतिकृया दिनुहोस
RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा

RadioTaplajung

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

  फागुन ४ गते । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले

RadioTaplajung

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय   फागुन ४ गते ।बालुुवाटारको बहुुचर्चित ललिता निवास प्रकरणमा नेताहरुले सफाइ पाएका छन्