ताजा खबर

कुकुरबाट रेडपान्डा जोगाउनै मुस्किल,एकै वर्षमा ४ वटा मारिए

RadioTaplajung

कुकुरबाट रेडपान्डा जोगाउनै मुस्किल,एकै वर्षमा ४ वटा मारिए
आनन्द गौतम,ताप्लेजुङ,जेठ २ गते । दुर्लभ रेडपान्डा कुकुरबाट जोगाउन मुस्किल भएको छ । ताप्लेजुङ र इलाममा गरी एकै वर्षमा भुस्याहा कुकुरले ४ रेडपान्डा मारेपछि संरक्षणको चिन्ता बढेको हो । सबैभन्दा बढी रेडपान्डा पाइने दाबी गरिएको क्षेत्रमै कुकुरको आक्रमण बढेको हो ।
तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले क्षेत्रको संखुवासभातर्फको मिल्केभञ्ज्याङ नजीकको जंगलमा केही दिन अघि क्यामरा ट्रयापमा परेको रेडपाण्डा । तस्बिर सौजन्य स् पुर्ण राई

ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित पाथीभरा क्षेत्रमा ३ र इलामको पुवामझुवाको ओराले चौरमा एउटा रेडपान्डा कुकुरबाटै मारिएको रेडपान्डा नेटवर्कले जनाएको छ । नेटवर्कका अनुसार सबै बयस्क उमेरका रेडपान्डा मारिएका हुन् । रेडपान्डासम्बन्धी काम गर्ने अर्को संस्था हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राई जंगलमै बस्ने र सिकार गर्ने कुकुर सबैभन्दा बढी जोखिमपूर्ण भएको बताउँछन् । ‘भालुगौंडेभित्र एउटा कुकुर छ । त्यसले ओडारमा ४ बच्चा पनि जन्माएको छ । त्यो कुकुर प्रायस् बाहिर निस्कँदैन ।

छेउमा रहेको गोठसम्म पुग्छ र बाहिर खाना राखेको भए खान्छ र फेरि त्यही ओडारमा गएर बस्छ । यो रेडपान्डाका लागि सबैभन्दा बढी जोखिमपूर्ण बनेको छ ।’ त्यो जंगली कुकुर नहोस् र मानिससँगको सम्बन्धमा आओस् भनेर गोठ राख्नेले खानेकुरा दिने गरेको उनले बताए ।

राईका अनुसार पाथीभरामा जाने तीर्थयात्रीले चढाउने बलि र आन्द्राभुँडीजस्ता फालेको मासु खान गएका कुकुरले रेडपान्डामा बढी क्षति पुर्‍याएका छन् । ‘तीनै कुकुर जंगल पस्छन् र सिकार गर्छन्,’ उनले भने, ‘यिनीहरूको स्वभाव मान्छे गए झम्टने, टोक्ने र सिकार गर्ने हुन्छ ।’ रेडपान्डा लजालु स्वभावको हुने र भाग्न नसक्ने भएकाले शत्रुको कब्जामा चाँडो पर्ने गरेको छ । रूखको टोडको र भुइँमा समेत बस्ने यसलाई कुकुरले रूखको फेदमा ढुकेर बस्ने र भुइँमा झरेको मौका पारी झम्टने संरक्षणकर्मी बताउँछन् । जिल्लाभित्र र बाहिरबाट तीर्थयात्रीलाई पछ्याएर जाने र मासु खान पाउने आसमा त्यहीं बस्ने भएकाले यस्ता कुकुरको जिम्मा स्थानीयले लिंदैनन् । बाँधेर पाल्न पनि खाना व्यवस्थापन गर्नुपर्ने, हेरालु राख्नुपर्ने भएकाले समस्या रहेको राईको भनाइ छ ।

कुनै पनि जन्तु मार्न नपाइने भएकाले कुकुर नियन्त्रणका लागि रेडपान्डा नेटवर्कले बन्ध्याकरण अभियान चलाएको छ । ३ वर्षयता कुकुरलाई बन्ध्याकरण गर्ने र रेबिजविरुद्धको खोप लगाउने शिविर नियमित सञ्चालन गरेको नेटवर्कका कार्यक्रम संयोजक पेमा शेर्पा बताउँछिन् । पेमाका अनुसार रेबिज सबैभन्दा बढी जोखिम भएकाले जिल्ला पशु सेवा कार्यालयसँगको समन्वयमा ताप्लेजुङ, पाँचथर र इलाममा यो अभियानै चलाइएको हो ।

लगातार जंगलमै बस्ने कुकुरको स्याल र फयाउरोसँग संसर्ग भए त्यसले चाँडो रेबिज सार्न सक्ने जोखिम रहेको संरक्षणकर्मी राई बताउँछन् । रेडपान्डा नेटवर्कले गरेको अध्ययनअनुसार पूर्वका ३ जिल्लामा सबैभन्दा बढी रेडपान्डा पाइन्छ । तर, सबैभन्दा बढी जोखिम पनि यिनै जिल्ला छन् ।

स्रोतःई कान्तिपुर डट कम

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक