छोराको पढाइ खर्च उठाउन दाइजो !

SITENAME

माघ १३ गते,लीला लुइँटेल । एक जना छिमेकीकी डाक्टर छोरीका लागि तय गरिएको वरको मूल्य साठी लाख रुपैयाँ भन्ने सुनेपछि र जिन्सी सामानको लिस्ट देखेपछि मैले ‘यत्रो पैसा कहाँबाट ल्याउनु रु’ भनेर सोधेँ । केटाका बाबुले ‘अझ हामीले निकै कम भनिरहेका छौं, हाम्रा छोरालाई डाक्टर बनाउन त्यतिले पुगेको छैन’ भनेको सुन्दा म आश्चर्यचकित भएँ ।
‘हाम्री छोरी पनि डाक्टर हुन्, उनलाई पढाउन पनि त्यत्तिकै खर्च लागेको तपाईंहरूलाई थाहै होला अनि त्यसको मूल्य नि ?’ भनेर मैले जिज्ञासा राखेँ । केटाका बाबु क्रुद्ध भएर ‘यो पहाडी लोग हाम्रो परम्परामा किन बढ्ता हुन आएको’ भने । केटीका बाबुले मतिर पुलुक्क हेरे । त्यहाँ बस्न उचित नलागेर म जुरुक्क उठेर हिँडेँ ।

अहिले पुगिसरी हुने अभिभावकले आफ्नो शक्ति र सामथ्र्यले भेटेसम्म शिक्षा प्रदान गर्ने कुरामा छोरा र छोरी भनी विभेद गरेको प्रायस् भेटिँदैन । यति हुँदाहुँदै पनि अधिकांश नेपाली अभिभावकका लागि छोराको भन्दा छोरीको विवाह आतङ्ककै रूपमा रहेको पाइन्छ । यस्तो आतङ्कले सिर्जना गरेको त्रासदी पहाडमा भन्दा बढी मधेसमा देखा परेको छ । मधेसमा छोरी बढ्दै जाँदा अभिभावकमा आतङ्कको पारो चढ्दै जान्छ ।

यसखाले क्रियाकलापलाई कुनै परिवारको आन्तरिक मामला भनेर पन्छिने स्थिति छैन । तिलक र दाइजो आतङ्क नभोगेको मधेसी परिवार पाउन हम्मे पर्छ । दाइजो एवं तिलक आतङ्ककै कारण कतिपय चेलीले आत्महत्या गरेका पनि छन् । आर्थिक अवस्था कमजोर भएको तथा धेरै दिदीबहिनी भएको परिवार बढी पीडित छ । आमाबाबु घरजग्गा बेचेर वा ऋण गरेरै भए पनि लोभी एवं द्रव्यपिशाच वरपक्षका माग पूरा गर्न बाध्य छन् । मधेसका छोरीलाई बालविवाह गरिदिने तथा उच्चशिक्षाबाट वञ्चित गरिने कटु यथार्थ हामीले देखेभोगेकै हो । वर पक्षबाट तिलक एवं दाइजो माग्नु कानुनी रूपमा अवैध भनिए पनि सामाजिक अभ्यासमा यो घटेको छैन । उल्टै यसले विकराल रूप लिँदै छ ।

मधेसमा छोरीको विवाह गर्ने सबै कुरा मिलेपछि तिलक एवं दाइजो विवाद र छलफल विषय बन्ने गरेको छ । त्यो पनि छोरीका बाबुको स्वेच्छा हुँदैन । छोराका तर्फबाट व्यापारिक तरिकाले तय गरिन्छ । तिलक एवं दाइजोको परिमाणमा केटाको कुलघरान तथा शिक्षाले ठूलो भूमिका खेलेको हुन्छ । अहिलेको व्यावहारिक अभ्यासअनुसार डाक्टर, इन्जिनियर, वकिल तथा उच्चपदस्थ सरकारी अधिकारी वरका लागि ठूलै मोलमोलाइ हुन्छ । वरपक्षको मागअनुरूप दाइजो ल्याउन नसके गृहलक्ष्मी मानेर आफैँले भित्र्याएकी बुहारीलाई यातना दिने, घरनिकाला गर्नेजस्ता घटना बारम्बार घटिरहेका छन् ।

मधेसमा शिक्षित, बौद्धिक एवं चेतनशील वर्ग नभएको होइन । यस्ता व्यक्तिहरूले पनि तिलक एवं दाइजो प्रथाविरुद्ध सामाजिक जागरणका लागि भूमिका खेल्न सकेका छैनन् या उनीहरू यसबारे टीकाटिप्पणी गर्न चाहँदैनन् । सबभन्दा हास्यास्पद एवं लज्जास्पद त छोराको पढाइ खर्च छोरीका बाबुबाट उठाउनुपर्ने दरिद्र मानसिकता छ । छोरी चाहे डाक्टर, इन्जिनियर तथा कामकाजी नै किन नहुन्, दाइजो नदिई तिनीहरूको पनि विवाह हुँदैन ।

यही दाइजो एवं तिलक प्रथाका कारण अधिकांश परिवारमा भू्रणको लिङ्ग पहिचान गरेर छोरी भए भ्रूण नष्ट गरिदिनेजस्ता मानवताविरोधी कार्य धेरै क्षेत्रमा महामारीकै रूपमा फैलिसकेको छ । यसखाले जघन्य अपराधले जनसंख्याको सन्तुलनमा नकारात्मक असर पर्न सक्छ । यस्तो विकराल अवस्थाविरुद्ध सीमित मानव अधिकारीवादी, महिलावादी व्यक्ति एवं संघसंस्थाले बेलाबखत आवाज उठाएजस्तो देखिए पनि यसखाले दुष्कर्म उन्मूलनतर्फ कसैले सक्रियता देखाएको पाइँदैन ।

अहिले राजनीतिक रूपले मधेसमा परिवर्तन आएको र मधेसका जनता आफ्नो अधिकारका लागि सचेत भएको सुनिन्छ तर चेलीबेटीका नाममा गरिने यसखाले अमानवीय क्रूर क्रियाकलाप नियन्त्रण गर्नेतर्फ व्यक्ति, समाज एवं राज्यको ध्यान प्रभावकारी पाइँदैन । अझ मधेसी जनताको अधिकारको सुरक्षाका लागि समाज सेवा गरेको, राजनीति गरेको हवाला दिनेहरूले पनि यसतर्फ ध्यान दिएको पाइँदैन । कि जनसंख्याकोआधा हिस्सा मधेसी चेलिबेटीचाहिँ उनीहरूका दृष्टिमा जनता होइनन् ?

मानवीय मूल्यकै उपहास गर्ने यस्ता क्रियाकलाप शिक्षित तथा सभ्य कहलिएकाहरूको समाजमा परम्परा एवं संस्कारका नाममा जरो गाडेर बसिरहेका छन् । यस्ता क्रियाकलाप न्यून गराउँदै मधेसका चेलीबेटी एवं तिनका अभिभावकलाई सिंगो मानवका रूपमा जीवनयापन गर्ने वातावरण सिर्जना गर्नेतर्फ यस क्षेत्रका परिवार, समाज तथा प्रशासन कसैको पनि ध्यान पुगेको देखिँदैन ।

उच्च शिक्षित विवाहयोग्य कतिपय युवकलाई यसबारे जिज्ञासा राख्दा सामाजिक तथा पारम्परिक संस्कार भनेर तिनको संरक्षणमा जोड दिने मानसिकता लाजै पचाएर मसँग उनीहरूले अभिव्यक्त गरेका छन् । मानवीय मूल्यकै उपहास गर्ने यस्ता क्रियाकलापलाई अझै परम्परा भनिरहने कि सामाजिक क्यान्सर मानेर तिनको उपचार खोज्ने ?

यहाँ प्रश्न उठ्छ, छोराको पढाइखर्च छोरीका बाबुबाट उठाउनुपर्छ भने त्यत्ति नै खर्च गरेर पढाएकी छोरीको मूल्य के ? के छोरी पाएर उचित शिक्षादीक्षा दिई उसलाई योग्य बनाउनु नै छोरीका बाबुको सबभन्दा ठूलो अपराध हो रु अनि तिलकका नाममा देशको शिक्षित एवं एउटा सुयोग्य नागरिकको मोलमोलाइ बोकोसरह गर्ने र यसको कमी हँुदा आफ्नी गृहलक्ष्मीलाई जिउँदै जलाउनेहरूमा आफूलाई एक्काइसौँ शताब्दीको मानव भन्न भनाउन लज्जा हुनुपर्ने होइन र ? ई-कान्तिपुर

प्रतिकृया दिनुहोस

बच्चालाई कति वर्षमा विद्यालय पठाउने ?

माघ २९ गते  । –‘ओहो ! तिम्रो बच्चालाई स्कुल हालिदिने बेला भएन ?’ –‘लौ, अहिलेसम्म किन स्कुल नहालेको ? बच्चालाई बिगारिसक्यौं है ।’ –‘बच्चा

द्वन्द्वकालीन अपराध बिर्सन सकिँदैन

माघ ११ गते,माधवी भट्ट। चार वर्षअघि ‘सत्यनिरूपण तथा मेलमिलाप आयोग’ र ‘बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग’ गठनबाट सुरु भएको संक्रमणकालीन

SITENAME

अंग्रेजी किन सिक्ने र कसरी ?

माघ ३ गते । ‘म्याम मलाई इङलिसमा’ ‘म्याम मलाई हिन्दीमा’ ‘म्याम मलाई नेपालीमै’ कक्षाकोठामा पस्ने बित्तिकै ‘नानीहरू पहिले कुन भाषामा कुरा