ताजा खबर

मामाङ्खे महोत्सवले जगायो विकासको आशा

RadioTaplajung


सीताराम गुरागाई। ताप्लेजुङको मामाङ्खेमा पहिलो पटक आयोजना गरिएको माघे सक्रान्ति(कक्फेक्वा तङ्नाम) महोत्सव सम्पन्न भएको छ । भौगोलिक विकटताका कारण जिल्लाकै दुर्गममा पर्ने सिरिजंघा गाउँपालिका–६ मामाङ्खेको विकासमा सरोकारवालाको ध्यानाकर्षण गराउनका लागि स्थानीय युवाको सक्रियतामा महोत्सव गरिएको हो ।  पौष २९ गते वडाध्यक्ष शुक्रराज मावोले उद्घाटन गरेको कार्यक्रम माघ २ गते सम्पन्न भयो । तीन दिनसम्म विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रम भए । दुर्गम गाउँ भएपनि कार्यक्रममा स्थानीयको उल्लेख्य उपस्थिति थियो । मामाङ्खेवासीसहित आसपासका खेवाङ, याम्फुदिन, पेदाङ, तेल्लोक, तापेथोक, इखाबु, सिनाम, आम्बेगुदिन लगायतका गाउँका खेलाडी तथा कलाकार र स्थानीयले महोत्सवमा सहभागिता जनाएको आयोजक मामाङ्खे युवा क्लवका अध्यक्ष लालबहादुर लिम्बुले बताउनुभयो । 
पहिलोपटक सांसद गाउँमा 
ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईसहित प्रदेससभा सदस्यहरु टंक आङवुहाङ, बलबहादुर साम्सोहाङ र होमकुमारी साँवा गाउँमा पुग्दा मामाङ्खेवासी हर्षित बनेका थिए । सांसद भट्टराईले पहिलोपटक सुन्दर ठाउँमा आउन पाएको भन्दै आयोजकलाई धन्यवाद दिनुभयो । उहाँले मामाङ्खेको विकासमा कुनै पनि कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘यति सुन्दर ठाउँमा आउनपाउँदा गौरवान्वित महसुस भएको छ, निमन्त्रणाका लागि आयोजकलाई धन्यवाद दिन्छु,’ माघे सक्रान्तिको दिन महोत्सवलाई सम्बोधन गर्दै भट्टराईले भन्नुभयो,‘अब मामाङ्खेको विकासले गति लिन्छ ।’ सांसदहरुलाई गाउँलेले सिँचाईको आयोजनामा सहयोग गर्न र मामाङ्खेसम्म पुग्ने सडकलाई प्राथमिकतामा राखिदिन लगायतका माग राखेका थिए । सांसद भट्टराईले २ वर्ष भित्रमा मामाङ्खेमा सडक पुग्ने दावी गर्नुभयो । तेल्लोकको फुन्द्रुवासम्म पुगेको सडकले गति लिने र यसैवर्षबाट काबेलीको तिरैतिर कञ्चनजंघा वेसक्याम्प पुग्ने काबेली करिडोरको सर्भे गर्ने उहाँको भनाई थियो । 
प्रदेससभा सदस्यहरु टंक आङवुहाङ, बलबहादुर साम्सोहाङ र होमकुकारी साँवाले पनि प्रदेश सरकारले मामाङ्खे लगायत पूर्वी क्षेत्रलाई प्रथमिकतामा राखेको बताउनुभयो । प्रदेश साँसद विकास कोषको बजेटबाट मामाङ्खे जोड्ने सडकको लागि २ करोड विनियोजन गरिएको उहाँहरुको भनाई थियो । गाउँका अरु विकासका विषयलाई वडा, गाउँपालिका हुँदै प्रदेश र संघमा पठाउँन सांसदहरुको नागरिकलाई आग्रह थियो ।
बारीमै मेला
गाउँमा खेलमैदान नभएपछि मामाङ्खेका युवाले बारीमै कार्यक्रमको आयोजना गरेका थिए । ‘मैदानको अभावमा साविक मामाङ्खे ६ को तेखादिनमा रहेको बारीमा कार्यक्रम गरेका हौं,’ क्लवकी सचिव सुनिता मावोले भन्नुभयो्,‘धुलाम्ये र साँघुरो बारीको गरामै कार्यक्रम गर्नुको विकल्पनै थिएन, मैदानले गर्दा दुःख पाइयो ।’ सुनिताका अनुसार पहिले अहिलेको भन्दा केहि तल रहेको ठूलो टारमा मेला लाग्थ्यो । अहिले उक्त ठाउमा जग्गाधनिले अलैंची रोपेपछि साँघुरो ठाउँमा कार्यक्रम गर्नु परेको हो । फुटबल पनि बारीमै खेलाइएको थियो । कार्यक्रममा पुग्नुभएका सांसद योगेश भट्टराई पनि सुरुमा फुटबल खेलाउने मैदान देख्दा अचम्ममा पर्नुभएको थियो । ‘सुरुमा त मैले यो कार्यक्रम मात्रै गर्ने ठाउँ होल, फुटबल खेलाउने मैदान अर्कै होला भनेर सोचेको थिएँ,’ कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो,‘मैदानको अभाव देख्दा दुःख लाग्यो ।’ मामाङ्खेमा सुविधासम्पन्न खेल मैदानको लागि आफूले पहल गर्ने भट्टराईले बताउनुभयो । तुरुन्त मैदानको लागि जग्गाको प्रबन्ध गर्न समेत उहाँले स्थानीयलाई आग्रह गर्नुभयो । 
खेवाङले जित्यो फुटबल
२४ टिम सहभागि पुरुष फुटबलमा खेवाङ स्पोर्टिङ क्लव खेवाङ प्रथम भयो । मानाभरा स्पोर्टिङ क्वल दोस्रो भयो । महिला फुटबलमा भने आयोजक प्रथम र प्रभुथुम्का क्लव खेवाङ दोस्रो बने । त्यस्तै नृत्यतर्फ पनि त्रिशक्ति साँस्कृतिक परिवार खेवाङ प्रथम र आयोजक द्धितिय बनेको क्लवका सचिव सुनिता मावेले जानकारी दिनुभयो । यता मामाङ्खेमा पहिलोपटक केलाङ प्रतियोगिता समेत आयोजना गरिएको छ । उक्त केलाङमा सिरिजंघा क्लव तेल्लोक प्रथत र पेदाङको याङपाङ दोस्रो भए । पुरुष फुटबल प्रतियोगिताका विजेताले नगद ५० हजार तथा उपविजेताले नगद ३० हजारसहित ३ वर्षे ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे । महिलातर्फ भने प्रथमले १० हजार र द्धितियले ५ हजार प्राप्त गरेको आयोजकले बताएका छन् । 
सहयोगदाता सम्मानित 
महोत्सव सफल पार्न सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई आयोजकले सम्मान गरेका छन् । वरिष्ठ इञ्जिनियर डिल्लिराज मावो लिम्बु, शिक्षासेवी चित्र मावो, युवा संगितकार राज रोवर्टलाई प्रसंशापत्रले सम्मान गरिएको हो । त्यस्तै सम्मानित हुनेमा फुटबलको प्रथम पुरस्कार प्रायोजन गर्नुहुने शिक्षाप्रेमी लक्ष्मी मावो, द्धितिय पुरस्कारका प्रायोजक समाजसेवी चन्द्र मावो, केलाङ प्रथम पुरस्कार प्रायोजक दुर्गाविवस मावो, केलाङ दोस्रोका प्रायोजक टिका मावोका साथै अन्य प्रायोजक तथा सहयोगि र कलाकारलाई समेत सम्मान गरिएको छ । सोहि अवसरमा प्रमुख अतिथि सांसद भट्टराईले साहित्यकार चित्र मावोद्धारा लिखित उपन्यास ‘प्रयोगशाला’ को समेत विमोचन गर्नुभएको थियो । स्थानीय युवाहरुले विभिन्न ठाउँमा रहेका दाताहरुबाट सहयोग संकलन गरेर गाउँको विकासका लागि महोत्सव तथा खेलकुद कार्यक्रमको आयोजना गरेको वरिष्ठ इञ्जिनियर तथा स्थानीय डिल्लिराज मावोले बताउनुभयो । ‘महोत्सवमा हामीले सांसदज्यूहरुलाई गाउँमा ल्याउन र यहाँको समस्याको बारेमा प्रत्यक्ष रुपमा जानकारी गराउँन सफल भएका छौं,’ इञ्जिनियर मावोले भन्नुभयो,‘उहँहरु सबैले गर्छौं भन्नुभएको छ ।’ प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई नै गाउँमा लगेर समस्या दर्शाउन पाउँदा उत्साहित भएको मावोको भनाई छ । सडककै मामाङ्खेको पहिलो आवश्यकता भएको र सडक पुगेपछि गाउँको धेरै समस्या समाधान हुने उहाँको भनाई छ । अप्ठ्यारो भूगोलका कारण मामाङ्खेमा सडक पुग्न सकेको छैन । 
 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक